
समय, उमेर र खुसी
• प्रद्युम्न जोशी
सृष्टिको नियमचक्र यस्तै रहेछ
समय सँगसँगै मानिसको
उमेर पनि हिँडिरहेेकाे हुन्छ
समयको बहावसँगै परिवर्तन हुँदो रहेछ
मानिसकाे व्यवहार पनि
यसरी नै परिवर्तन हुँदो रहेछ
शरीरकाे रूपरङ पनि
तर एउटा अकाट्य सत्य
समय स्थायी हाे अनि उमेर अस्थायी
जीवनकाे सङ्घर्ष त
कहिल्यै सिद्धिदैन
सपना र गुनासाे पनि
बढ्दै जान्छ उमेर विस्तारै विस्तारै
रहन्छ समय यथावत्
तर चलायमान आइरहन्छ
जीवनको आरोह-अवरोहहरूमा
खुसीका सानाठुला कम्पनहरू
कहिलेकाहीँ नसाेचेका परिणामहरू
ठुलाे खुसी बोकेर आउँछन्
त कहिले यस्तै मूलढोकामा
दस्तक दिएर जान्छन्
खुसीकाे कुनै परिधि हुँदैन
न यसकाे कुनै लम्बाइ छ न चाैडाइ
न छ गहिराइ न त छ यसको उचाइ
न बनेको छ यसकाे ओजन
न नाप्ने कुनै संयन्त्र अहिलेसम्म
यो त आउँछ अनि जान्छ
आफ्नै लय र गतिमा
तर एउटा अनुत्तरित प्रश्नले
हिर्काइरहन्छ पटक पटक
किन खुसी हुन सक्दैन
एकथरी मान्छे यहाँ !
सबथोक भएर पनि
फेरि देख्छु
अत्यधिक खुसी अर्कोथरी मान्छे
केही नभएर पनि यहाँ !







