काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति पनि सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।