
नबराज पोखरेल ‘नवशिला’
१.
गल्ती गर्नेलाई असल भन्ने कहिलेसम्म
आफैलाई पुर्ने खाल्डो खन्ने कहिलेसम्म
बेथिति र भ्रष्टाचारलाई अंगालोमा हाल्दै,
यसरी नै यूवाहरु दास बन्ने कहिलेसम्म ?
२.
सहि र सत्य विचार बोकी लाग्नुपर्छ यहाँ
हाम्रो अधिकार हामीले नै माग्नुपर्छ यहाँ
स्वतन्त्र भई नेता मात्र केही नि हुन्न हजुर,
सारा जनता स्वतन्त्र भई जाग्नुपर्छ यहाँ।
३.
जीवन भोगाई समेटी अतित लेख्दैछु म
पिर व्यथा र वेदनाको गीत लेख्दैछु म
कहिले ताल बने कहिले बगेँ नदी जस्तै,
यिनै बिम्ब मिश्रित शिलाजित लेख्दैछु म।
४.
तिमी मुना म चाहिँ मदन यति भए पुग्छ
दुईटा मुटु एउटै धड्कन यति भए पुग्छ
मेहनत गरि खाउँला मिली श्रम गरौँला,
हाँस्दै बोलौ मिठो वचन यति भए पुग्छ।








