
छाया
दीपक प्रसाद चाैलागाई
पीपलडांडामा घनश्याम उम्मेद्वार बनेकाे थियाे र उसकाे मुख्य प्रतिस्पर्धी थियाे- ठूलै पार्टीकाे घाघडान नेता ।बीसाैं बर्षदेखि आफ्नाे क्षेत्रमा किलाे गाडेर बसेकाे । तर उसकाे व्यवहारले जनमानसमा असन्तुष्टि बढिरहेको थियाे । अर्थात्, पटकपटकको जितकाे उन्मादले जनतालाई उसले बाल दिन छाडेकाे थियाे । यसर्थ, असन्तुष्टहरू घनश्यामकाे विरूद्धमा एकजुट भए ।
प्रचारमा आधुनिक प्रविधिकाे प्रयाेग हुनु, घनश्यामले छाेराछाेरीलाई विदेश पठाउन सक्छ भन्ने प्राेपाेगान्डा फैलिनु आदि अन्य कारणहरू थिए जसले उसलाई सशक्त उम्मेदवारकाे रूपमा स्थापित हुन मद्दत पुर्यायाे । ऊ प्रखर थियाे । खराे भाषण गर्नसक्थ्याे । छिट्टै उसकाे व्यक्तित्व चम्कियाे । अरू दलका उम्मेदवारहरू उसकाे अगाडि फिका ठहरिए ।
अन्ततः पुराना नेताहरूलाई चक्मा दिदै युवा उम्मेदवार घनश्यामले चुनाव जित्याे ।
तर दसथरि स्वार्थ बाेकेका कार्यकर्ताहरूकाे कारण उसकाे कार्यकाल विवादरहित भने बन्न सकेन । ऊमाथि अनेकाैं आराेपहरू लाग्न थाले । गाउँघरमा गाइँगुइँ हल्ला चल्न थाल्याे – घनश्यामका आसेपासेहरू आफ्नाे स्वार्थकाे लागि जे गर्न पनि तयार हुन्छन् रे ।
जति उज्यालाे बढ्दैजान्छ, छाया पनि गाढा बन्दैजान्छ- याे भनाइले पीपलडाँडामा पनि सार्थकता पायाे ।








