
आँखामा कैलास
अँजुलीमा मानस
नारायण ज्ञवालीको यो यात्रावृतान्तमा २७ थान विभिन्न शिर्षकका यात्राका वयानहरु समेटिएको छ । विशेषत यस कृतिमा अध्यात्मप्रेम र प्राकृतिक सुन्दरताको वयान छ । प्रभावकारी संप्रेषण क्षमताले भरिएका ज्ञवालीले आध्यात्मिक भावनाले प्रेरित भएर कृति लेखेको देखिन्छ । उमेरले सत्तरी कटेका उनमा त्यो यात्राको हुटहुटी प्रचुर भएको कृतिले देखाउँछ । दशदिनको यात्रामा देखेका प्राकृतिक मनोरम जादुगरी दृश्यहरु,पुरातात्विक महत्वका स्थानहरु,तिनको ऐतिहासिकता,साँस्कृतिक तथा सामरिक महत्वका पक्षहरु,स्थानीय जनजीवनका विभिन्न पाटाहरु छिमलेर समावेश गरेका छन् ।
निजात्मकताको मिठासले रसीला,घट्नाह्ररुको रोचकतापूर्ण पस्काई,अनुभूतिले भरिपूर्ण,ज्ञानवर्धक देखिएका छन् यसमा समावेश यात्रावृतान्तहरु । यसमा जुन जुन ठाउँ पुगे ज्ञवाली त्यो ठाउँको सबै कुराहरु जानकारी पाएर पाठक स्वयँ त्यहिँ पुगेकाो अनुभूति सँगाल्न सक्ने सामाथ्र्य देखिएको छ। विशेषत आध्यात्मिक चेतले यो पुस्तक अगाडि आएको छ । यात्रा साहित्यमा यो कृति महत्वपूर्ण सावित हुनसक्छ ।
आँखामा कैलास अंजुलीमा मानसलाई दायित्व वाँगमय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
धमिलो प्रकाश
राधा भण्डारीको औपन्यासिक कृति हो धमिलो प्रकाश ।
विगतको कोरोना कहरको पृष्ठभूमिका यो कृति लेखिएको छ । आम नेपाली महिलाहरुको कथा व्यथालाई औपन्यासिक रुप दिइएको छ ।
नेपाली समाजमा विद्यमान पितृसत्तात्मक सोच अनि यसले ग्रस्त पुरुषप्रधान मानसिकता पनि उपन्यासमा पोखिएको छ ।
यो उपन्यास आम नेपाली महिलाको परिवारमा स्थान,उनीह्रुले परिवारको निम्ति गरेका संघर्षका कथा,उनीहरुले पाएका व्यथा र पीडाहरुको फेहरिस्त लाग्छ ।
वालिग नै नभई विवाह बन्धनमा बाँधिएका महिलाको भोगाईको प्रतिनिधित्व गर्छ उपन्यासले । दुनियाँ कोरोना कहरले आक्रान्त बन्दा उपन्यासका दुईपात्र(नायक र नायिका) बिचका सम्बाद गरिएको छ । समय कटाउने मेलो देखाइएको छ । बुढ्यौलाको निकट पुगेका पात्रहरुबीच मायाप्रेम,बासना र अन्त्यमा धोका अनि घृणा जन्मिएको देखाइएको छ । बढी सम्बादात्मक शैली प्रयुक्त गरिएको उपन्यास छ ।
प्रस्तुत उपन्यास धमिलो प्रकाशलाई शब्दविम्ब प्रकाशनले प्रकाशित गरेको हो ।
म अझै जीवित रहेछु
सुशीला शर्मा शिलुको पहिलो कविताकृति म अझै जीवित रहेछुमा ४० थान कविताहरु समावेश छन् ।
विषयगत विविधताले भरिएका कविताहरुमा आफ्ना भोगाई,अनुभूति र मानवीय संवेदनाह्ररुको विस्तृतिकरण पाइन्छ । नारीचेतना नारी संंवेदनशिलता,प्रेमिल कविता,जीवनसाथीप्रतिका प्रेमभावपूर्ण अभिव्यक्ति,पुरुषप्रतिका सकारात्मक भावहरुले भरिएका कविताहरु पढ्न पाइन्छ ।
आफ्ना परिवेश,वर्तमान समयका विकृति र विसंगतिहरु,समाजलाई सकारात्मक भावमा डोर्याउन यत्न गरिएका कविताहरु पनि यस कृतिमा समावेश भएको पाइन्छ । कवितामा वर्तमान समयप्रति चिन्ताभाव पनि व्यक्त भएको छ ।
सरल भाषाशैली,बिम्बविधानको केही प्रयोग कवितामा देखिन्छ ।
म अझै जीवित रहेछुलाई भुँडीपुराण प्रकाशनले ल्याएको हो ।








