
मुरारीराज मिश्र
डायरीका पानाभित्र कवयित्री शशी श्री
‘ डायरीका पानाहरु ‘ नामक कवितासङ्ग्रह साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी कवयित्री शशी श्री द्वारा लिखित प्रथम कृति हो । यस कविताकृतिमा अनुप्रासयुक्त र मुक्त शैलीमा लेखिएका ५० वटा लामा छोटा कविताहरू सङ्ग्रहीत छन् ।
कृतिभित्र प्रेम, विछोड, नाता, परिवार, देश, विदेश, प्रकृति, राष्ट्रप्रेम, आशा, निरासा, समाज, लगायत जीवनजगतका विभिन्न सन्दर्भ र विषयमा लेखिएका कविताहरू समेटिएका छन् । जसमा कवयित्रीले आफ्नोतर्फबाट जीवन र जगतलाई सक्दो फरक ढङ्गले व्यक्त गर्ने प्रयास गरेको देखिन्छ ।
साहित्यमा सबैभन्दा धेरै लेखिने विधा कविता हो । मनको भावनालाई सहज र सरलरुपले ब्यक्त गर्ने माध्यम पनि हो यो । प्रायः ब्यक्तिले आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा कम्तीमा एउटा कविता लेखेकै हुन्छ भन्ने भनाइ पनि छ । विद्यालयमा पढ्दै गर्दा दखि नै साहित्यमा झुकाव राख्दै आएकी कवयित्री शशी श्री, रेडियो नेपालबाट त्यसताका प्रसारण हुने लोकप्रिय बालकार्यक्रम हातेमालोद्वारा आयोजित कविता प्रतियोगितामा प्रथमसमेत भएकी थिईन् ।
सङ्ग्रहभित्रका कविता पढ्दै गर्दा प्रेम, जीवन, प्रकृति, देश, समाजका बारेमा कवयित्रीको धारणासँग पाठक सहमत नहुनुपर्ने अवस्था देखिदैन । कविताहरू पानी बगेझै सरल शब्दमा सलल बगेका छन् । कतै पीडा, दुःख त कतै प्रकृतिप्रेम उर्लेका छन् । यी सबैले पाठकलाई गहन रुपमा सोचमग्न बनाउँछन् ।
आफ्नो गाउँघर सम्झदै कवयित्री लेख्छिन् –
“म लड्दा, न काँडाले बिझाउँथ्यो
मेरो प्यारो गाउँ त्यसैले सुन्दर स्वर्गझैँ लाग्थ्यो ।“
(पुरानो पारा)
जिन्दगीमा संघर्षको अपरिहार्यता बताउँदै कवि मन बोलेको छ–
“जिन्दगी भोगाईमा नै मज्जा छ,
संघर्षमा पिंधिनेले मात्र, यसलाइ
नजिकबाट चिन्दछ ।“
(अनमोलको सुख)
जिन्दगीसँग सम्झौता गर्नुको विकल्प नभएको बारेमा कवितामा यस्तो भनिएको छ–
“किन यस्तो हुन्छ, जिन्दगी ?
सहनै पर्ने जे जस्तो भएपनि ।
यो संसार चल्छ यसै गरी ।“
(यस्तै छ जिन्दगी)
कवयित्रीले आफ्नो भावनामा आमालाई यसरी परिभाषित गरेकी छिन् –
“यो संसारमा
सबैभन्दा बहुमूल्य उपहार र गहना,
आमाको स्पर्श पो रहेछ !“
(मेरी आमा)
विदेशिएकाहरूलाई कवयित्रीको आव्हान यस्तो छ–
“आमा धर्ती, बाबा आकाश
तिमी फर्के हुनेछ,
अन्धकार नै पुनः प्रकाश ।“
(फर्क आफ्नै स्थल)
सडक बालबालिकाको पीडालाई कवितामा यसरी पोखिएको छ –
“मिठो खाने होइन पेट भर्ने रहर,
दुःखैदुःखमा जाने होकि,
तिनको चारै प्रहर !“
(सडकको जिन्दगी)
जसरी, बिहानको रुप देखेपछि दिन कस्तो होला भन्ने अनुमान गर्न सहज हुन्छ, त्यसरी नै कविताका यी केही प्रतिनिधि अंशहरूबाट पनि कवितासङ्ग्रह कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ । वास्तवमा, अक्षर अक्षर जोरेर मनका भावनाहरूलाई कविताको स्वरुपमा ढाल्न सक्नु ठूलै खुबी हो । यस अर्थमा कवयित्रीलाई सफल नै मान्नुपर्छ ।
कवितासङ्ग्रहको भूमिका लेख्ने, राष्ट्रगानका सर्जक व्याकुल माइलाले “कविता मूलतः अनेकानेक कल्पनामा डुबेर सिर्जना गरिने विधा भएकोले यसको सैद्धान्तिक परिधिभित्र मात्र आबद्ध भएर लेखिन्न । कतिपय कुरा भोग्दै र सोच्दैजाँदा अनुभूत गरिने कुरालाई लय र तुक मिलाएर व्यक्त गर्दैजाँदा कविता बन्छन् ।“ भने झैं कवयत्री शशी श्रीले पनि कल्पना र भावनामा डुबेर कविता लेखेको देखिन्छ ।
प्रथमकृति प्रकाशनको हतारोले पनि होला कवितासङ्ग्रह पूर्णतः भाषिक त्रुटीरहित भने रहेको छैन । शुद्धतामा अलि बढी ध्यान नपुगेकै देखिन्छ । तर यति हुँदाहुँदै पनि सङ्ग्रहका कविताहरू सरल, मीठा र प्रभावशाली छन् । जीवन र समाजलाई सही रुपमा चित्रित गर्न धेरै हदसम्म सफल भएका छन् । कवितामा कल्पनाशीलता छताछुल्ल पोखिएका छन् । विषयवस्तुलाई आफ्नोपनमा ढालिएको छ । जसले गर्दा कवितामा फरक स्वाद पाउन सकिन्छ ।
अन्त्यमा, कवयित्रीको लेखनीले निरन्तरता पाईरहोस् । आगामी दिनमा समाजलाई सकारात्मक बाटो देखाउने थप सशक्त रचनाहरू सृजना हुँदै जाओस् । अर्को नयाँ र स्तरीय कृतिहरू छिट्टै नै पढ्न पाईयोस् । यीनै शुभेच्छा सहित प्रथम कविताकृतिका लागि कवि शशी श्री आचार्यलाई धेरैधेरै बधाई तथा शुभकामना ।
कृति : डायरीका पानाहरु
विधा : कविता
कृतिकार : शशी श्री
प्प्रकाशन : स्मिता आचार्य
पृष्ठ ः ५८+४
मूल्य ः रु. ६०।–








