
कविता
आशिर्वाद कसको शीरमा?
सुमित्रा बजगाईँ
धूपको कुहिरोमा
फूलका पत्र ओढेका
लमतन्न मन्दिरका सिँढीहरू
उति – उति रातिँदै गए
जति -जति उम्रिदै गए
करुणामाथि अन्धविश्वासको काई ।
जो एउटा निरीह देहको घाँटीमा
बाँधेर आफ्नै स्वादको दाम्लो
घिसारिरहन्छ
काँपिरहेको खुकुरीको धारसम्म –
जहाँ भगवानको भोक होइन ,
चम्किरहेको छ
मान्छेभित्रको हिंसा
जसले उधारो लिएको छ
भगवानको नाम ।
बलिवेदीको छेउमा
झोक्राइरहेको त्यो मौन जीव
सायद सम्झिँदै होला-
युद्धमा धकेलिएको योद्धाले
सम्झिएझैँ घर-
आफ्ना प्रियजनका
न्यानो स्पर्श र
घर फर्किने बाटो ।
पीडाको पनि
फरक-फरक जात हुन्थे भने ,
रगतको पनि
फरक – फरक धर्म हुन्थे होलान् ।
तर ,
उस्तै सुनिन्छ
मान्छे र पशुको व्यथा
उस्तै देखिन्छ
धमनीमा बगेका रङ्ग –
फरक छ त
केवल भाषा !
अरुको आयु चढाएर
आफ्नो दीर्घायुको
कामना गरिरहेका
हातहरू देख्दा,
प्रश्न गर्छ एउटा बच्चा –
‘आफ्नै सिर्जनाका
घाँटी छिनाल्दा
प्रसन्न हुन्छन् र सृष्टिकर्ता ?’
अबोध प्रश्नपछि
सोच्न बाध्य हुन्छन् भगवान पनि-
आशीर्वाद कसको शिरमा राखूँ ?
दाम्लोमा बाँधिएको पशु कि,
दाम्लो तानिरहेको पशु ?
सायद त्यो दिन ,
जब देवताका सामुन्ने
उभिन्छ एउटा मान्छे र
चढाउँछ आफ्नै हिंसाको बलि ,
तब मात्र
प्रसन्न हुनेछन् देवताहरू र
सुनाउनेछन् मन्दिरका घण्टीहरूले
साँचो उत्सवको संगीत ।

