
काठमाडौँ । बढ्दो महँगीविरुद्ध फ्रान्सभर आयोजित प्रदर्शन हिंसात्मक बनेको छ ।
प्रदर्शनका क्रममा भएका झडप, लुटपाट र आगजनीका घटनामा संलग्न रहेको आरोपमा करिब २ हजार ४०० जना पक्राउ परेका छन् ।
शनिबार भएका प्रदर्शनका क्रममा फैलिएको हिंसाले फ्रान्समा बढ्दो जीवनयापन खर्चप्रतिको जनआक्रोश र सरकारले अघि सारेको सार्वजनिक खर्च कटौतीको नीतिविरुद्धको असन्तुष्टिलाई उजागर गरेको छ । सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा यस घटनाले देशको राजनीतिक तनावसमेत बढाएको छ ।
शनिबार फ्रान्सका कैयौँ सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुनुका साथै आगजनी र लुटपाटका घटना भएका थिए । फ्रान्सको गृह मन्त्रालयका अनुसार, झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएका छन् ।
पेरिस प्रहरीले राजधानीमा मात्रै ८५५ जनालाई पक्राउ गरिएको जनाएको छ । यो राजधानीमा अहिलेसम्मकै उच्च पक्राउ संख्या भएको बताइएको छ । अभियोजन पक्षका अनुसार, पक्राउ परेकामध्ये १७१ नाबालिगसहित ५१७ जना हिरासतमा रहेका थिए । आइतबार बिहानसम्म पनि पक्राउ गर्ने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताइएको थियो ।
राजधानीमा भएका अधिकांश पक्राउ चोरीका सामान लुकाएको वा राखेको आशंका, हिंसात्मक गतिविधिका लागि संगठित समूहमा सहभागी भएको तथा तोडफोड र उपद्रव मच्चाएको आरोपसँग सम्बन्धित छन् ।
मध्य फ्रान्सको लिमोज सहरमा उपद्रवीहरूले ऐतिहासिक नगर भवनमा आगजनी गर्दा भवनको ठूलो हिस्सा जलेर नष्ट भएको छ । नगर प्रमुख गुइलेम गुरिनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली सञ्चारमाध्यम एलसीआईसँग भने, “यस घटनाको निन्दा गर्न शब्द नै छैन । यो निकै भयानक छ । देश अहिले अराजकताको स्थितिमा पुगेको छ ।”
यसैबीच, मार्से, लियोन, आभिग्नोन र ग्रेनोबल सहरमा पनि सार्वजनिक भवन तथा पसलहरूमाथि आक्रमण भएका छ ।
यता, विद्यार्थी तथा जनप्रदर्शनलाई सुरुदेखि नै समर्थन गर्दै आएका मेलेन्चोनले प्रदर्शनकारीहरूलाई लुटपाटमा संलग्न नहुन आग्रह गरे । उनले लुटपाटलाई आफ्नो राजनीतिक कार्यशैलीको विपरीत भएको बताए ।


