
लघुकथा
दशैँ
शशीश्री आचार्य
दशैँको जमरा उम्रियो, तर पहिरोले उसको घरको नामोनिसान मेटि दियो। आँगन बग्यो, आँगनसँगै पुर्खाको देउराली बग्यो, र बग्यो निधारमा टीका थाप्ने अन्तिम भरोसा। भग्नावशेष माथि उभिएर ऊ आकाशतिर हेरिरह्यो—यसपालि कुन ढोकामा टेकाएर जमरा राखूँ, कुन देउतालाई पुकारूँ ?
यता सहरका महलहरूमा झिलिमिली बत्ती बलिरहेका थिए। सुनका थाली, चाँदीका करुवा र थुप्रिएका सम्पत्तिको बीचमा बूढा आमा बाबुका काख भने मरुभूमि जस्तै रित्तिएका थिए।
सात समुद्र पारिका छोराछोरीले पर्दामा निधार देखाए, रातो टीका इमोजीमा पठाए। आमाले मोबाइलको उज्यालोमा हात जोडिन्, अनि अँध्यारो कोठामा आँसु पुछिन्।
कसैको घर बाढीले बगायो, कसैको घरबाट सन्तानलाई समयले बगायो। कतै माटोको छानो ढल्यो, कतै संस्कारको छानो। धनले दराज भरिए, तर देउरालीमा बलेको दियो निभ्योस
आधुनिकताको दौडमा पुर्खाको पाइला मेटियो।
दशैँको रात चन्द्रमा सबैका आँगन माथि उस्तै थियो—तर कतै ऊ भग्न घरको साक्षी बन्यो, कतै रित्तो काखको।


