
काठमाडौँ । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (NATHM) को पहल अन्तर्गत सञ्चालित (Meditation & Spiritual Retreat Operations)का विद्यार्थीहरूका लागि आयोजित तीनदिने ध्यान शिविर तेर्गार ओसेलिङ गोन्पामा हालै सम्पन्न भएको छ।
शिविरका क्रममा खेन्पो पेमा होसेर र खेन्पो उर्ग्येन शेराबले ध्यानसम्बन्धी शिक्षा प्रदान गर्नुका साथै ध्यान साधना सत्रहरू सञ्चालन गर्नु भएको थियो।

गोन्पाको शान्त र साधनामय वातावरणमा सहभागीहरूले तीन दिनसम्म गहन ध्यान अभ्यासमा समय बिताउँदै मनलाई स्थिर बनाउने, आफ्नै अनुभवलाई नियाल्ने र ध्यानको रूपान्तरणकारी सम्भावनालाई आत्मसात् गर्ने अवसर प्राप्त गर्नुभयो। यस पहल अन्तर्गत आगामी तीन महिनामा आयोजना गरिने तीनवटा ध्यान शिविरमध्ये यो पहिलो शिविर हो।

ध्यानको लाभ अझ धेरै मानिसहरूमाझ फैलियोस् र सबैको जीवनमा शान्ति, सजगता तथा कल्याण अभिवृद्धि गर्ने मनसायले तेर्गार ओसेलिङ गोन्पा र बुद्ध प्रकाश फाउन्डेसन बहुजन हिताय ध्यानको अभ्यासलाई समाजका सबै वर्ग र समुदायका मानिसहरूमाझ पुर्याउने उद्देश्यप्रति प्रतिबद्ध छन्।

