
कविता
दौडँदै आएको यो कस्तो दशैँ ?
डा. चेतनाथ कणेल ‘हरित’
भर्खर–भर्खर हराउन थालेको छ बादल
अलिअलि खुल्न थालेको छ आकाश
तर पनि भर छैन, विश्वास छैन
यो शारदीय शोभा साँच्चै उघ्रिएको हो,
कि फेरि पनि रसुवागढी, सेतीबेनी, रिडी र आरुघाटले
आफ्ना छातीभरि आँसु बगाउनुपर्ने हो—थाहा छैन
फेरि पनि भोटेकोशी, त्रिशूली,
कालीगण्डकी र बूढीगण्डकी
आक्रोशको उत्ताल उभार लिएर
बस्तीका सपनाहरू बगाउन सक्छन् !
हिमालमा अनवरत हिउँ पग्लिँदैछ
हिमालमै असमय हिउँ थुप्रिँदैछ
पग्लिनु र थुप्रिनुको अनियमितताभित्र
हामी संशयका ‘सुनामी’ र त्रिवेणी नापिरहेका छौँ
हामी अपत्यारिला सुस्ताका दुःखान्त कथा बुनिरहेका छौँ
के थाहा,
कुन बेला थुनिने हुन् नदीका श्वासहरू ?
के थाहा,
कुन बेला उर्लिने हुन् लेदोमय वितण्डाका उच्छ्वासहरू ?
तर पनि,
अलिकति घाम उघ्रिएको छ,
अलिकति आकाश खुलेको छ,
टाढा कतैबाट एउटा मधुर आवाज आइरहेछ—
दशैँ आयो, दशैँ आयो !
हो, आयो दशैँ !
कतै दुःख र दर्दका पहाड बोकेर
कतै खुसी र मिलनका बहार बोकेर
परार र पोहोरजस्तै
क्यालेन्डरका पानाहरू पल्टाउँदै
आउनुपर्ने दशैँ आइपुगेको छ
आमा–बाबुका आँखामा
प्रतीक्षाका दीप बलिरहेका छन्–
छोराछोरी घर फर्किने आशामा
आँगनहरू मुस्कुराइरहेका छन्–
केटाकेटीहरू स्कुल बिदा, र
पिङको उमङ्गमा रमाइरहेका छन्
व्यवसायीहरू एक महिनाको ’परिश्रम‘ले
छ महिनाको गर्जो टार्ने हिसाबमा व्यस्त छन्
तर,
सबैका आँगनमा दशैँ उत्रिएको छैन
कसैका घरमा रातो र सेतो टीका तम्तयार छ,
कसैका निधार रित्तै रित्तै हुनेछन्
कसैका हातमा जमरा हुनेछन्, तर
कसैका हातबाट–
समयले प्रियजनको स्पर्श खोसेको छ
कोही परदेशबाट फर्किने बाटो हेर्दैछन्
कोही फर्कन नसक्नेहरूको सम्झनामा भक्कानिँदैछन्
कतै भत्किएका घरका भग्नावशेषमा चाड खोजिँदैछ,
कतै एक्लोपनको अँध्यारोमा आर्तनाद पोखिँदैछ !
ए दशैँ !
तिमी यसपालि केवल पात्रोको पाना बनेर नआऊ
विपत्तिले चिरिएका मनहरूमा मल्हम बनेर आऊ
बाढीले बगाएका बस्तीमा भरोसा बनेर आऊ
विछोडिएका परिवारमा मिलनको उज्यालो बनेर आऊ
गरिबका चुल्हामा आगो, श्रमिकका हातमा सम्मान,
र हरेक नेपालीको आँखामा निर्भय भविष्य बनेर आऊ !
दौडँदै आएका छौ हतारमा तिमी
हातमै क्यालेण्डर बोकेर हल्लिँदै आएका छौ तिमी
मान्छेहरू भनिरहेछन्– यो कस्तो दशैँ ?
तिमीले स्वयम् जवाफ देऊ दशैँ,
यसपालि तिमी कसरी उत्सव बन्दैछौ ?
मानवताको महापर्व कसरी बन्दैछौ ?
हरेक आँगनमा खुसी कसरी ल्याउँदैछौ ?
हरेक मनमा शान्तिको जमरा कसरी उमार्दैछौ ?
हरेक जीवनमा आशा र
हरेक देशवासीमा आत्मीयता बनेर कसरी आउँछौ तिमी ??
छत्रकोट ४, श्रृङ्गा, गुल्मी, हालः नयाँबानेश्वर ३१, काठमाडौँ ।
