
जुनसुकै पञ्चाङ्ग पात्रो पल्टाए पनि हामी त्यसमा १२ वटा महिना मात्रै देख्न सक्छौं । त्यसमा पहिलो वैशाख हुने गर्दछ भने अन्तिम चैत्र हुने गर्छ । त्यही महिनाहरू मध्ये वैशाख नै भने पनि पहिलो पक्ष वैशाख कृष्ण र दोस्रो पक्ष वैशाख शुक्ल हुने गर्दछ र चैत्र पनि त्यस्तै गरी पहिलो पक्ष चैत्र कृष्ण पक्ष र दोस्रो चैत्र शुक्ल पक्ष नै पाउँछौं । त्यहाँ शुक्लपक्ष पूर्णिमा महिनाको अन्तिम हुने हुनाले यस्तो पञ्चाङ्गलाई पूर्णिमान्त मान्ने गरेको हो । यही पद्धति अनुसार बनेको पञ्चाङ्ग विक्रम संवत्मा देखिएको हुनाले विक्रम संवत्लाई पूर्णिमान्त वर्ष भनेर मान्ने गरेको हो । नेपालमा शाहकालीन समयमा विक्रम संवत् व्यवहार राष्ट्रिय पञ्चाङ्ग भएदेखि मात्र पूर्णिमान्तमानको पञ्चाङ्ग व्यवहार भएको भन्ने कुरा सर्बविदित नै छ ।
यता नेपालसंवत्को पञ्चाङ्ग भनी बनाइएको पात्रो वा क्यालेण्डरहरूमा कार्तिकको शुक्ल पक्षबाट शुरु गर्ने गरेकोले त्यहाँ पहिलो पक्ष कार्तिक शुक्ल पक्ष र दोस्रो पक्ष कार्तिक कृष्ण पक्ष देखा पर्ने गर्दछ । यसमा कार्तिक पहिलो महिना र आश्विन अन्तिम महिना हुने गर्दछ । एवं रीतले आश्विनमा पनि पहिलो पक्ष आश्विन शुक्ल र दोस्रो पक्ष आश्विन कृष्ण हुने गर्दछ । यसमा कृष्ण पक्षलाई अन्तिम पक्ष मानेको हुनाले यो पञ्चाङ्गलाई अमान्तमान भन्ने गरेको हो । त्यसकारण यही पद्धति अनुसार बनेको पञ्चाङ्ग नेपालसंवत्मा देखिएको हुनाले नेपाल संवत्लाई अमान्तमान वर्ष मान्ने गरेको हो । नेपालसंवत् शुरुदेखि अहिलेसम्म अमान्तमान भएर चलेर आएकाले मल्लकालमा पनि अमान्तमान र शाहकाल राणाकाल तथा वर्तमानमा अहिले पनि अमान्तमान भएरै चलेको कुरा कोट्याई रहनु पर्ने विषय होइन ।
हेक्का रहोस् नेपालसंवत्मा दिइएको जुनसुकै तिथिमितिको गणना गर्दा पूर्णिमान्तमानबाट गर्दा मिल्छ अमान्तमानबाट गर्दा मिल्दैन भन्न पाइने होइन । यदि कहीं कतै भनिएको देखिएको खण्डमा यो गलत भयो भनी भन्ने हिम्मत सबैमा हुनु जरुरी छ । नेपालसंवत् शुरुदेखि अहिलेसम्म अमान्तमान नै भएर चलेर आएको छ ,पूर्णिमान्त कहिल्यै भएको छैन भन्ने कुरामा शंका गर्नु पर्ने जरुरी छैन। अर्को कुरा नेपालसंवत्को वर्षको अन्तिम महिनाको अन्तिम पक्ष आश्विन कृष्ण पक्ष नै हो । नेपालसंवत्को वर्षको अन्तिम महिनाको अन्तिम पक्ष आश्विन कृष्ण पक्ष भएकोलाई पूर्णिमान्तमानको विक्रम संवत्ले त्यही आश्विन कृष्णलाई ,कार्तिक कृष्ण मान्दै आएको छ । यो कुरा पञ्चाङ्ग पात्रो पल्टाउने बित्तिकै जो कोहीले पनि हेरेर बुझ्न सकिने कुरो हो । यसबाटै अमान्तमान भनेको के हो र पूर्णिमान्तमान भनेको के हो ? भन्ने परिभाषा स्वतः प्रष्टै छ । पूर्णिमान्तमानले कार्तिक महिनालाई पहिलो पक्ष कृष्णपक्ष र दोस्रो पक्षलाई शुक्लपक्ष मानेको दृष्टान्त अन्यत्र गएर शास्त्र पल्टाउन जानै पर्दैन वर्तमान पञ्चाङ्ग नै ऐना बनेर हाम्रो सामु छ ।
यस्तो हुँदा हुँदैपनि कतिपय ऐतिहासिक पुस्तक, जर्नल तथा पत्रपत्रिकाहरूमा छापिएका लेखहरूमा अभिलेख तथा थ्यासफूहरूमा दिइएको तिथिमितिको गणना गर्दा वैशाखको तिथिमितिमा अमान्तमानको बार मिल्न नआउने बित्तिकै जेठको बारसंग, जेठको बार सँग मिल्न नआए आषाढको बार सँग गरी १२ वटै महिनाको बार मिल्यो भनी बिना हिच्किचाहट् भएर लेखिएको दृश्य एक दुई ठाउँमा मात्र होइन छ्याप्छ्याप्ती देख्न पाइरहेकै हो ।
त्यसमा शुक्लपक्ष चाहिँ पूर्णिमान्त र अमान्तको साझा पक्ष भएकोले वैशाखको तिथिमितिमा परेको बार शुक्ल पक्षको भए वैशाख मै खोज्ने कार्य गणितज्ञ भनाउँदाहरूले गर्दै आएको छ भने वैशाख कृष्ण पक्षको बार वैशाखमा नखोजी जेठको महिनामा खोज्ने गर्दै आएको उदाहरणहरू हामी अनगिन्ती मात्रामा औंल्याउन सक्तछौं । वास्तवमा यसको उपपत्ति ती गणितज्ञहरूले कुनै चित्त बुझ्दो हुने गरी दिन सकिरहेका छैनन् । तिथिमितिको बार पत्ता लगाउँदा के कारणले मिलेन भनी खोज्ने तिर भन्दापनि वैशाखको कृष्ण पक्षको बार पूर्णिमान्त मान अनुसार जेठ कृष्णमा भेटियो भनी अनर्थ तरिकाले देखाउँदै आइ रहेका हुनाले यस्तो कुराको समर्थन गरेर कसैलाई फाइदा हुने होइन । खासमा यस्तो खालको गणना कसलाई देखाउनको लागि गरेको होला ? दुनियाँ निर्जीव प्राणी त पक्कै होइन । तैपनि किन मूक दर्शक छन् ? यसमा कसैको फाइदा बेफाइदाको कुरा होइन , सत्य तथ्य इतिहासलाई मार्न दिनु भएन भन्ने नै हो ।
यथार्थको धरातलमा बसेर हेर्नेले अमान्तमानले आश्विन कृष्ण पक्ष भनेको पूर्णिमान्तले कार्तिक कृष्ण भनेर महिनाको पहिलो पक्ष भनेर लिइ आएको देख्छ । जस्तो लक्ष्मी पूजालाई अमान्तमानले आश्विन कृष्ण अमावाश्या(औंशी) हो भन्छ भने विक्रमसंवत्को क्यालेण्डर र पात्रोले कार्तिक कृष्ण अमावाश्या(औशी) भनीरहेको देख्दै आइरहेकै हो ।त्यसो भए पछि नेपालसंवत्को कुनै पनि तिथि मितिको गणना गर्दा कृष्ण पक्षमा परेका कुनै तिथिमितिको गणनामा पूर्णिमान्त अनुसार कार्तिक भए मंसिरमा ,मंसिर भए पौषमा , पौष भए माघकृष्ण हुन्छ भन्दै आएको कुरा जायज हो त? भन्ने प्रश्न उठ्छ । यसले इतिहासलाई सोझै मार्दै आएको देखिने भयो । त्यही कुरा तल सविस्तार औंल्याइन्छ ।
उदाहरणः
ने.सं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार मूल नक्षत्र ध्रुवयोग छ । यो तिथिमिति सुमतितन्त्र सारिसिद्ध्याएको मिति भनेर दिइएको पनि सर्बविदित नै होला । यो मिति सुमतितन्त्रको पुष्पिका वाक्यमा छ भनी लिच्छविसंवत्को निर्णयको पृष्ठ १२३ मा दिइएको पनि सर्बविदित नै हुनु पर्दछ । यदि विश्वास नलागे त्यो पृष्ठ पल्टाएर हेर्न सहजै सकिन्छ । नेपालसंवत् अमान्तमान अनुसार चल्ने संवत् भएकोले यसको गणना अमान्तमानबाटै गर्नु पर्ने हुन्छ । पूर्णिमान्तमानको चलन अनुसार पौष कृष्ण त्रयोदशी भनेको मंसिरकृष्ण त्रयोदशी हुन जाने कुरा नपत्याए पञ्चाङ्ग पल्टाए भइ हाल्छ । स्रोतमा पौष कृष्ण त्रयादशी भन्दा भन्दै पनि यो माघकृष्ण त्रयोदशी हुन्छ भनेर स्वयं महान् गणितज्ञले आफनो गणना दिइ राखेको छ । ने.सं ४९५ भनेको न शाहकालको समय हो , न नेपालसंवत् पूर्णिमान्त नै हो । स्रोतमा दिइएको आइतबार गणनाबाट देखाउन नसक्ने बित्तिकै पूर्णिमान्त अनुसार बिना झिझक पौषकृष्ण भनेको माघकृष्ण भनेर दिइएको प्रत्यक्ष छ । यस प्रकारको झूठ लाद्नु भनेको इतिहासको हत्या गर्नु हो । यो मूक दर्शक बनेर बस्ने कुरो होइन ।
स्रोतमा दिइएको नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार यस मितिलाई यसरी गणना गर्दा पौषको मिति पौष मै पर्दछ र आइतबार पनि आउँछ र माघकृष्ण हुन्छ भनेर ढाँट्नु भनेको दुनियाँलाई निर्जीव प्राणी ठान्नु हो । गणना यस प्रकार छः
नेसं ४९५ मा ८०२ जोडेपछि १२९७ लिच्छविसंवत् (लिच्छविकालमा चलेको संवत्) आउंछ । यो १२९७ भनेको शक १२९५ को कार्तिकदेखि १२९६ को आश्विनसम्म रहन्छ ।
तसर्थ, नेसं ४९५ पौष भनेको शक १२९५ पौष हुन्छ । शक १२९५ मा ७८ जोडे पछि १३७३ इश्वी हुन्छ तर पौषको कृष्ण पक्ष भनेपछि इस्वी संवत् फेरिसक्ने र नेपालसंवत् त कार्तिकबाट फेरेर हुनाले यहाँ केवल शकमात्र फेरिन बाँकी छ, त्यसो हुनाले पौष माघ र फागुन यी तीन महिनाको ध्रुवमा ७९ जोड्नु परेको हो र बाँकी अरु सबै महिनामा ७८ जोड्ने कुरा सबैलाई ज्ञात भएकै हुनुपर्दछ । शक १२९५ पौषमा ७९ जोडेपछि १३७४ इस्वी आउँछ ।
इष्ट इश्वीसन् १३७४ लाई ४ ले भाग गर्दा निःशेष भाग लागेको देखिएन अतः यो साधारण वर्ष नै देखियो । अर्को शक १२९५ को वर्षमा कुनै अधिमास पनि परेको छैन ।
तिथिगण चैत्र १, वैशाख १+जेष्ठ१ + आषाढ१+श्रावण१+भाद्र१ +आश्वीन १+कार्तिक १ +मार्ग१ +पौष कृष्ण १३(२८) =३०गुणन९+२८=२९८ अमान्तमान अनुसारको तिथिगण। २९८—१५=२८३ उपकरण ।
न्यास संख्या १


परिणामः— सुमतितन्त्र सारेको मिति नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार दिइएकोमा यहाँ आएको गणनाको परिणामले ने.सं ४९५ र शक १२९५ पौष कृष्ण त्रयोदशी भनेको इस्वीसन १३७४ जनवरी ८ तारिख आएको मात्र नभई बार पनि आदित्यवार नै आएको छ । जनवरी ८ तारिख पौषको २४ गते तिर पर्न आउंछ । तद्नुसार वि.सं चाहिँ १४३० पौष २४ गते आदित्यवार पर्न आउने हुन्छ । यहाँ पौष कृष्ण त्रयोदशीको तिथि अनुसारको आदित्यवार पनि आएको छ र माघकृष्ण त्रयोदशी भएको छैन भन्ने गणनाले प्रष्ट पार्दछ । गणना फेरि कहीं अँध्यारो कोठामा गरेर यसो आउँछ भन्नु हाम्रो कर्तव्य होइन अतः गणना खुल्ला रुपमा गरेर देखाएकै छ ।
त्यसकारण लिच्छविसंवत्को निर्णयले पृष्ठ संख्या १२३ मा सुमतितन्त्र सारेको मिति नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवारलाई पूर्णिमान्तबाट गणना गरेको भनी वि.सं १४३१ माघ ५ गते आदित्यवार भनेर संगति मिलेको दावा गरिएको छ । एक तः नेपाल संवत् ४९५ लाई पूर्णिमान्त भनेर सिद्ध गर्ने साधन कतै छैन । बरु नेपालसंवत्को पौषकृष्ण त्रयोदशीलाई पूर्णिमान्त विक्रमसंवत् अनुसार मंसिरकृष्ण त्रयोदशी हुन्छ भनेको भए पनि संभव छ भन्न सकिन्छ तर गणनाको फिहरिस्त देखाउनै पर्दछ , लुसुक्क देखाउन पाइने होइन ।
त्यस्तै लुसुक्क ल्याइएका अन्य केही उदाहरणहरूः
क. पाटन क्वाछें बालकुमारीको अभिलेखको मिति ने.सं ४३४ वैशाख कृष्ण अष्टमी…….बुधवासरे छ । यसको गणना गर्दा आएको पञ्चाङ्ग भनेर संशोधन मण्डलको पूर्णिमा अंक १ को पृष्ठ ८ मा दिइएको यस प्रकार छ ः
ने.सं ४३४ वि.सं १३७१ वैशाख कृष्ण पूर्णान्तमानले जेष्ठकृष्ण अष्टमी बुधबार जेष्ठ १३ गते जुन दिइएको छ
टिप्पणी
१. नेपालसंवत् जहिले पनि अमान्तमान नै हुन् त्यही भएर ने.सं ४३४ पूर्णिमान्त होइन ।
२. ने.सं ४३४ भनेको वास्तवमा शक १२३४ को कार्तिकदेखि शक १२३५ को आश्विनसम्म रहने हुनाले अभिलेखको मिति वैशाख भएको कारणले ने.सं ४३४ वैशाख भनेको तद्नुसार शक १२३५ वैशाख हो । शक १२३५ वैशाखकृष्ण अष्टमीको दिन बार बुधबार परेको हो ।
३. पञ्चाङ्ग पात्रो मुताविक गयो भने अमान्तमानको वैशाखकृष्ण अष्टमी भनेको पूर्णिमान्तमानले चैत्रकृष्ण अष्टमी पो हुनु पर्ने जेष्ठ कृष्ण अष्टमी भनेको कुनै पनि शास्त्र र सिद्धान्त अनुकूल नै भएन ।
४. विक्रमसंवत् पनि शकसंवत् १२३५ मा १३५ जोडेर १३७० आउनु पर्नेमा १३७१ ल्याएको पनि बेढङ्गको सिद्धान्त पकडेर मात्र आउने हो ।
५. परिणामलाई मध्यनजर गरी भन्नु पर्दा सम्पूर्ण बेकाइदाको जड नै शकसंवत्को राम्रो पहिचान नहुनु हो र वैशाखको तिथि जेष्ठ महिनाको १३ गते भेट्टाउनु भनेको दुनियाँलाई निर्जीव ठान्नु हो । किनभने वैशाख शुक्ल चाहिँ वैशाख मै पर्नु पर्ने वैशाख कृष्ण चाहिँ जेष्ठ कृष्ण पक्ष हुन जान्छ होला भनी पत्याउने सायद निर्जीव प्राणी मात्र होलान् ।
ख.संशोधन मण्डलको पूर्णिमा अंक १ को पृष्ठ ९ मा लुसियानो पेटेकले प्रकाशित गरेको नागानन्द नाटकमा ने.सं ४३८ फाल्गुण कृष्ण अमावाश्या शुक्रवार दिइएको छ र यसको गणना भनेर दिइएको पञ्चाङ्ग मा ने.सं ४३८फाल्गुण कृष्ण अमावाश्यालाई पूर्णिमान्तमान अनुसार ने.सं ४३८ (वि.सं १३७४) चैत्रकृष्ण अमावाश्या(औंशी) फागुन ८ गते पर्दछ भनेर दिइएको छ ।
टिप्पणी
१. दुनियाँ किन यसरी मूक दर्शक भई रहेको हो थाहा छैन । चैत्रकृष्ण अमावाश्या फागुनको ८ गते कसरी पर्न आउँछ ? त्यसरी आएको गणनाको फिहरिस्त किन देखाउन सकेनन् ।
२. ने.सं ४३८ फागुनको समानान्तर शक संवत् १२३८ फागुन हुने हुँदा १२३८ मा १३५ जोड्दा वि.सं १३७३ मात्र हुनु पर्ने हुन्छ । भनाईको तात्पर्य शकसंवत्को राम्रो पहिचान गरेबेगर बेढङ्गी तवरले गणना गरिए पछि अभिलेखमा दिइएको बार नआएको भन्ने तिर ख्याल राख्न नसक्नु नै मुख्य कारण हो ।
३. फागुन कृष्ण औंशीको बार खोज्न चैत्र कृष्ण औंशीको बार दावी गर्न जानु गणनाको दृष्टिले बिल्कुल आफुले आफैलाई नालायकी सिद्ध गर्नु पनि हो ।
ग. .संशोधन मण्डलको पूर्णिमा अंक १ को पृष्ठ २० मा ऐतिहासिक घटनावलीको पृष्ठ ५बाट उधृत गरिएको मिति भनी ने.सं ७९३ मार्गकृष्ण चतुर्थी बृहस्पतिवार का दिन भक्तपुरका राजा श्रीश्री जगत्प्रकाश मल्लको मृत्यु भयो भनी दिइएको छ र यसको गणना गर्दा ने.सं ७९३ वि.सं १७२९ मार्ग कृष्ण चतुर्थी बृहस्पतिवार पूर्णान्तमानले पौषकृष्ण चतुर्थीसंग ट्वाक्क मिल्छ भनी दिइएको छ ।
टिप्पणी
१. ने.सं ७९३ को वि.सं १७२९ कसरी आएको र मार्गकृष्ण चतुर्थी भनेको पूर्णान्तमानले पौषकृष्ण चतुर्थी कसरी आएको र बार उतापनि बृहस्पतिवार र यता पनि बृहस्पतिवार नै आएको गणनाको चरण ट्वाक्कै आएको भए पो ट्वाक्कै आयो भन्ने हो । यहाँ पाठकहरूले गणनाको चरण पनि हेर्न पाएको हुनु पर्यो अँध्यारो कोठामा गणना गरेर उज्यालोमा यति आयो भन्न पाइने कुरो किमार्थ होइन ।
२. हरेक तिथिमितिको गणना गर्दा सर्व प्रथम शकसंवत् पत्ता लगाउनु पर्दछ । ने.सं ७९३ मार्ग को समानान्तर शक १५९३ मार्ग हुन आउँछ । त्यसमा १३५ जोड गर्दा वि.सं १७२८ आउँछ । पूर्णान्तमान विक्रमसंवत्ले अमान्तमानको आश्विन कृष्ण औंशीलाई कार्तिककृष्ण औंशी मान्ने गरेको पञ्चाङ्ग पात्रो अगाडि राख्ना साथ अमान्तमानको मार्ग कृष्ण पनि कार्तिककृष्ण चतुर्थी हुने मात्र देखिने हो पौषकृष्णपक्षको चतुर्थी देखिने बिल्कुलै होइन । संशोधन मण्डलको यस्तो भ्रष्ट गणनालाई पनि वाह वाह भनी प्रशंसा गर्दै आउने शुभचिन्तकहरू छन् भन्दैमा गणित शुद्ध ठहरिने होइन ।
घ. संशोधन मण्डलको पूर्णिमा अंक २ को पृष्ठ १८ भक्तपुर मूलचोकको ढोकामा राजा जितामित्र मल्लले चढाएको काठको तोरणमा ने.सं ८१५ को मार्गकृष्ण नवमी शनिवारको दिन अंकित छ भनेर दिइएको छ र त्यसको गणना गर्दा ने.सं ८१५ (वि.सं १७५१ मार्गकृष्णको पूर्णान्तमानले पौषकृष्ण नवमी शनिवार पौष १ गते आएको भनी दिइएको छ ।
टिप्पणी
१. बार तिथि गते भन्ने कुरा बारम्बार दोहरी रहने गर्दछ भनाइको तात्पर्य आज जुन तिथि,बार र गते परेको हो केही वर्ष पछि त्यही दोहरिने गरेको कुरा पञ्चाङ्ग पात्रोहरूमा देखिने गर्दछ । त्यस्तै गरी कुनै समय पौषको १ गते मार्ग कृष्ण नवमी शनिबार परेको थियो भने पछि कुनै वर्ष अवश्य परेको हुन्छ । त्यस्तो उदाहरण कुनै एउटा त देखाउन सक्नु पर्दथ्यो देखाइएको छैन । मार्गकृष्ण नवमी कुन सालमा पौष १ गते परेको छ देखाउन सकेको होेइन भने अन्धाधुन्ध पत्याएर तारिफ गर्ने प्राणीहरू कस्ता होला ?
२. इतिहास भनेको अन्धभक्तहरूले लेखिने विषय होइन र पठन पाठन हुने विषय पनि होइन । संशोधन मण्डलको पूर्णिमा अंकहरूमा कोही नपत्याउने गणना पस्केको कुरा कुनै औचित्य सावित छ जस्तो बिल्कुल लागेको छैन । शुभचिन्तकहरूले पूर्णिमा अंक लगेर पूजा गरी वाचन गरिरहन्छन् वा वाचन गर्नमा मजा मान्छन् भने पनि इतिहासले त्यस्ता झूठा गणित पस्किएकोलाई किमार्थ उपयोगी मानेको छैन र मान्ने वाला पनि छैन ।
ङ. संशोधन मण्डलको पूर्णिमा अंक ३ को पृष्ठ १९ मा गोपालराज वंशावलीको २४,२५ पत्रबाट उधृत गरिएको मिति भनी ने.सं २१९ वैशाख कृष्ण पञ्चमीको दिन आइतबारको दिन राजा सिंहदेवका छोरा आनन्ददेवको जन्म भयो भनी दिइएको छ । यस मितिको गणना गर्दा पूर्णान्तमानले जेष्ठकृष्ण पञ्चमी आइतवार जेष्ठ १९ गते पर्न आयो भनेर समेत दिइएको छ ।
टिप्पणी
१. कुनै पनि गणितका शास्त्रहरू अगिल्तिर राखियो भने त्यसमा उदाहरण दिइएको हुन्छ र त्यही उदाहरण बमोजिम सोधिएका प्रश्नको उत्तर पनि पछाडि दिइएको हुन्छ । विद्यार्थीले दिइएको उदाहरण हेरेर प्रश्नमा दिइएको उत्तर ल्याउन गणनाका चरण देखाई उत्तर सिद्ध गरेर देखाइन्छ भने जस्तै ने.सं २१९ वैशाख कृष्ण पञ्चमी आइतबारको गणना गर्दा वि.सं ११५६ जेष्ठकृष्ण पञ्चमी मात्र आएको होइन बार पनि दुबैतिर आइतबार नै आएर सिद्ध भएको गणनाका चरण देखाईदैन भने त्यो गणनालाई कपट हिसाव मात्र भन्छ स्वस्थ हिसाव भन्दैन।
२ ने.सं २१९ को समानान्तर विक्रमसंवत् ल्याउन पहिले शकसंवत् पहिचान गर्नु पर्ने हुन्छ । ने.सं २१९ वैशाख भनेको शक १०२० वैशाख हुन्छ तव १०२० मा १३५ जोडेपछि वि.सं ११५५ आउँछ । गणकले बताएको वि.सं ११५६ दिइए पछि बार गणना आनकातान फरक पर्ने स्वभाविक हुन्छ । त्यतिवेला एक महिना धकेलेर वैशाखकृष्णलाई जेष्ठ कृष्ण गरी पञ्चमीको बार पनि आइतबार भनी गणना गरेर भनेको होइन अंध्यारो कोठामा बसेर गरिएको गणना मात्र हो अरु होइन भन्न सकिन्छ ।
३. वैशाखकृष्ण पञ्चमी कुनै दिन जेष्ठको १९ गते परेको थियो भने कुन कुन वर्षमा वैशाखकृष्ण पञ्चमी जेष्ठको १९ गते पर्न आएको एउटा त उदाहरण दिन सक्नु पर्दथ्यो दिन सकेको छैन भने पूर्णिमा अंकहरूमा सजिएका त्यस प्रकारका कपट पूर्ण हिसावको भरमार थुप्रोलाई विसर्जन नगराइ सुख छैन ।
च. संशोधन मण्डलको पूर्णिमा अंक ३ को पृष्ठ १९ मा गोपालराज वंशावलीको २४,२५ पत्रबाट उधृत गरिएको मिति भनी ने.सं २६७ माघकृष्ण प्रतिपदा सोमबारको दिन आनन्ददेव राजा हुनु भयो भनेर दिइएको छ र यसलाई गणना गर्दा ने.सं २६७ वि.सं १२०३ माघकृष्ण प्रतिपदा सोमबार भनेको पूर्णिमान्तमान अनुसार फाल्गुणकृष्ण प्रतिपदा र माघ १७ गते परेको दिइएको छ ।
टिप्पणी
१. नेपालसंवत् कार्तिकबाट शुरुहुने कार्तिकादि संवत् हुन् भने शकसंवत् चैत्रबाट शुरुहुने चैत्रादि संवत् हुन् त्यही भएर ने.सं २६७ भनेको शक १०६७को कार्तिकदेखि शक १०६८को आश्विनसम्म रहने गर्दछ । यहाँ ने.सं २६७ माघको समानान्तर शक १०६७ माघ हुन्छ । यही १०६७ मा १३५ जोडे पछि वि.सं १२०२ मात्र हुने हुन्छ । गणकले १२०३ गर्ना साथ बार गणना गर्दा आनकातान फरक पर्ने निश्चित भएको मात्र हो ।
२. गणकले गणना गर्दा वि.सं १२०३ आएको पनि गलत, माघकृष्णलाई पूर्णिमान्तबाट फाल्गुणकृष्ण हुने पनि गलत र बार सोमबार आएको पनि गलत हुन् गणनाले देखिएको होइन । यसको प्रमाण उनीहरूसँग छैन ।
३. अर्को सवभन्दा अनौठो नतिजा उहाँहरूको भनेको फाल्गुणकृष्ण प्रतिपदा माघको १७ गते परेको लाई लिन सकिन्छ । यसको गणना द्वारा चरणबद्ध फिहरिस्त देखाइ रहनै पर्दैन । कुनै पनि पञ्चाङ्ग पात्रोको थुप्रोबाट माघ १७ फाल्गुण कृष्ण प्रतिपदा परेको नमुना मात्र ल्याएर देखाए पनि प्रयाप्त हुन्छ । यस प्रकार संशोधन मण्डलले दिउँसै तारा देखाइ राख्ने जुन युक्ति अपनाइएको छ त्यसले खाली पत्याउने दुनियाँ बेवकूफ भन्ने मात्र सिद्ध गर्दछ ।
यस प्रकारको भूल संशोधन मण्डलको स्थापना कालदेखि अहिलेसम्म पनि निरन्तर जारी भइरहेको देखिएकोले त्यस्ता महाभूलहरू अनगिन्ती मात्रामा छन् । त्यसलाई पनि आगामी लेखहरूमा यसरी नै सविस्तार औंल्याउनै पर्ने जरुरी देखा परेको छ ।
निष्कर्ष
वास्तवमा माथि औंल्याइएका महाभूलहरू संशोधन मण्डलले आफनो स्थापनाकाल देखिनै गर्दै आएको कुरा हो अहिले केही वर्ष अघिदेखि मात्र गर्न थालेको कुरा होइन । नेपालको राष्ट्रिय पञ्चाङ्ग अगाडि राखेर हेरियो भने खुद पूर्णिमान्त पञ्चाङ्गले वैशाखकृष्ण पक्ष पहिला राखेको र वैशाख शुक्ल पक्ष पछि राखेको छ । संशोधन मण्डलले आफनो स्थापना कालको प्रारम्भदेखि नै वैशाख कृष्णलाई जेष्ठकृष्ण,जेष्ठकृष्णलाई आषाढकृष्ण भन्दै गलत धार पस्कँदै आएको छ । यसमा राष्ट्रिय पञ्चाङ्ग बनाउनेहरू पनि मूक दर्शक मात्रै बनेर त्यो मिलेन है भन्ने धृष्टता नै गर्न नसकेको देखियो । संशोधन मण्डलले पनि हामीले प्रस्तुत गरेको सिद्धान्त मुताविक पञ्चाङ्ग किन नबनाएको पनि भन्न नसक्ने र राष्ट्रिय पञ्चाङ्गको बिकल्पमा बेग्लै पञ्चाङ्ग अघि सार्न सकेको पनि होइन भन्ने प्रष्ट सँग देखिन आयो ।
अहिले पनि हाम्रो सामु संशोधन मण्डलको धार समातेर जान श्रेयस्कर छ कि वा राष्ट्रिय पञ्चाङ्गको धार समातेर जान श्रेयस्कर छ भनी जनमत लिएर हेर्ने हो भने संशोधन मण्डल ठीक भन्नेहरू कोही पनि होला जस्तो लाग्दैन । आजसम्म बेतूकसँग संशोधन मण्डलको प्रशंसा गर्दै आउने शुभचिन्तकहरू समेत यस मामलामा पाखा लाग्न बेर छैन । राष्ट्रिय इतिहास भनेको कसैको पेवा हुँदैन राष्ट्रिय इतिहास भनेको राज्यको निधि हो । राज्यमा बस्ने व्यक्ति र राज्यको निकायमा बस्ने जतिपनि व्यक्ति छन् , उनीहरूले भगवान मानेर पुजे भन्दैमा संशोधन मण्डलले गर्दै आएको सबै महाभूल क्षम्य भएको होइन । राज्यका निकायहरू अझै पनि पुरस्कारको बाढी मात्र होइन सुनामी ल्याइ दिए पनि शुरु देखि गर्दै आएको ती महाभूल छोपिंदैन सतहमा तैरेकोतैरे नै रहने हुन्छ र शुभचिन्तकहरू सबै एक ढिक्का बनेर महामानव मानेर सप्ताह नवाह जेसुकै उपाय लगाए पनि ती महाभूलहरू छोपिने किमार्थ होइनन् ।
त्यस कारण राष्ट्रिय इतिहास राज्यको अक्षुण्ण निधि हो । यसलाई जोगाउन सबै जनाले मन वचन तथा कर्मले जुट्नु आवश्यक छ । आजको युगमा संशोधन मण्डल त्यसका प्रणेतालाई महामानव गणितज्ञ भनेर मात्र पुजेर समय खेर फाल्दै बस्ने बेला होइन । अघि रचना गरिएका गलत इतिहासलाई थेगेर बस्ने , थेगाएर बस्ने समय पनि होइन र त्यसता भ्रमको खेतीको पछि लाग्ने समय पनि बिल्कुलै होइन । समय बलवान छ अमूल्य छ । अतः समयको माग बमोजिम सबैले सबैलाई सहयोगको हात अघि बढाई राष्ट्रिय इतिहास सुधारौं भन्ने नै अभीष्ट सबैको हुन जरुरी छ । नेपाल आमाले त्यस कार्यमा सत्प्रेरणा अवश्य देऊन् ।








