
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताएका छन्
राप्रपा काठमाडौं महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गरेका हुन्।
पार्टीको हालै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पंक्ति तयारीमा केन्द्रित भएको उनले जानकारी दिए।
विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बीच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको तर्क छ।
‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मंसिरमा हुने महाधिवेशन हो। यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ। देशमा महङ्गीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन। मुलुक भू–राजनीतिको गम्भीर चक्रव्युहमा फसेको छ। यस्तो अवस्थामा गरिब, सुकुम्बासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ।’ उनले भने ।
हाल भइरहेका स्थानीय तहका अधिवेशनहरूलाई महाधिवेशनको पूर्वतयारी र संगठन सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न समेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिए।


