
काठमाडौँ। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार क्याप्टेनविहीन बनेको टिप्पणी गरेका छन् ।
काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्रोहको जनादेशतिर नगएर अर्कोतिर फर्किंदा सरकार क्याप्टेनविहीन बनेको बताए ।
“सरकारकै पनि हालत हामी कस्तो देख्दै छौँ भने क्याप्टेनविहीन जस्तो देखिएको छ । सरकारको क्याप्टेन नै छैन कि क्या हो ? सरकार कसले चलाएको छ भन्ने जनतालाई अन्यौल पर्न थालेको छ,” उनले भने, “यसको केन्द्र कहाँ छ कसले चलाइरहेको छ भन्ने जस्तो गम्भीर विषय देशको स्थितिमा देखिँदै छ ।”
नेपालमा सैद्धान्तिक वैचारिक ढंगले प्रशिक्षित भएका दलहरू भत्किएको अवस्थामा राजनीति अराजकता र असन्तुष्टितिर धकेलिएको उनले बताए ।
“जनतामा असन्तुष्टि आक्रोश र एक प्रकारले रास्वपाको सरकार बनेकोप्रति गम्भीर प्रश्नहरू उठेका छन्,” उनले भने ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति मान्छेको धारणाहरू उल्टिन थालेको उनको भनाइ छ । रास्वपाकै सदस्य र समर्थकले पनि पश्चाताप व्यक्त गर्न थालेको विप्लवले दाबी गरे ।
“विद्रोहको भावमा चुनावबाट आएको सरकार जसरी चल्नुपर्थ्यो त्यो दिशामा गएन,” उनले भने, “जनताका अपेक्षाहरू फेरि पनि चकनाचुर भएको हामीले देख्ने गर्छौं ।” उनको भनाइ छ ।



