रास्वपाले विधानमै लिडरसिप एकेडेमी, उम्मेदवार क्लब, प्रारम्भिक निर्वाचनलगायतको व्यवस्था गरेको छ। सोहीबमोजिम उम्मेदवार छनोटको कार्यविधि तयार गरेको हो।
रास्वपाबाट उम्मेदवार बन्न इच्छुकले पार्टीको क्यान्डिडेट क्लबमा औपचारिक आवेदन दिनुपर्नेछ। यसका लागि कानुनी र पार्टीको विधानबमोजिमका योग्यताहरू पनि तोकिएको छ।
कार्यविधि अनुसार लिडरसिप एकेडेमीको २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीको २५, समावेशीको १० र प्रारम्भिक निर्वाचनको ४० प्रतिशत भारांक तोकिएको छ।
साथै एउटै निर्वाचन चक्रभित्र प्रतिनिधिसभाको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेकाहरू भने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
त्यस्तै स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिहरूले सोही निर्वाचन चक्रभित्र हुने प्रदेशसभा सदस्यको निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
साथै वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएका व्यक्तिहरूले सोही निर्वाचन चक्रभित्र हुने प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने कार्यविधिमा उल्लेख छ।



