
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराए ।
महानिरीक्षक कार्कीकाअनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ ।
‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ । भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ । उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ,’ उनले भने ।
बैठकमा उनले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए । यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कुटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए ।
कानुनी जटिलताका बारेमा चर्चा गर्दै महानिरीक्षक कार्कीले चोरी जस्ता मुद्दामा वाह्य क्षेत्राधिकारको अभावमा अनुसन्धानमा समस्या परेको स्पष्ट उनले पारे ।
‘हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कुटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ । सीमापार हुने केही अपराधमा नेपालको कानूनले क्षेत्र वाह्य अधिकार नदिएकाले अनुसन्धान र कारबाहीमा कठिनाइ हुने गरेको छ,’ कार्कीले भने ।
सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको छ ।
विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाई हुने ठगी र ओटीपीमार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको उनले बताए ।


