
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन्।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताए। उनले भने, ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु।’
उनले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र पुर्याएको योगदान स्तुत्य भएको बताए। राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिनु नहुने स्पष्ट पारे।
उनले भने, ‘यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्दछ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।’
उनले थापा एक इमानदार र कुशल प्रशासक भएको बताउँदै आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी र सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गरेको सुधारका कार्य प्रशंसनीय रहेकाे बताए।
साे कार्यक्रममा सीमाविद् बुद्धि नारायण श्रेष्ठलाई सम्मान गरिएकाे थियाे।



