
काठमाडौं । भारतका दिल्ली युनिभर्सिटी र जवाहरलाल नेहरू विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई जन्तर–मन्तर वा त्यस वरपर हुने विरोध प्रदर्शनमा सहभागी नहुन निर्देशन दिएका छन् । आदेश उल्लंघन गरे अनुशासनात्मक तथा कानुनी कारबाही हुन सक्ने दुई विश्वविद्यालयको चेतावनी छ ।
शुक्रबार जारी सूचनामा जवाहरलाल नेहरू विश्वविद्यालयले विद्यार्थी, शिक्षक तथा सम्पूर्ण प्राज्ञिक समुदायलाई जिम्मेवार ढंगले व्यवहार गर्न र व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्न भनेको छ ।
सूचनामा भनिएको छ, “जवाहरलाल नेहरू विश्वविद्यालयको प्राज्ञिक समुदायका सबै सरोकारवालालाई जिम्मेवार भई प्रस्तुत हुन र आफ्नो व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन सल्लाह दिइन्छ । भारतको सम्माननीय सर्वोच्च अदालतको सार्वजनिक प्रदर्शनसम्बन्धी निर्देशनानुसार नयाँ दिल्लीको जन्तर–मन्तर वा त्यस वरपर हुने कुनै पनि प्रदर्शन वा भेलामा सहभागी नहुन वा त्यहाँ नजान अनुरोध गरिन्छ ।”
विश्वविद्यालयले सामाजिक सञ्जालको प्रयोग पनि जिम्मेवारीपूर्वक गर्न आग्रह गरेको छ । नियम उल्लंघन गरे कानुनानुसार कारबाही हुनुका साथै विश्वविद्यालयको आचारसंहिताअन्तर्गत अनुशासनात्मक कारबाह ीसमेत गरिने जनाएको छ ।
विद्यार्थीले आफ्नो शैक्षिक र जिम्मेवार नागरिकको दायित्व निर्वाह गर्ने अपेक्षा गरिएको पनि सूचनामा उल्लेख छ ।
यसअघि, दिल्ली युनिभर्सिटीले पनि आफ्ना विद्यार्थीलाई जन्तर–मन्तर क्षेत्रमा जारी आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको थियो ।


