
कविता
यो महानगरमा जिउन
दियश रत्न शाक्य
गोजीमा
एकाध महिनाको
बहाल तिर्ने पैसा,
रासनको पैसा,
बाइकमा तेल भर्ने पैसा
भए पनि
टिक्न सकिँदैन है,
यो महानगरमा।
यहाँ जिउन
पानाका पाना
थपिँदै गएका नियमहरू
कण्ठस्थ गर्नुपर्छ।
नत्र तयार हुनुपर्छ
खल्ती रित्तिने गरी
जरिवाना तिर्न
वा
अर्को गणेश नेपाली बन्न।
कि,
मानवतामाथि
संवेदनशीलतामाथि
कानुनको साङ्लो कसिँदै गएको
उदासीन भएर हेर्न सक्नुपर्छ।
कि,
गर्वले मुस्कुराउन जान्नुपर्छ—
कम्तीमा
हाम्रा नियम–कानुनले
युरोपेली मापदण्ड
छुन थालेछ भन्दै।
र,
यदि यीमध्ये
कुनै पनि कुरा सकिँदैन भने,
चुपचाप
मनभरि सम्मान रोप्नुपर्छ
ती सबैका नाममा,
जसले
विसंगतिमाथि प्रश्न उठाउँदै
आफ्नै जीवन अर्पण गरे।
