
काठमाडौं। नेपाल मुक्तक प्रतिष्ठानले बेलायतबाट आउनु भएका साहित्यकार डा. रुपक श्रेष्ठको मुक्तकसंग्रह ‘पोख्तक’ र ‘चौशूल’को परिचर्चा कार्यक्रमको आयोजना गर्यो।
सोमबार राजधानीमा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए ।
डा. भरतकुमार भट्टराईले समीक्षात्मक मन्तव्य राख्दै भने, “गहन अभिव्यक्ति, प्रतीक र बिम्बकाे सुन्दर संयाेजन, अर्थ गाम्भीर्य, व्यञ्जनात्मक प्रस्तुतिले कृति वजनदार भएकाे” बताउँदै “कुनै समय मुक्तक वाचन गर्दा तर्किने चलन पनि थियाे। मैले याे देखेर मुक्तक क्षेत्र अँगालिरहें। डा. रूपक श्रेष्ठ जस्ताकाे अध्येताले मुक्तक फस्टाएकाे छ।”
समालोचक डा. कमल देवकोटाले समीक्षात्मक मन्तव्य राख्दै भने,- “पोखराको बहुक्षेत्र समेटेर पोख्तकमा मुक्तककार श्रेष्ठले उत्कृष्ट मुक्तक लेखेको ,अंग्रेजी अनुवादमा प्रकाशित कृति ‘पोख्तक’ले नेपाली साहित्यलाई विश्वसाहित्यसँग जोड्ने बलियो सेतु निर्माण गरेको” बताए।
यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तककाे विधागत उन्नयनमा श्रेष्ठकाे महत्वपूर्ण भूमिका रहेकाे बताए भने कृतिकार डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन भएको बताए। कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा समालोचक प्राडा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ मुक्तककार उषा शेरचन, प्रतिष्ठानका सल्लाहकार वियाेगी बुढाथाेकी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ राेदन, समालोचक केशव सिग्देल, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेल, नियात्राकार पवन आलाेक, मुक्तककारहरु प्रमिला गजुरेल, निशा केसी, दुर्गाकिरण तिवारी, श्रीराम राई, शितल कादम्बिनी लगायतले पाठकीय अभिमत प्रस्तुत गरेका थिए।
कार्यक्रमकाे सहजीकरण नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए।





