
काठमाडौँ। सन् २०२६ को फिफा विश्वकपको फाइनल खेल अमेरिकाको न्यूयोर्क,न्यूजर्सीको मेटलाइफ स्टेडियमा हुँदैछ ।
यस वर्षको युरोपेली विजेता स्पेन र साविक विश्वकप विजेता अर्जेन्टिना बिच आगामी साउन ५ गते सोमबार नेपाली समय अनुसार बिहान १२.४५मा उक्त खेल सुरु हुनेछ ।
यस विश्वकपमा यूरोकप विजेता स्पेन आक्रमक र बलियो रणनीतिका साथ फाइनलसम्मको यात्रा तय गरेको छ । उसले क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई पाखा लगाएर आफुलाई ट्रफीको बलियो दाबेदारको रुपमा उभ्याएको छ ।
अर्कोतिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना यस पटक अपराजित हुँदै फाइनलसम्मको यात्रा तय गरेको हो । नकआउटमा स्विट्जरल्याण्ड र सेमिफाइनलमा इङ्ल्याण्डलाई पराजित गरेको उसले पनि आफुलाई लगातार दोस्रो पटक विश्वकप ट्रफी चुम्ने लक्ष्य सहित मैदानमा प्रस्तुत हुँदैछ ।
चर्चित लियोनेल मेस्सी र लामिने यमाल बीचको पुस्तान्तरण भिडन्तको रुपमा पनि यो खेललाई हेरिएको छ ।
अर्जेन्टिना अनुभवी खेलाडीहरु भएको टीम हो । उता युवाले भरिएको स्पेन तीव्र गतिमा आक्रमक फुटबल खेलिरहेको छ ।
अर्जेन्टिनाको सवल पक्ष भनेको मेस्सीको जादुमयी लय र टोलीको दर्विलो मानसिक दृढ लय नै हो । उता स्पेनको टोलीमा मिडफिल्डको नियन्त्रण र विङ्गरहरुको तीव्र गति सकारात्मक पक्ष देखिन्छ । तर केही खेलहरुमा अर्जेन्टिनाको रक्षापक्ति कमजोर देखिएको छ भने स्पेनका युवा खेलाडीहरुको दबाब झेल्ने क्षमता कमजोर हुनसक्छ ।
जे होस यो फाइनल खेल निकै रोमाञ्चक र कडा प्रतिष्पर्धात्मक हुने निश्चित छ । अर्जेन्टिनासँग फाइनलको ठूलो दबाब झेल्ने अनुभव छ र मेस्सी जस्ता खेलाडीले जुनसुकै क्षणमा खेल परिवर्तन गर्ने सामथ्र्य राख्छन् । अर्कोतिर स्पेन आफ्नो बलियो टीमवर्क र तीव्र गतिको गेमल्पेका कारण खेललाई आफ्नो नियन्त्रणमा राख्न सक्छ ।
यदि ९० मिनेटको खेलमा स्पेनको युवा आक्रमणलाई अर्जेन्टिनाको रक्षापंक्तिले रोक्न सक्यो भने अनुभवी अर्जेन्टिनाले बाजी मार्ने सम्भावना अलि बढी देखिन्छ । हालसम्मका खेलहरुको लय हेर्दा खेल अतिरिक्त समयतिर धकेलिने सम्भावना नकार्न पनि सकिन्न ।
