
कविता
मलाई सधैँ तन्नम बनाए
भैरव ढकाल
आउनुहोस् ! आउनुहोस्!
१ को ६! १ को ६ !
खेल जारी छ ।
म झण्डी मुकुटको मालिक
तपाईं जुन दाउँमा थाप्न पनि स्वतन्त्र हुनुहुन्छ ।
आउनुहोस् आउनुहोस् !
१ को ६ ! १ को ६ !
विभिन्न महानुभावहरूले
इटा दाउमा यूरो मुद्रा थाप्नुभयो
भोटे दाउमा युआन थाप्नुभयो
पाना दाउमा भारु थाप्नुभयो
मुकुट दाउमा दिनार थाप्नुभयो
चिडी दाउमा पौण्ड थाप्नु भयो
र झन्डी दाउमा डलरको बिटो फ्याक्नु भयो ।
ढकढक ! ढकढक ! पार्दै दुबै गोटी खुबसँग हल्लाएँ
टोक्री खोलेर देखाउने पालो आयो, सबैलाई देखाएँ
डलर दाउमा पो १ को ६ भएछ ।
भुक्तानी गर्न नसक्दा गोटी टोक्री सबै गुमाएँ ।
मसँग केही रहेन
झण्डीपुर्जा सबै बुझाएँ ।
मसँग अब डाइस छैन
फेरि ढक ढक कहिले पारौँला ?
अब जसले जहाँ खेलाए पनि
म त रमिते मात्र रहुँला ।
मेरो त कर्मै उस्तो
कहिले डलरेले त कहिले भारु मार्काले सबै छिनाए ।
मेरा नेतै जुवाडे परेछन्
मलाई सधैँ तन्नम बनाए ।
