काठमाडौँ। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीलाई राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका छन्।
दलका नेता थपलियाले सरकारमा रहेका एमालेका सबै मन्त्रीलाई तत्काल राजीनामा बुझाउन निर्देशन दिएको एमाले स्रोतले जानकारी दिएको छ।
केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रदेश सरकारको सत्ता समीकरण परिवर्तन हुने सम्भावनाबिच उक्त निर्देशन दिइएको बताइएको छ। एमाले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताए।
यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। तर अन्तिम समयमा पार्टीको केन्द्रीय निर्देशन नआएकाले रोकिएका थिए। एमालेका एक नेताका अनुसार अब सरकारमा बसिरहनुको औचित्य समाप्त भएकाले नयाँ सत्ता समीकरण बनाउन मार्गप्रशस्त उद्देश्यले मन्त्रीहरूले पदत्याग गर्न लागेका हुन्।
हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ छन्।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने विषय आगामी राजनीतिक छलफलले तय गर्नेछ।

