
काठमाडौँ । पोर्चुगलले यूइृएफए नेसन्स लिगमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै नर्वेविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।
आइतबार डो ड्रागाओ रंगशालामा घरेलु टोली पोर्चुगललाई जित दिलाउन जोआओ कान्सेलो र गोन्सालो रामोसले गोल गरे । नर्वेका लागि क्रिस्टोफर अजरले गोल गरे ।
खेलको ३६औँ मिनेटमा अजरको गोलमार्फत नर्वेले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन ।
गोल व्यहोरेको दुई मिनेटपछि नै कान्सेलोले पोर्चुगललाई बराबरीमा ल्याए । ७९औँ मिनेटमा रामोसले गोल गर्दा पोर्चुगल २–१ले अगाडि बढ्यो ।
फ्रान्सिस्को कन्सेइसाओले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि ८६औँ मिनेटमा पोर्चुगल १० खेलाडीमा समेटिएको थियो ।
लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको पोर्चुगल समूह ‘डी’को शीर्ष स्थानमा छ । तेस्रो हारसँगै समान खेलबाट तीन अंकका साथ नर्वे पुछारमा छ ।
समूह ‘डी कै अर्को खेलमा डेनर्माकले वेल्सविरुद्ध १–० को कठिन जित दर्ता गर्यो ।

