
कविता
प्रिय नेता
प्रद्युम्न जोशी
पार्टी ठूलो कि व्यक्ति ठूलो भन्ने बहसले
हामी धेरै दिनदेखि आजित भयौं
देश बनाउने भाषण सुन्यौँ
राष्ट्रियताको सपना सुन्यौँ
तर अनुभव गर्न पाइएन
व्यक्तिको चरित्र फरक फरक भएपनि
झण्डा एउटै, माटो एउटै
सबैको रगतको रङ एउटै
तर देशप्रेमी नेताको संधै अभाव ।
समय आएको छ केही नयाँ गर्ने
नयाँ-पुराना सबै मिलेर
ठूला-साना सबै दलले व्यक्तिगत स्वार्थ त्यागेर
राष्ट्रको लागि समर्पित हुने समय हो यो ।
देश र जनताको पक्षमा अडिग भएर उभिने
साहसिक मसिहा चाहिएको छ
कुर्सी होइन, कर्तव्य रोज्ने
आफू र आफ्नो मात्र होइन
देशलाई रोज्ने नेतृत्व चाहिएको छ ।
खोजिरहेछिन नेपाल आमाले एक नायक
जो शब्दले होइन कर्मले बोलोस्
जो भीडमा होइन विवेकमा होस् ठुलो
जो सत्तामा होइन सत्यमा बलियो होस्
हिमालजस्तो अडिग होस् उसको संकल्प
तराईजस्तो फराकिलो मन होस्
पहाडजस्तो सहनशील धैर्य होस्
र बागमतीझैँ निरन्तर बग्ने
उसको प्रयास होस् ।
राम्रो र सुन्दर नेपाल बनाउन
नेता मात्र होइन जनता पनि जाग्नुपर्छ
देशलाई माया गर्ने हरेक नागरिकले
आफ्नो कर्तव्य बुझ्नुपर्छ ।
हामीले नै रोज्ने हो असल नेतृत्व
बन्ने होे हाम्रै मतले भोलिको भविष्य
त्यसैले स्वार्थ होइन समृद्धि रोजौँ
लोभ होइन इमान्दारी रोजौँ
राष्ट्रको लागि नेता र नागरिकबीच
विश्वासको पुल बन्न सकोस्
हरेक हृदयमा देश उचाल्ने महत्त्वाकांक्षा होस् ।
प्रिय नेता,
तपाईं हाम्रो आशा हो
हामी तपाईंको शक्ति हौं
अब हामी मिलेर बनाउ
सुन्दर, समुन्नत नेपाल ।







