
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार ३०९ नाघेको अलजजिराले जनाएको छ ।
सरकारी तथ्यांकअनुसार केवल पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले बढेको छ । एक प्रमुख जनस्वास्थ्य विज्ञले भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिएका छन् ।
सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म मृतकसहित पुष्टि भएका संक्रमितको कुल संख्या दुई हजार ९७३ पुगेको छ । यो अघिल्लो शनिबारको तथ्यांकको तुलनामा २७ प्रतिशत बढी हो ।
संक्रमण र मृत्यु दुवैको संख्या असाधारण रूपमा बढ्दै जाँदा कंगोको यो प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारीमध्ये एक बन्ने चिन्ता व्यक्त गरिएको छ ।
कंगोमा फैलिएको ‘बुन्दिबुग्यो’ प्रजातिको भाइरसले महामारीलाई थप जटिल बनाएको बताइएको छ । मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ र हालसम्म यसका लागि कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।

