
मुक्तक
मीना चौलागाईं
१.
जस्तै भोक होस्, गाँसको अड्कल त गरेकै हुन्छ घाँटीले पनि
घामपानी खप्दै बटुवाको साथ पर्खिरहेकै छ पौवापाटीले पनि
अरूलाई पीडा दिई आफूलाई खुसी मिल्छ, कसरी ठान्छ मान्छे,
बस्ती जलाउनुअघि आफैँ जल्नुपर्दछ सलाईको काँटीले पनि ।
२.
जित्नै पर्छ भन्ने छैन भन्नु आदर्शको कुरा, हार्न मान्दैन मन
प्राप्ति सबथोक होइन भन्नु मात्रै, भाका सार्न मान्दैन मन
न हिजो थियो, न भोलिको पक्का छ, थाहा भएरै पनि,
सत्य त आखिर सत्य नै हुन्छ तर स्वीकार्न मान्दैन मन ।
३.
कसैले उबाओस् दुई अँजुलीमा, आशा गरियो कुवाद्वारा
तर धमिल्याउँदै मनपरि गरियो, एउटा अबुझ बटुवाद्वारा
छिया छिया बनाई मुटु सिकार भएछ कोमल भावनाको,
आत्मसम्मानको सम्बोधन कसरी होस् एक चितुवाद्वारा ।
४.
कुनै समय मेरो अनुकूल थियो र थिए रहर सोध्नेहरू पनि
जवाफले खुसी हुँदै सामीप्यता रुचाउँथे घर सोध्नेहरू पनि
जब अफ्ट्यारो परिस्थितिको अवगत गराएँ मैले कुनै दिन,
तब एकाएक हराए, छैनन् अब हालखबर सोध्नेहरू पनि ।
५.
उत्साहमय हुन्छ बिहान सधैँ, निराश बनाउने काम भरेको हो
हामी ढुङ्गामा पनि प्राण भर्छौँ, निर्जीव बनाउने काम बगरेको हो
शब्दको खेती गरेर खुसीका थोपाले सिँचाइ गर्ने मान्छे हामी,
बिगार्ने र भत्काउने काम चाहिँ बर्खाको भेल र खहरेको हो ।
काभ्रे, पाँचखाल







