
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गतेदेखि विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका छन् ।
केन्द्रीय समिति बैठकमा शुक्रबार बोलेका आचार्यले नियमित महाधिवेशन गर्दा चुनावमा प्रभाव पर्ने चिन्ता हो भने विशेष महाधिवेशनबाट विशेष संकल्प गरेर निस्कन आग्रह गरे ।
बैठकमा आचार्यले भने -“मैले बुझेको महामन्त्रीले राखेको प्रस्ताव आधिकारिक प्रस्ताव हो । यहाँ सहमहामन्त्रीबाट अर्को महाधिवेशनको प्रस्ताव आएको छ । यदि सबैले प्रस्ताव राख्ने हो भने म पनि एउटा प्रस्ताव राख्न चाहन्छु ।”
उनले मंसिर २४ गते कांग्रेस नेतृ मंगलादेवी सिंहको जयन्ती भएको भन्दै त्यही दिनबाट पार्टीले नयाँ नीतिसहित युवापुस्तालाई आकर्षित गर्ने संकल्प गर्नुपर्ने बताए ।
“आजै निर्णय गरौँ । कसले हस्ताक्षर गर्यो, कसले गरेन भन्ने हिसाब छोडौँ, केन्द्रीय समितिको निर्णयबाट आगामी मंसिर २४ देखि विशेष महाधिवेशन गरौँ ।” उनले भने ।

