
विचार
बुद्धिष्ट सर्किटको अपरिहार्यता
राजीव श्रेष्ठ
बौद्ध जगत्मा अहिले बुद्धिष्ट सर्किट’ का बारेमा जनचासो बढेको देखिन्छ । के हो त बुद्धिष्ट सर्किट ? भन्ने बारेमा भने धेरै मान्छे अन्योलग्रस्त नै देखिन्छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केही प्रसिद्ध नेताले भारतीय पर्यटन प्रवर्द्धनको क्षेत्रमा यस बारेमा विशेष पहल गरेको देखिन्छ ।
प्राचीन समयदेखिनै बौद्धहरुका माझमा बुद्धिष्ट सर्किट परिचित रहेको देखिएतापनि यसलाई युग सापेक्षताको अवधारणा ल्याईएपछि पूरै विश्वमा यस बारेमा चर्चा शुरु भएको छ ।
वास्तवमा ‘बुद्धिष्ट सर्किट’ भन्नाले गौतम बुद्धको जीवनीसँग गाँसिएको विभिन्न महत्वपूर्ण तीर्थस्थलहरुको भ्रमण कार्यक्रम हो । प्राचीन समयमा नै बौद्ध तीर्थयात्रुहरु भारत, बर्मा, चीन, तिब्बत, नेपाल, मलेसिया, थाईल्याण्ड, भियतनाम, ताइवान आदि दक्षिण र दक्षिण-उत्तर एशियाली मुलुकमा रहेका धार्मिक स्थलहरुको भ्रमण गर्ने गर्दथे । विशेषगरी बुद्ध जीवनीका प्रमुख चार घटनाहरुः जन्म, बोधिलाभ, शिक्षा प्रदान र परिनिर्वाणका बौद्ध तीर्थस्थलहरू भारतका प्रमुख शहरहरु र नेपालको लुम्बिनीमा बुद्धको परिनिर्वाण पश्चातको समयदेखि नै विभिन्न भिक्षुहरु र बुद्धधर्ममा आस्था राख्ने अन्य श्रद्धालुहरु जस्तै मौर्य सम्राट अशोकले श्रद्धाका साथ भ्रमण गर्ने गर्दथे । बौद्ध साहित्यको महापरिनिर्वाण सूत्रमा पनि गौतम बुद्धको जीवनको अन्तिम केही महिनाहरुमा तथागतले भ्रमण गर्नुभएका यी स्थलहरुलाई विशेष महत्वका साथ वर्णन गरिएको छ ।
यसैको आधारमा अहिले आएर बौद्ध धर्मावलम्बीहरु र बौद्ध तीर्थस्थलका प्रचार-प्रसार तथा पर्यटकीय प्रवर्द्धन गर्न चाहने व्यवसायीहरुले ‘बुद्धिष्ट सर्किट’ अर्थात बौद्ध तीर्थचक्रको परिकल्पना सार्वजनिक गरेका छन् । भारतको पर्यटन मन्त्रालयले त यस सम्बन्धमा विस्तृत अध्ययन गरी आयोजना नै तर्जुमा गरिसकेको अवस्था छ भने बुद्ध जन्मभूमि नेपालमा पनि जनस्तरमै यस विषयमा व्यापक चर्चा, चासो र विवेचना भएको पाइन्छ।
सरकारी स्तरमा भारतीय प्रधानमन्त्रीको नेपाल आवगमनको समयमा उच्च स्तरीय बैठकमा नेपालका विभिन्न जिल्लामा रहेका अनेकौ बौद्ध तीर्थस्थलहरुलाई समेत गाभी विस्तृत रुपमा बौद्ध तीर्थस्थलहरुको भ्रमण चक्रलाई कार्यान्वयन गर्नुपर्ने कुराहरु उठेका छन् भने नेपालको संस्कृति तथा पर्यटन मन्त्रालयले यस विषयको अध्ययन गरिरहेको छ ।
सन् २००७ साल मार्च २८ का दिन भारतीय रेलवे सेवाले त बौद्ध तीर्थालुहरु आकर्षित गर्न एउटा महत्वाकांक्षि परियोजना नै सार्वजनिक गरी ‘महापरिनिर्वाण एक्सप्रेस’ नामक बौद्ध सर्किट रेलको विशेष सेवा सुविधा नै तोकिदिएको छ। यस रेलले तीर्थालुहरुलाई आठ दिन सात रातको यात्रामा लैजान्छ जसबाट ती यात्रुहरुले भारतका प्रमुख प्रदेश र शहरमा रहेका बुद्ध जीवनीसँग जुडेका मुख्य तीर्थस्थल जस्तै सारनाथ, कुशिनगर, बोधगया आदिका दर्शन गर्न सक्छन् । यी सबै स्थलहरु उत्तर भारतमा पर्दछन् । यस प्याकेज अन्तर्गत भ्रमण गने तीर्थालुले राजधानी एक्सप्रेसको एयर कण्डिसन सहित सुविधासम्पन्न रेलको डिब्बामा बसेर सयर गर्न पाउँछन् भने रात बिताउनुपर्ने स्थानहरुमा बस्नका लागि होटल, खानाका प्रवन्ध र रेलमा तातो खाना, चिया, नास्ता समेतको प्रवन्ध उपभोग गर्न पाउँछन ।

यस प्रकारले तथागत भगवानले आफनो शिक्षा प्रचार गर्नको निमित्त जुन कठोरताका साथ भिक्षुगण सहित पैदलै भम्रण गरी उपदेश गर्दै लोकहितका मार्ग पहिल्याउनुभो, आज ती स्थलहरुको पहिचान गरी तीर्थस्थलका रुपमा भ्रमण गर्नाका लागि ‘बुद्धिष्ट सर्किट’ को आवधारणा आउनु प्रशंसनीय नै मान्नुपर्दछ । भारतमा यस्ता भ्रमणमा जान चाहने जोकोहीका लागि पनि केही प्रसिद्ध तथा भरपर्दो ट्राभल ऐजेन्सिले यसको सुविधा उपलब्ध गराउँदै आएको छ भने नेपालका केही पर्यटन व्यवसायी पनि काठमाडौ देखि नै तीर्थस्लको भ्रमण गराउँदै लुम्बिनी र भारतका तीर्थस्थलहरुसम्म पनि लैजाने व्यवस्था संचालनमा ल्याइसकेका छन् ।
संक्षेपमा भन्नुपर्दा बुद्धधर्म र गौतम बुद्धको जीवन व्यवहारिक शिक्षाप्रति आस्थावान् जोसुकैले पनि बुद्धिष्ट सर्किट अन्तगतका बौद्ध पवित्र तीर्थस्थलहरु जस्तैः उत्तर भारतका राजस्थान र विहारमा रहेका गया, कुशीनगर, वाराणसीको मृगदावन, सारनाथ आदि एवं नेपालको बुद्ध जन्मभूमि लुम्बिनीको दर्शनका लागि यस अवधारणालाई व्यापक रुपमा प्रचारप्रसार गर्नु अति सान्दर्भिक देखिन्छ ।
यसै सन्दर्भमा, बौद्ध धर्मका ज्ञाता सरोज बज्राचार्यले बताउमु भ्रएअनुसार, नेपाल सरकारले बुद्धिस्ट सर्किट सचांलन गर्ने रुट र स्थान मात्र तोकेर पर्य्टन मन्त्रालयको वेबसाईटमा राखेको छ । तर ठोस कदम केही नलिएकोमा हालको नयाँ सरकारले आफ्नो पूर्व घोषणा अनुरुप धार्मिक पर्यटन प्रवर्द्दन गर्न यस अवधारणालाई अघि बढाउनु उपयुक्त हुनेछ ।

