
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार दुई नेताबीच प्रदेश सरकारका विषयमा छलफल भएको हो । उनका अनुसार त्यसअघि प्रचण्डले पार्टीका सहसंयोजक माधव नेपालसँग भेटेका थिए ।
“आज एमाले अध्यक्ष र हाम्रा पार्टीका संयोजकबीच भेटवार्ता भएको छ । प्रदेश सरकारका विषयमा छलफल भएको हो,” ज्वालाले भने, “हिजो पार्टीका संयोजक र सह-संयोजकबीच भेट भएको थियो ।”
ज्वालाका अनुसार संयोजक र सहसंयोजकबीच नेपाली कांग्रेस र एमालेका नेतालाई भेटेर कुरा राख्ने विषयमा छलफल भयो । सोहीअनुसार आज एमालेसँग भेटवार्ता भएको र अब प्रचण्ड मधेसबाट फर्किएपछि कांग्रेससँग भेट्ने उनले बताए ।


