
पुस्तक समीक्षा
प्रश्नहरू अनाहक थिएनन्
भावकेशर बराल
साहित्यिक यात्राका हिसाबले कवि राजीव श्रेष्ठ (२०२७) नेपाली साहित्य मार्गको पुरानै यात्री हुनुहुन्छ। यद्यपि उहाँले एउटा दोबाटोमा पुगेर केही लामो विश्राम लिन पुग्नुभएछ तथापि उहाँको चेतनाले यो यात्रा गर्ने हुटहुटीमा चाहिँ विश्राम लिन मानेकै रहेनछ। र त उहाँ पुनः यही मार्गको दौडमा निस्कनुभएको छ, रिलेदौड जो अब निरन्तर चलिरहनेछ। अविराम चलिरहोस् भन्ने नै मेरो शुभेक्षा पनि हो। वास्तवमा उहाँले जतिबेला साहित्यिक यात्रा प्रारम्भ गर्नुभयो त्यतिबेला भर्खरै मात्र नेपालमा प्रजातन्त्रको बिहानी आएको थियो। जनताले स्वतन्त्रताको दीर्घ निश्वास लिन लागेका थिए, बिस्तारै बिस्तारै भुइँमान्छेका अभिव्यक्ति खुला रूपमा मुखरित हुन थालेका थिए। हो, यसरी मुखरित हुँदै गरेका आवाजमा आवाज मिसाउन उभिएको एउटा तन्नेरी हुनुहुन्थ्यो, राजीव श्रेष्ठ। श्रेष्ठका कविता नेपाली पत्रपत्रिकामा फाट्टफुट्ट आउन थालेका थिए। यसै शृङ्खलाले आफ्नो आयाम विस्तार गर्दै गयो। उहाँ कविताइतर गद्यमा पनि कलम चलाउन लाग्नुभयो। साहित्यका अतिरिक्त संस्कृति, खेलकुद तथा स्तम्भ लेखनमा पनि उहाँको लेखनी विस्तारित हुन थाल्यो। उहाँको लेखनी जसरी अघि बढिरहेको थियो यदि यसले निरन्तरता पाएको भए अहिले नेपाली साहित्यको प्रतिनिधि सर्जकका रूपमा उहाँको नाम लिन पाइने अवस्था हुन सक्थ्यो। तथापि जीवनका अनेकानेक आरोह अवरोह छिचोल्दै उहाँ पुनः लेखन मार्गमा समर्पित हुनुभएको छ। सिर्जनामा रमाउन थाल्नुभएको छ। साहित्यलाई प्रेम गर्न थाल्नुभएको छ। यो खुसीको कुरा हो। भर्खरै उहाँले दुई कृतिपुष्प पाठकका हातमा समर्पित गर्नुभएको छ। तिनै मध्येको एक कविताकृति “अनाहक प्रश्नहरू” माथिको विमर्शमा छु।
कतै प्रश्नहरू अनाहक त छैनन् भन्ने प्रश्नले मस्तिष्कमा प्रहार गरेपछि सङ्ग्रहभित्रका कविताका अक्षरहरु केलाउन थालेँ र निष्कर्ष निकालेँ( अहँ !यी प्रश्नहरू अनाहक होइनन् हुँदै होइनन्। काव्यविम्बका माध्यमबाट कविले जे जस्ता प्रश्न उठाउनुभएको छ आफ्नो समाजलाई, ती स्वाभाविक छन्। म पनि प्रश्न सोधिरहेको छु समयसित र आफैसित। हाम्रा अनुज पुस्ताले हामीसित पनि यी र यस्तै अनगिन्ती प्रश्न सोधिरहेकै छन्। सायद यसैको परिणति हुनुपर्छ( भाद्र २३, २०८२। तर, अझै हामी जवाफविहीन भएर अवाक उभिएका छौं। यसरी उभिएका छौँ जसरी निर्जीव पहाड उभिएको छ। फेरि अर्को पुस्ता यिनै प्रश्न बोकेर उभिनेछ र फर्कनेछ हामीतिरै। फेरि पनि हामी अवाक बनेर मौन नै बस्नुपर्नेछ। आशा गर्छु यो अनुमान सत्य नहोस्।
अनाहक प्रश्नभित्र ३२ वटा काव्यविम्ब बुनिएका छन्, ३० नेपाली र २ नेपाल भाषाका। बनोटका हिसाबले यसका सबै कविता जादुमयी नलाग्न सक्छन् तर बुनोट सशक्त छ, कविता जीवन्त छन्। जीवन र जगतका बहुआयामिक पक्षलाई कविले नजिकबाट नियाल्नुभएको छ। र, कविताको सार्थक स्वरूप दिनुभएको छ। उहाँका कविताभित्रको यो सबल पक्ष हो। समयका हिसाब २०४६-०४७ सालतिर रचना गरिएका र तत्कालीन पत्रपत्रिकामा प्रकाशित भएकादेखि लिएर क्रमशः पछिल्लो समयका केही कविताहरू समेत सङ्ग्रहमा छन्। ती कवितामा केही प्रचलित विम्ब प्रयोग गरिएको छ भने केही नवविम्ब समेत प्रयुक्त छन्। भाषा सम्प्रेष्य छ। युगचेतनाका हिसाबले पनि कविता शक्तिशाली छन्। नेपाल भाषामा संरचित २ कविताको पनि नेपाली भावानुवाद भइदिएको भए नेपाली भाषी पाठकका लागि ती दुर्बोध्य हुने थिएनन्। आयामका दृष्टिबाट हेर्दा कविता लघुदेखि मध्यम प्रकृतिका छन्। कविताको कथ्य र शीर्षक बीचको शृङ्खला जोडिएको छ।
कवि स्वयम्भू होइन, परिभू पनि होइन, यही समाजको अंश हो। यही समाजले निर्माण गरिदिने हो उसको चेतना। र, यही चेतनालाई थोरै कल्पना र थोरै कलाले सिँगारेर सिर्जना गर्ने हो कविता। तसर्थ कविताको आत्म विचार हो। विचारविहीन अभिव्यक्ति अभिव्यक्ति नै हुँदैन। तर कविता विचारले मात्रै पनि बन्दैन, विचारसित घोलिएर आएका हुन्छन- विम्ब र प्रतीक। र, यसलाई थप सिँगारेको हुन्छ लय संयोजनले। अतः कविता कला पनि हो, सौन्दर्य पनि हो र जीवनको प्रतिविम्बन पनि हो। हो, जीवनको यही प्रतिविम्ब उतार गर्न चाहिँ सफल छन् “अनाहक प्रश्न”भित्रका कविताहरू।
‘मृत्यु,
तिमी र म
कयौँपटक
लड्दैरचिप्लदै
सुरेली खेल्यौ
अनि कयौंचोटि
हाँस्दैरभाग्दै लुकामारी पनि खेल्यौ ।’
संवत् २०४८ सालतिरै जीवनका विषयमा मृत्युसित उठाइएको यो प्रश्न आज पनि उत्तिकै जीवन्त छ। जीवन र मृत्युसित लुकामारी खेल्दै बाँच्नुको अस्तित्व खोजिएको छ। जन्मसितै जन्मिएका अनगिन्ती सपनाहरू पछ्याउँदा पछ्याउँदै मृत्युले जीवनमाथि नै सुटुक्क प्रहार गरिसकेको हुन्छ,अनि जीवन निरर्थक। हामी केवल बाँच्नका लागि मात्र बाँचिरहेका त छैनौंरु के हाम्रा सुकुमार सपनाहरू सपनामै बिलाउने त होइनन्रु स्वपहिचानको युद्धमा हामी युद्धपूर्व नै पराजित भइसकेका त छैनौँरु नदीसित नागबेली आ कृतिमा बगेको हाम्रो लक्ष्य सागर नपुग्दै बिलाउने त होइनरु अथवा सागरबाट वाष्पित जलकण सगर नचुम्दै बर्सने त होइनरु रातको स्निग्ध जूनमा देखापर्ने स्पष्ट दागले के सङ्केत गरिरहेको छरु कतै काँचका टुक्रा झैँ चकनाचुर बन्ने त होइनन् आस्थाहरूरु जीवनका कठिन मोडहरूमा गरिएका सम्झौताले कतै जीवनलाई नै अस्तित्वविहीन बनाइदिने त होइनरु यी केही प्रतिनिधि प्रश्नहरू मात्र हुन्। यस्ता अनेकानेक प्रश्नहरू कविताको शिल्पी विम्बमा उनिएका छन्। सबै कविताहरू सिधा प्रश्नसूचक छैनन्। तर, कविताले जुन विषयविम्ब उठाएका छन् र जसरी ती कथ्य विषय उठान भएका छन्। तिनले यस्तै बहुविध प्रश्न हाम्रो मस्तिष्कमा विजारोपित गरिदिनेछन्। तसर्थ भन्नैपर्छ- यी प्रश्नहरू अनाहक होइनन्, स्वाभाविक नै लाग्छन्। र, स्वाभाविक स्वरूपमा कवितामा प्रतिविम्बित भएका छन्। कवि राजीव श्रेष्ठलाई काव्य सङ्ग्रहका लागि हार्दिक बधाई तथा सिर्जनात्मक भविष्यको अनमोल शुभकामना ।
बरालबास, काठमाडौं




