
कविता
बिस्तारै फर्कन चाहन्छु
राजीव श्रेष्ठ
म भीडभाड , कोलाहल र अराजकताभित्र हराएको थिएँ,
मेरो अस्मिता दन्दनी जलेको थियो,
धन्न अस्तित्व चाहिं जोगिएछ !
मलाई त्यो कोलाहलको कुनै
आवश्यकता थिएन
न त त्यो अस्तव्यस्त माहौलको !
अव बिस्तारै फर्कन चाहन्छु
आफ्नै सहज पथतिर,
एउटा त्यस्तो बाटो जुन
पीडा भन्दापनि शान्तिद्वारा निर्देशित होस
म त्यो भव्य प्रदर्शनीमा
सहभागी हुन पुगेकी पनि थिंईन् !
मलाई त जनजीवनको सरल दैनिकीमा
बिस्तारै झुल्किनु थियो
आफ्नै बलबुतामा !
एउटा निश्चल श्वासमा एक कदम चालेर
हरेक दिन जिउने यौटा विकल्प समाएर
ती आतातायीहरुका क्रुर हर्कत
छाती पोल्दै गरेको
घाउसँगै लुकाएर
आफ्नो आहटलाई
आफैं निको पार्ने
उपाय खोज्दै सुस्तरी हिंडे
खरानीको थुप्रोबाट जो उठनु थियो !
न कुनै चर्को आवाजको,
न त विरोधाभाषपूर्ण
दौडधुपको जरुरी छ
म बन्नका निम्ति त
केवल आफु सच्चिने दृढ सँकल्पको
मात्र खाँचो पर्छ !
युगान्तरको गतिमा कुनै
आहुतिको आह्वान नहोस फेरी !
बलिभेदीको हुकाँरमा
कुनै सपुतले होमिनु नपरोस
फेरि खाली हामीले आफू उभिने ठाउँ
जोगाउनु पर्छ अब !!
र, जब जब परिवर्तनको
नयाँ गन्तव्य पहिल्याउनसिक्छु,
तब तब म आफनै एउटा
अंश मोडिएको पाउँछु।








