
संस्मरणात्मक अनुभूति
विजयभक्त श्रेष्ठ
सिन्धुली सिक्किम र सल्यान
यी तीनै स अक्षरबाट शुरु भएका नामका ठाउँहरुसंग मेरो आत्मीय सम्बन्ध रह्यो । अविस्मरणीय रहिरहे ती ठाउँहरु ।
मैले कखरा सिन्धुलीमा सिकेँ । कक्षा १ देखि कक्षा ६ सम्म र कक्षा ७ को १ महिना श्री गौमती मा.वि सिन्धुलीमा पढेँ । एक महिनाको पढाई सक्दा नसक्दै म उताबाट काभ्रे शारदा वतासे गा .वि. स. वडा नं. ३ जाकिडोलमा आएँ । सिन्धुलीमा साहुको छोरा भएर मोजले पढी बसेको मलाई के सनक चल्यो कुन्नी हजुरबा सङ्ग मेरो भावना मिलेन र मलाई उता बस्न मन लागेन । मलाई निकै थकथक लाग्छ, मैले हजुरबाको मन दुखाएँ । तर उतिबेला यो दिमागमा आएन् । जब बुझ्दै आएँ मलाई आत्मग्लानी भएर आउँथ्यो । म त्यसपछि निकै लामो समयको अन्तरालमा सिन्धुली गएँ । कक्षा ९ पुगेपछि जाडो छुट्टी मनाउन गएको थिएँ । कक्षा ७ मा छोडेर आएका साथीहरु सबै भेटिए । नरेश प्रधान हाल श्रीलङ्कामा आँखा अस्पताल र एकेडेमीका प्रोफेसर बाशु श्रेष्ठ हाल बाशु क्षितीजका नामले चर्चीत कार्टुनिष्ट,सुनिता खड्का, सुमित्रा कुँवर, बबिता, ललिता मेरा साथीहरु थिए ।यसैगरी कल्पना, गंगा,जानकी, लक्ष्मी,सरिता दिपेन्द्र,विरेन्द्र ,सन्देश, गोविन्द, गुणकाजी, महेश, बशन्त, प्रेम अशोक, बुद्धीमान आदि धेरै साथीहरुको नाम सम्झनामा आउन सकेन । नयाँ साथी मनकामना खरेल थिइन् काठमाण्डौकी । जागिरे बुबाको जागिरसङ्गै उनको पनि सरुवा भएको रहेछ । जेहेन्दार थिइन्,राम्री उस्तै मिलनसार थिइन् । उनको परिवार हाम्रै घर छेउ नेर डेरा लिइ बसेका थिए । त्यसैले हामी छिमेकी पनि थियौं । म करिव २०-२५ दिन उता बस्दा सधै गौमती मा.वि मा पढ्न जान्थेँ । मलाइ कुनै सङ्कोच हुदैन थियो ।किनकी साथिहरु सबै उही १ देखि ७ सम्मसङ्गै पढेकाहरु नै थिए । मास्टरहरु पनि उहि नै । मलाई निकै प्यार गर्नुहुन्थ्यो । म कक्षा २ देखिको क्लास मनिटर जो थिएँ । त्यहाँ रहँदा बस्दा पढ्दा म स्कुलको सबै कार्यक्रमहरुमा सहभागी हुन्थे । स्काउट, रेडक्रस सबैमा सामेल भएको थिएँ । ४५ सालमा भुकम्प जाँदा होस् वा खोलाबाढीले विजोग गर्दा होस् मेरो सक्रियतामा राहत सङ्कलनहरु भएका थिए । त्यसैले म चिरपरिचित थिएँ । एकातिर मेरो पढाइ राम्रो अर्कातिर म साहुको नाति थिएँ । बजारको केटो । गाउँबाट आउने साथीहरुका लागि म सास्तीको सुचक थिएँ । त्यस्तै थियो गाउँ र शहर वजारवीचको व्यापक फराकिलो अन्तरको समय जो थियो त्यो बेला । तर अहिले त्यस्तो छैन । के गाउँ के शहर सबै ठाउँ एक समान छ ।सेवा सुविधा छ । अझ गाउँका मानिसहरु जागरुक र चनाखो हुन्छन् ।
सञ्जीवनीमा कक्षा ९ मा पढ्दा जाडोको विदामा सिन्धुली गइ गौमतीमा साथीहरुसंग पुनर्मिलन हुँदा अनि साथीहरुले भावपूर्ण विदाइ कार्यक्रम गर्दाको क्षण अझै ताजै छ । मेरो विदाइमा मञ्जु कार्की जानुका र लक्ष्मीले गीतहरु गाएका थिए । सबै साथीहरुले फुलका गुच्छा र अविरले मलाइ नेता झैं बनाइ वजार परिक्रमा गराइ मेरो घरसम्म पुर्याउन आए र म बस चढ्न लाग्दा विदाइका हातहरु हल्लाउँदा भावविभोर भएको थिएं । त्यस्तै साथि राजन श्रेष्ठसंग प्रतिस्पर्धा गरि शंकर होटलमा २५ वटा जेरी हसुरेको घटना पनि एक यादगार छ । जव जेरी देख्छु, खान्छु तव राजन मेरो मानसपटलमा आउँछ । मेरा लागि धेरै पैसा खर्च गर्यो साथीले खाइपिइ र भाडाको साइकलमा ।
सिक्किम
सिक्किमको राजनीतिक पृष्ठभूमि र इतिहासको बारेमा मलाई जानकारी छैन,तर नेपाली राजनीतिमा सिक्किमिकरणको खतराका बारेमा नेपाली राजनीतिज्ञहरुको बेलाबेलामा थरिथरिका अभिव्यक्तिहरु सुन्नमा पाइन्छ । तर मलाई सिक्किमको त्यो राजनीति र इतिहाससंग खासै चाख छैन् ।
तर मैले देखेको सिक्किम निकै सुन्दर छ । त्यहाँका मानिसहरु निकै रमाइला छन् । त्यहाँ जाँदा मलाइ भारतीय गन्ध होइन नेपाली सुवास आयो । नेपाली भाषा संस्कृति, परम्परा चाडपर्वहरु, रीतिरिवाजहरुको अनुपम नमुना पाएँ । सन् १९९८ मा पहिलो पटक म सिक्किम पुगेको थिएँ । २ महिना रहँदा दशैं र तिहार पर्व पनि उतै मनाउन पाएँ । त्यसपछि दुई तीन वर्षको अन्तरालमा म गई रहें । त्यहाँको रमाइलो मलाई रम लाग्थ्यो । रम ह्विस्की अर्थात जाँडजन्य पेय पदार्थको सेवन गर्नका लागि निकै उपर्युक्त ठाउँ हो । प्राकृतिक रमणीय पर्यटकीय स्थलहरु पहाडहरु र पहाडहरुमा भए गरेका विकासका सूचकहरु हेर्न जानै पर्ने ठाउँ हो सिक्किम । यसलाई पहाडको रानी भनिदो रहेछ ।
। अधिकांश नेपाली छन् । आदिकवि भानुभक्त आचार्यका मुर्तिहरु ठाउँठाउँमा पाइन्छन् । दार्जिलिङमा त पुर्णकदको शालिक नै छ भानुको । बरु मैले नेपालमा देखेको छैन अहिलेसम्म । नेपाली गीत,संगीत र साहित्यको उर्वर भुमिको रुपमा प्रशिद्ध छ । तर मलाई सिक्किम मेरो मित्रका कारण झन् प्रिय बनेको हो । नामै मित्र हो मेरो मित्रको । नेपालको झापाबाट सानो उमेरमा उता गएका मित्र उतै रमाएका छन् । मलाई निकै साथ र समय दिएका थिए उनले । अहिले पनि वेलावेलामा फोन सम्पर्क हुन्छ हाम्रो । अनि उता मेरा फुपु,बहिनी, मामाहरु र धेरै आफन्तहरु हुनुहुन्छ । वहाँहरुलाई भेट्न पनि म उता जाने गर्छु ।
सल्यान
नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रको निकै रमाइलो पहाडी जिल्ला सल्यान । तनाव ग्रुपका तुफान बाबु र साथि सन्देश श्रेष्ठको गृह जिल्ला सल्यानको खलंगा बजारमा तत्कालिन सांसद प्रकाश ज्वालाको आ०व०५७/५८ को संसद कोषको रकममा हामीले हाम्रो महिला तथा बालबालिका उत्थानका लागि युवा समुह मार्फत कानुनी साक्षरता कार्यक्रम गरेका थियौं । ४० जना एस एल सी उतिर्ण चेलीहरु लाई ७ दिनसम्म हामीबाट कानुन सम्झाउने प्रयत्न गरियो । तुफान सन्देश अच्युत राजीव निराजन र म । निकै उत्साह थियो हामीमा । हामी निकै जान्ने जस्तै थियौं । रमाइलो वातावरणमा कार्यक्रम सम्पन्न भयो । बेलुकाको रमाइलो अर्कै थियो । घुमघाम र न्यानो पार्ने झोल अनि अट्टहास हाँसो हाम्रो दैनिकी थियो झोलमा चैं म र तुफान मात्र हो । अरु साथिहरु डराउँथे भन्नुपर्ला किनकी त्यति बेलासम्म उनीहरु पिउँदैन थिए सायद । तर अहिले डरलाई सिसीमुनी पारीसक्या होलान् । साक्षरता संगसंगै हामीले प्रतिभा प्रस्फुटनको अवसर पनि दिएका थियौं । सहभागी बहिनीहरुले साह्रै राम्रा रचनाहरु हामीमाझ पस्केका थिए । एक सहभागी दिला शाह आँशुले त एउटा चिठ्ठी पनि पठाएकी थिइन् निकै साहित्यिक पत्र साथमा कविता । म बेलाबेलामा पढ्छु अनि सल्यानमै रहेको आभास लिन्छु । त्यसैगरी सल्यान जिल्लाको बारेमा सोच्दा पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्मरण गर्नैपर्छ । उक्त जिल्लाको विकासमा वहाँको योगदान उल्लेख्य छ नै तर निरंकुश पञ्चायतका शक्तिशाली प्रधानमन्त्री हुँदाका वखत वहाँले जति गर्न सक्नुहुन्थ्यो त्यति गरेको देखिएन ।
यसरी स बाट नाम उठेका यी तीन सहर तीन ठाउँमा मेरा हितैषी स अर्थात साथीहरुले गर्दा मलाइ प्रिय लाग्छ । यी ठाउँहरुमा जान म जहिल्यै पनि लालायित हुन्छु । प्रकृतिको अनुपम छटाहरुले सुसज्जित ती स्थानहरुमा तपाई पनि एक पटक अवश्य पुग्नुस ल ।








