
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समिति बैठकले संगठन विस्तार, जनपरिचालन, पार्टी एकता, विपद् व्यवस्थापन तथा सरकारका कामकारबाहीविरुद्ध आन्दोलनको तयारीलगायत महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने ‘राष्ट्रिय जनअभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी संगठन निर्माण, सदस्यता वितरण तथा नवीकरण र जनपरिचालनलाई अभियानको मुख्य उद्देश्य बनाइएको छ।
समितिको संयोजकमा अग्नि सापकोटा तथा सदस्यमा पम्फा भुसाल र गंगा नारायण श्रेष्ठ रहेका छन्। समितिले विभिन्न कम्युनिस्ट पार्टीसँग छलफल तथा संवाद गरी एकता र सहकार्यका लागि सहमति जुटाउने जिम्मेवारी पाएको छ।
बैठकले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा पार्टीका सम्पूर्ण कमिटीसँगै युवा तथा विद्यार्थी संगठनलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय पनि गरेको छ।
यसअघि गठन गरिएको समन्वय समितिलाई थप सक्रिय बनाउँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने तथा सरकारलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बनाउन पहल गर्ने निर्णय बैठकले गरेको छ।
प्राकृतिक विपद्का कारण पार्टीको यसअघिको महाधिवेशन तथा वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन प्रभावित भएपछि महाधिवेशनको कार्यतालिका हेरफेर गरिने भएको छ।
असहज परिस्थितिका कारण पुरानो कार्यतालिकाअनुसार अघि बढ्न कठिनाइ भएको भन्दै अब बस्ने केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको नयाँ कार्यतालिका र कार्ययोजना तय गर्ने निर्णय गरेको छ।
बैठकले वर्तमान सरकारका कामकारबाही, महँगी, भ्रष्टाचार तथा सुशासनको अभावका कारण जनतामा निराशा बढेको निष्कर्ष निकालेको छ।
त्यस्तै, सुकुम्बासी, मिटरब्याज पीडितलगायत सीमान्तकृत वर्गका समस्या समाधान हुन नसकेको भन्दै राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि व्यवस्थित आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
आन्दोलनको स्वरूप, कार्यक्रम र कार्ययोजनाबारे आगामी केन्द्रीय सचिवालय बैठकले थप निर्णय गर्ने बताइएको छ।




