
कविता
सुमित्रा बजगाँई
मडारिएका प्रश्नहरू
जब निरर्थक पसिनाले
किस्तामा साटिएका सपना र
महङ्गीले थिचिएका काँधका
मेटाउन सकेन अतृप्त तिर्खा ,
तब एउटा आगोले
बनायो आफ्नै शरिरलाई
बिरोधको चुल्हो !
सरकारको हिसाबमा
घट्यो एउटा मतदाता
हरायो एकचिम्टी राजस्व
तर-
एउटा परिवारको जीवनबाट
रित्तियो सिङ्गो संसार ।
यदि आगोलाई
आफ्नु धर्म निभाउनु नै थियो भने
कुनै शरिरमा होइन
पेटको भोकमा सल्किएको भए –
सायद,
तात्नेथियो एउटा जीवन
जल्ने थिएन् ।
फैलिने थिएन त्यो डढेलो
एउटी आमाकोे काखसम्म
एउटी श्रीमतीको सिँउदोसम्म
र एउटा बच्चाको भविष्यसम्म!
ऊ खरानी हुनुमा दोषी को ?
मडारिइरहेका छन्
निरुत्तर प्रश्नहरु
तातो धुँवाझैँ-
उसको क्रुर आवेग र
राज्यको विवेकमाथि ।





