
शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सन्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका हुन्।
उनले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिए।
यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।
पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए/नभएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ।


