
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार ९असोज ६० बिहान ९ बजेबाट सुरु हुँदै छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए अनुसार, भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ ।
हरेक केन्द्रीय सदस्यले पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्ने उनले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबारको बैठकमा जानकारी गराएका नौ वटा एजेण्डामध्ये आठवटाको कारबाही आजबाट सुरु हुने भएको छ । आजबाट क्रमशः केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनय, विभागहरूको गठन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठनका एजेण्डा अघि बढाउने तयारी छ ।
यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्नेछ ।
एमाले स्रोतका अनुसार, आज केन्द्रीय सदस्यहरूको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ । पोलिटब्युरो, स्थायी कमिटीलगायत नेताहरूको जिम्मेवारी बाँडफाँड भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।



