
कविता
कविताको मानचित्र
भागीरथी ज्ञवाली
कविले कोरेको कविताको मानचित्रलाई
सृजनात्मक आँखाले अध्ययन गर्ने हो भने
शब्द संकेत र लाङ चुुड्का
र छन्दका मिहिन चरणहरू भएर मनन गर्ने हो भने
समाज परिवर्तनका अनेकौं आयामहरू
कवितामै लेखिएका हुन्छन्
कविले देखाएको एउटा सपाट सपना !
अन्यथा, होईन यो त समयको बिगुल हो
शब्द र अर्थको सीमा कोर्ने सीमारेखा हो
पाठकले देख्ने दूर क्षितिजको सोपान हो ।
साहित्यको जीवन्त आकृतिको प्रतिछायाँ हो
स्थूल यथार्थको एउटा अविराम यात्रा हो
समाज परिबर्तनको गतिशील सम्बाहक हो,
वर्गसंघर्ष सामाजिक बिद्रोह को परिचायक हो ।
त्यसैले कवितामा स्पष्ट लेखिनुपर्छ
घाम नडुब्दै क्षितिजमा देखापर्ने चमक
अनि घाम डुबे पछिको सुन्तले मीठो रङ
शीतल सन्ध्या पछिको निष्पट्ट कालो रात
सुन्दर बिहानीको मीठो कल्पना र प्रतीक्षा ।
एउटा कविले
जडतामा पनि जीवन्तता उमार्दछ
अव्यक्त अभिव्यञ्जनाहरू प्रकट गर्नसक्छ-
मुक्तिका आवाजहरू बुलन्द गर्नसक्छ-
अन्योल र द्विविधाहरूलाई सर्लक्कै पन्छाएर अघि बढ्छ
जीवन जगतको मुद्दालाई कविताको मुद्दा बनाएर उठान गर्छ
समाजको गन्तब्य पहिल्याउँछ
साहित्यको आयामको चित्रण गर्छ
सभ्यताको सौन्दर्य थपक्क उजागर गर्छ
समृद्धिको आधार मजबुत बनाउने भार थेग्छ ।








