
काठमाडौं। ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८२’द्धारा विमल भौकाजी सम्मानित भएका छन् ।
कवि,लघुकथाकार मात्र नभएर सम्पादनमा समेत योगदान गरेकाले विमल भौकाजी सम्मानित भएका हुन् ।
लघुकथा समाज,नेपालको १८औं स्थापना दिवसको अवसरमा सर्वनाममा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ,निर्मला शर्मा लगायतले उक्त सम्मान समर्पण गरे ।
नेपालमा लघुकथा लेखनीको प्रारम्भ भएको ७५ वर्ष पुगेको अबसरमा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार श्रेष्ठले मान्छेले आफ्नो आनन्द र आत्मसन्तुष्टि महशुस गर्छ भन्दै नेपाली साहित्यमा लघुकथाको लेखन र पाठक बढेको वर्तमान अबस्था आउन लघुकथा समाजको योगदान रहेको चर्चा गरिन् ।

प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्व भौकाजीको बहुआयामिक व्यक्तिको चर्चा गरे । पुरस्कार र सम्मानको श्रृंखला हेर्दा लघुकथा समाज,मानकताबाट विचलित नभएको जिकिर गरे । उनले भने -‘जसले नेपाली साहित्यमा लघुकथाको आरम्भ गर्यो उसैको नाममा राखिएको यो शिर्ष पुरस्कारको विशिष्टता आफ्नै रहेको छ ।’
लघुकथा समाजका संस्थापक श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथा लेखन र उन्नयनमा योगदान गर्ने भौकाजीलाई बधाई दिंदै नेपाली लघुकथामा लघुकथा समाजको योगदानको चर्चा गरे ।
सम्मानित स्रष्टा भौकाजीले पुरस्कारले जिम्मेवारी थपिएको महशुस भएको बताए ।
कार्यक्रममा लघुकथा समाजका पूर्व अध्यक्ष गोपाल अश्क,लघुकथा केन्द्रका उपाध्यक्ष डा.शेखर कुमार श्रेष्ठ,पूर्णप्रसाद ब्रम्हाणकी सुपुत्री निर्मला शर्मा लगायतले शुभकामना मन्तव्य राखे ।

सर्वनामसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा विमल भौकाजीको लघुकथामा सर्वनामका कलाकारहरु धिरज थापा मगर,प्रतिभा पन्थी,शान्ति डंगौरा,आकांक्षा क्षेत्री,सुधीश थापामगर,विधेयक तिलक र सुमिक्षा न्यौपाने अभिनित नाटक प्रत्यारोपण प्रस्तुत गरिएको थियो । उक्त नाटक निर्देशन एवं नाट्यरुपान्तरण राज शाहले गरेका थिए ।
समाजका महासचिव सुमन सौरभले स्वागत गरेको उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष तुलसीहरी कोइराला तथा सञ्चालन श्रीबाबु कार्कीले गरेका थिए ।
स्मरणीय छ ,यो सम्मान लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले स्थापना गरेका हुन् ।

