
काठमाडौं।बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ।
नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो।
राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ। आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ।
अमलेखगन्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १०.७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ।
परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजना आजदेखि सुरू भएको बताए।
यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने उनको भनाइ छ। निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारी लगायत व्यवस्था गरिने बताए।
