
संस्मरण
बचपन र बाहुनहरु
जुुमन किरण
यदि थरको स्रोत बाबु नभई आमा ठानिएको हुुन्थ्यो भने, मेरो नामको पछाडि राना मगर होइन, बाहुन जातिको एउटा थर जोडिने थियो । र म थेप्चै नै त होइन,तर थेप्चो थेप्चो नाकवाला बाहुन हुन्थेँ, त्यो नाममा लुकेको हुन्थ्यो आमाको अस्तित्व, जुन युगौंदेखि समाजले सुने जस्तै गरिरहेछ । तर कहिल्यै पूर्ण रुपमा चिनेको छैन ।
कागजमा लेखिएको थरले मेरो सम्पूूर्ण अस्तित्वको परिचय दिन सक्छ जस्तो लाग्छ ? अहँ मलाई त लाग्दैन ।
जन्मेदेखि नै ममीको अनुहार नै मेरो संसारको पहिलो प्रतिबिम्ब थियो । सबैभन्दा बढी देखेको, चिनेको, छोएको, महसुस गरेको ममीको अनुहारले मलाई भाषा सिकायो, स्पर्श सिकायो र माया बुझायो बोल्न नसक्ने उमेरदेखिनै ।
म नौ बर्षको थिए त्यो दिन ममी स्कुलमा आउनु भएको थियो । मलाई आज पनि याद छ मेरी एउटी साथीले भनेकी थिई तिम्रो ममी कति राम्री गोरी, अग्ली, जिउ मिलेको…. उसको त्यो वाक्यले मलाई गौरवको अनुभूति दियो । ममीको रुपको प्रसंशा सुुन्दा म फुरुङ्गै भएको थिएँ । हुुन पनि समाजले रुप मुल्याकंन गर्ने सबै मानक उहाँभित्र थिए । सोह्र बर्षे उमेरमा त झन् ममी बलिउडकी हिरोइन मधुुबाला भन्दा कम हुुनुहुन्थेन होला !
मेरो मामाघर झापा जिल्ला पर्छ, ममी बाहुनकी छोरी— त्यही भएर होला मेरो आँखा चिम्से छैन, नाक थेप्चै छैन, अनुहारको बनोटले ठ्याक्कै मगरै जस्तो देखिन्न म ।
सानो छँदा मेरो बालमनमा एउटा प्रश्नले बारम्बार घोचिरहन्थ्यो — “ममीको जस्तै लामो, सिधा नाक मेरो किन छैन ?” ऐना हेर्दा आफ्नै अनुहारसँग एउटा गहिरो तुलना गर्थेँ, ममीको अनुुहार उज्यालो, सन्तुलित त्यो बाहुन अनुुहार, मलाई त्यस्तै अनुुहार एकदम मन पथ्र्यो । रुपकै आधारमा हेर्ने हो भने, आज पनि मलाई बाहुन अनुुहार नै सुन्दर लाग्छ । तर अनुहारले मात्र त सबैथोक हुुँदैन रहेछ । त्यस अनुुहारभित्र लुुकेको व्यवहारले कहिलेकाहीँ मनको न्यानोपन चँडेर लैजान्छ, कमलो मुुटुु छियाछिया पार्छ । त्यसैले होला रुप मन परेपनि व्यवहारले पो मन फर्काइदिन्छ । यो अनुभूति रुप र व्यवहारबीचको द्वन्द्व हो जहाँ आँखाले हेर्ने सौन्दर्यलाई आत्माले प्रश्न गर्छ ।
मामाघरमा मेरी ठूलीममीकी छोरी अर्थात् हाम्री दिदी, त्यो बेलामा मामाघरमै बसेर पढ्नुु हुुन्थ्यो । पुष महिनाको कठ्याङ्ग्रिने जाडोको एकदिन आँगनभरी हुस्सु नाँचिरहेकै थियो, चिसो बतासले गालामा हानिरहेकै थियो । म र लक्ष्मी दिदी चप्रमारी बजार हिडिरहेका थियौँ,खाली खेत र हुुस्सुले ढाकिएको बाटो पार गर्दै । बाटोमा एकजना गाउँले आमैले मतिर संकेत गर्दै दिदीलाई सोध्नुभयो “यी नानी चाहि को हुुन् ?” लक्ष्मी दिदीले सहजै जवाफ दिनु भयो “सानीमाकी छोरी काठमाण्डौँबाट आ का ।”
“के थरी हुन्” अर्को प्रश्न सोध्नु भयो आमैले ।
“अधिकारी” लक्ष्मी दिदीले भन्नुभयो सिधा आत्मविश्वासका साथ ।
फेरि एकपटक मामाघरमै हुुँदा एकदिन म बाख्रा सार्न खेतको पल्ला छेऊ पुुगेँ । चिसो हिउँदे घाममुनि खेतमा एकजना बाबै काम गरिरहनु भएको थियो । सायद म नौलो देखिएँ— मेरो लुगा, हिडाइ, अनुहार… सबै केही अलग, केही अपरिचित लाग्थे होला म त्यहाँको परिवेश भन्दा अलिक भिन्न थिएँ ।
उहाँले मलाई एकछिन ध्यानले हेर्नुु भयो अनि भन्नुभयो- “यहाँतिरको मान्छे त होइन जस्तो लाग्यो नि…गाला पनि स्याऊ जस्तै रातो रातो छ । काठमाण्डौँ तिरकै जस्तो लाग्छ त ? कसका घरका पाहुना हो ?”
साँच्चै हाम्रो मगर परिवारमा जन्मिएका सबैका गाला अलिकति घाम पर्दा पनि रातो रातै हुन्छ , मेरो त झन् अहिले पनि हुन्छ बच्चा बेलामा त अझै धेरै चमकन्थ्यो ।
“धमलाको भान्जी” मैले सहजै उत्तर दिएँ ।
“अनि के थरी नानी” उहाँले फेरि सोध्नुभयो ।
“भट्टराई” मैले भने । किनभने त्यसबेला सम्म मलाई थाहा भइसकेको थियो भट्टराई पनि बाहुन थर हो, ढकाल, अधिकारी, धमला जस्तै ।
बाबैले फ्याट्टै भन्नुभयो भट्टराई चाहि होइन होला,राई चाहि होला ! उहाँको त्यो बोली सुनेर मनभित्र केही नमिलेको जस्तो लाग्यो असहज लाग्यो मेरो बाल मनलाई ।
त्यही महिनाको अर्काे दिन ममी, सानीमा र हामी बच्चाहरु ममीकी सानीमाको घर जादै थियौँ । बाटोमा एकजना अधबैँसे मान्छेसँग ममीहरु उभिएरै केहीबेर गफ गर्नुुभयो । गफकै क्रममा त्यो अर्धबैश्य मान्छेले ममीलाई सोध्यो “साँच्ची के थरीसँग बिहे गर्नुभएको नि ?” ममीले मुस्कुराउदै जवाफ दिन खोज्दै हुनुहुन्थ्यो सानीमाले हतारिदै भन्नुभयो “ढकाल ।”
सानीमाको त्यो शब्द ढकाल सामान्य नै थियो तर त्यो शब्द मेरो बाल मनभित्र कताकता बिझ्यो ।
पछि दिदी र म एक्लै भएको बेला मैले सोधेँ, “दिदी, हामीले किन यहाँ आफ्नो थर भन्नुु हुँदैन् ?”
दिदी केही सोचे जसरी बोल्नुभयो “मान्छेले नराम्रो मान्छन्, लाज हुन्छ क्या…हामी बाहुन, तँ मगर ।”
के बुझें होला मैले त्यो बेलामा ? तर मनमा अनेक प्रश्नहरु उब्जिएका थिए ।
बाहुुन र मगरको भिन्नता छुुट्याउने न त ज्ञान थियो, न त आवश्यकता, मेरो बाल आँखाले त हामीलाई एउटै आँगनमा हाँस्दै खेलेका मान्छेहरु देख्थे तर समाजका आँखाले त हामीलाई फरक फरक थरका भिन्नता कोरेका रहेछन् । त्यो दिन मैले पहिलो चोटी जातको प्रश्नसँग मूक रुपमा आँखा जुुधाएको थिएँ ।
यस्तै सात कक्षातिर पढ्दाको कुुरा हो, स्कुलमा सबैथरीका साथीहरु थिए तर संख्या बाहुन र दलित समुुदायको बढी थियो । जातले हाम्रो बालसंसारलाई छ्ट्याएको थिएन । हामी सँगै बस्ने,खाने,खेल्ने,हाँस्ने र रुने गथ्र्यौं। एकदिन खाजाब्रेकमा साथीले मेरो घर जाऊ भनिन्, उसले होमवर्कको कापी बिर्सिएकी थिई, स्कुलबाट उसको घर नजिकै छ, हामी पनि उसको पछि लागेर उसको घरतिर लाग्यौँ । म मगर अर्की साथी दलित समुदायकी र जुन साथीको घर जाँदै थियौ उनी बाहुुनी । बाहुनी साथीको घर पुुग्दा उसकी हजुरआमा आँगनमा बिस्कुन सुकाउदै हुनुहुन्थ्यो, म आँगनमा झरेँ तर मेरी अर्की साथी भने आँगनको डिलमा उभिइ । हजुरआमाले सोध्नुभयो “नानी घर काँ ? के थर ?”
आरुबोट, राना मगर मैले भने तर मेरी साथीलाई केही सोध्नुु भएन । सायद ऊ को हो उहाँहरुलाई पहिल्यै थाहा थियो होला । त्यो दिन मैले केही नयाँ कुुरा सिकेँ केही नबोलेरै बुुझिने कुराहरु पनि हुुँदा रहेछन् । जातमाथि उडेको दृष्टि कुुनै चित्रझैं मनमा बसेको छ आजसम्म पनि । जातलाई नामले होइन व्यवहारले छुट्याउदो रहेछ । अनि त्यो व्यवहारले नै मन चिरेर लाने रहेछ । शब्दहरु आवश्यक थिएनन् आँगनको डिल र आँगन एउटा विभाजनको सिमारेखा बनेको थियो । र मेरो मनमा आँगनको डिलभन्दा अग्लो सम्झनाको शिखर बनेर उभिएको छ ।
त्यसपछि पनि म बाहुुनी साथीको घर जान छाडिनँ, जब उसकी हजुुरआमा र ममी घरमै हुुन्थे म पिढी मै रोकिन्थे तर कहिलेकाही घरमा कोही नभएका बेला भने साथीले उसको कोठा मै लान्थी । कसैलाई थाहै नदिई चुुपचाप र अपुुरो चाहनाको खाका बोकी । हामी खुुरुरु दौडेर माथि जान्थ्यौँ र उस्तै हतारोको साथ ओर्लिन्थ्यौँ पनि। हामी दुुबैलाई डर थियो नै ।
त्यस्तै अर्की दाहाल थरकी साथी थिई, उसको घरमा पनि म बाम्बार गइरहन्थे । म पनि आँगनमै बस्नुु पथ्र्यो,जहाँ उसका परिवारका सदस्यहरु न्यानो घाममा रमाइरहेका हुुन्थे । कति पटक उसको घर गइयो याद त छैन तर हरेक पल्ट म केवल आँगन र पिढीसम्म मात्र सिमित रहेँ —कसैको घरजस्तै लाग्ने ठाउँ मलाई कहिल्यै प्रिय लागेन । तर उसकी हजुुरआमा मलाई मन पथ्र्यो, हजुुरआमा मलाई के… के कुुराहरु सोधिरहनुु हुुन्थ्यो, उहाँका कुुराहरु सुुन्न मलाई असाध्यै रमाइलो लाग्थ्यो ।
हामी त्यतिबेला दस कक्षामा पढ्थ्यौ, एस.एल.सीको छायाँ टाउकोमाथि बाक्लिदै थियो । महिनौँ अघिदेखि नै तयारी सुुरु भइसकेको थियो । यस्तै एस. एल. सी.को परिक्षा आउन एक महिना अगाडि, मेरी तामाङ साथी, म र उही दाहाल थरकी बाहुुनी साथी, उसकै घर मास्तिरकी एक जना दिदीकोमा गणितको ट्युुसन पढ्न जान्थ्यौ । ट्युुसन पढ्ने क्रममै एकदिन दाहाल साथीको घर पुुग्दा उसकोमा श्राद्धको तिथि परेको रहेछ । हामीलाई पनि श्राद्धको प्रसाद खान दिइयो । म र मेरी तामाङ साथीले ढोकाको छेऊमा बसेर खीर र पुुरी खाएका थियौँ । त्यही त एकचोटी हो उसको घरभित्र पसेको पनि । आज सोह्र बर्ष बितिसकेछ, केही दिन अघि मात्र उही तामाङ साथी र मैले यो सम्झना पल्टाएका थियौँ । बचपनका तस्विरहरु जुुन मनको कुुनामा बाँचिरहेका रहेछन् । केही क्षणहरु त्यस्ता हुुन्छन् जुुन समयले खायो जस्तो लागे पनि, मनले कहिल्यै भुुल्दैन ।







