
मेलमिलापकर्ताहरुको समुह पनौती नपा भन्ने मेसेञ्जर ग्रुपमा एक महिना अघिदेखि शुरुभएको पिकनिक जाने चर्चाले चैतको २३ गतेका दिन रानीकोटमा सार्थकता पायो, जव हामी रानीकोटमा भेला भयौं ।
‘जाउँ न जाउँ,कतै जाउँ कहिले जाने हो साथी हो न्यायिक समितिले नलगेपनि हामी आफु आफु मिलेर जाउँ ‘ यस्तै मेसेजहरुले ग्रुप भरिएको थियो । आफ्नै पारामा जाउँ रमाइलो गरुम भनि ग्रुपमा उमा, शिला, पवित्रा, सविना,लोकनाथ, विनोद लगायतका साथीहरुले लेख्दालेख्दै बल्ल जुर्यो २७ गतेका दिन साइत । काभ्रेपलाञ्चोक भक्तपुर र ललितपुरको सँगमस्थल रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा पिकनिक हुने भयो । यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा लोकनाथ सापकोटा सरले लिनुभयो ।
उहाँ एकदमै उत्साहित देखें मैले । व्यवस्थापनमा सुझवुझ पाएँ । उमा बहिनी प्रायःअबेरसम्म पनि साथीहरुलाई फोन र मेसेज मार्फत पिकनिक जान सुझाईरहनु भएको थियो । उत्साहित गरिरहनु भएको थियो । यिनै कुराहरुले हाम्रो कार्यक्रमले सार्थकता पाएको थियो ।
उमाबैनीले भेटमा भन्नुभाथ्यो -‘विजय सर,मलाई त पिकनिक नहोला कि भनेर नींद नै परेन् भन्या ।’ मैले भनेथें- ‘जतिजना भएपनि जाने ।’
नभन्दै चैत २७ गते हामी रानीकोट गाडी चढेर पुग्यौं । पनौती बसपार्कबाट विहान ९ तिर बजे थालनी भएको यात्रा कुशादेवी, रयाले, मानेदोभान, मुरलीखोलाहुँदै रानीकोट पुगेर रोकियो । गाडीमा पनि गाउँदै रमाउँदै थियौं हामी । केही साथी व्यवस्थापनका लागि पहिल्यै जानुभएको थियो ।
सबैको चेहरा पढें । खुशी र उत्साहको चमकले भरिएको । सबैको मन प्रफुल्लित । मौसम धमिलो भएर के भो हाम्रो मनको आकास सफा थियो । चंगाझैं हलुँगो थियो । मौसम अलिक उजाड भएपनि मनमा मित्रताको घाम मज्जैले लागेको थियो । भावनामा आत्मियताको गाँठो बलियोसँग बाँधिएको थियो । मनैदेखि उत्साहित हामी । दृष्टिभ्रम मात्र देख्नेहरुको आँखाको पर्दा नच्यातिए पनि हामीले पिकनिक उल्लासमय मनाउने तयारीमा जुट्यौं ।
मनमोहक दृश्यावलोकन गर्न सकिने रिसोर्टको भौतिक सरचना र साज सज्जा पनि आकर्षक रहेछन् । स्वीमीङ्ग पुल समेत रहेछ पौडी खेलम खेलम लाग्ने । तर के गर्नु आज सरसफाई हुँदै रहेछ ।रंगीन फुल बगैचा र हरियालीले आँखा झिमिक्क गर्न मानी रहेको थिएन । साथीहरु क्लिक क्लिक फोटो खिच्न र खिचाउनमा व्यस्त भइहाले । भिडियो र टिकटकका लागि पनि अभिनय सहित हाउभाउ गरिरहेका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको थियो । उता पिंगमा रमाउने साथीहरु पनि कम थिएनन् ।
तातो फिका चियाको चुस्कीमा पनि गाढा प्रेमभाव छचल्किरहेको थियो । एउटा कुनामा उफरले उफ्र है उफ्र भन्दै गीत पस्की रहेको थियो । हामी अव के कस्तो कार्यक्रम चलाउने त भनि छलफल गरिरह्यौँ ।
खाना तयार भएको सँकेत पाएपछि हामीले डाइनिङ्ग हलमा पुगेर स्वाद मानेर खानेकुरा मजाले खायौँ । मिठो थियो । परिकारहरु तारिफयोग्य थिए।खोट लाउने ठाउँ भेटिन् मैले । कुनै कञ्जुस्याँइ गरिएको थिएन होटलपक्षबाट पनि । सेवा पनि मनछुने खालको थियो स्टाफ कर्मचारीहरुको । सधैं हार्दिकता देखाएर मुस्कानका साथ सेवाग्राहीको सेवामा तल्लिन। हाम्रो सुविस्ताको बडो ख्याल गरिएको पाएँ ।
खानापछि शुरुभयो हामीहरुको सामुहिक नाचका चरणहरु । खुव नाचे साथीहरु । उर्जाशिल नाच प्रस्तुत भयो उर्जावान् साथीहरुबाट ।

नाचगान पश्चात् रानीकोटगढी र बाघभैरव मन्दिरको दर्शनमा लाग्यौ । गढी जान सिंढी बनाइएको रहेछ । उपत्यकाको अत्यन्त सुन्दर दृश्यावलोकन हुँदोरहेछ गढीबाट । यो रानीकोटगढी पहिले अंग्रेजसँग युद्धमा सामना गर्न बनाइएको रहेछ । कहिलेकाँही रानी पनि आएर बस्ने भएकोले होला रानीकोट नाम भएको पनि । मैले सहजै अनुमान लगाइदिए ।

‘हो नै ‘लोकनाथ सरले थप जानकारी दिनुभयो- ‘डोलेश्वर मन्दिर नजिक एउटा गाउँ छ । शिपाडोल जसलाई पहिले बैरीखेल भनिन्थ्यो ।अंग्रेजहरु त्यहाँसम्म आएका थिए रे । यहाँ वरिपरि गाईपाल्ने गोठहरु थिए रानीको निम्ति ।’
प्रदीप सरले थप्नुभयो -‘बास्तबमै हिजोको नेपालीहरुको बहादुरी र विरताको गाथा सम्मान गर्न लायक छ । गढीमा प्रयोग भएका तैलिय इटा र टुक्राहरु पनि देखिए । गढी जाने ठाउँको वरिपरी गहिरो कुलो (खाडल)रहेछ । सुरक्षाको दृष्ट्रिले त्यस्तो गरिएको हुनुपर्छ ।’
यहाँबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिने रहेछ । हिमालय श्रृँखला पनि । तर आज मौसम धुमिल थियो । त्यसैले उज्यालो देखिएन् । ऐतिहासिकस्थल सँरक्षण तथा व्यवस्थापनको पर्खाइमा रहेको चाहि प्रष्ट देखिन्थ्यो । सम्झनाकालागि सामुहिक तस्वीर खिच्यौ । फर्कदा गीत गाउँदै नाच्दै भिडियोहरु बनाइयो । बाघभैरव मन्दिरको भुगोल हाम्रै नगर रहेछ ।तर त्यो पनि उचित सँरक्षणको पर्खाइमै रहेको पायौँ । त्यहाँ पनि दर्शन गरियो । यो ठाउँ गजवलाग्दो,तीनजिल्लाको सीमाना जोडिएको ललितपूर,भक्तपूर र काभ्रेको संगम । अलिकतिमात्र बाटो अलकत्रे बाँकी रहेछ ।

केहिबेर यताउता घुमफिर गरि आएपछि शुरु हुन्छ सृजनाको लहरी । प्रदिप सरले मलाई माइक्रोफोन दिनुभइ आफ्नो प्रस्तुती दिन अनुरोध गर्नुभयो । मैले केहि गफगाफ गरेर पहिलो सौगात पस्केँ :
खल्ती छाम्छु
पैसा छैन
रीत्तै रै छ खल्ती
गरिवको कपडामा
खल्ती राख्नु गल्ती ।
चल्ती हुन खल्ती दह्रो
नत्र पर्छ साह्रो
तीर्न पनि दुधको भारो
पर्दो रै छ गाह्रो
खल्ती सँधै खुल्ला खाली
के पट्टीन्थिन् काली
खल्ती च्याती दिन्छु फाली
बजे बजोस् ताली
साथीहरुले हाँस्दै ताली बजाउनुभयो गडगडाहट तवरमा । त्यस्पछि प्रदिपसरले समसामयिक राजनीतिक र प्रेमका विषयमा रचित मुक्तकहरु केही थान पस्कनुभयो :
१. रुँदैछ देश सिंहदरबार हाँसेर पो हुन्छ के
बढ्दैछ गरिबी व्यवस्था मासेर पो हुन्छ के
धनी झन धनी ,गरिव त पाताल भासिसके
तिमी आफ्नो जीतमा नाचेर पो हुन्छ के !
२. तिमीलाई दिंदा रित्तो पारें के भयो र सानु
आफ्नै सम्झेर समस्या टारें के भयो र सानु
यो प्रेमको युद्धमा के के हुन्छ थाहा हुँदैन्
तिमीले जित्यौ मैले हारें के भयो र सानु !
प्रदिप सरको रचना अरु पनि सुनाउनु भएको थियो ।
मलाइ अर्को प्रस्तुतिका लागि तयार रहन भन्दै प्रदिपसरले लोकनाथसरलाई प्रस्तुतिका लागि अनुरोध गर्नुभयो । अनि लोकनाथ सरबाट जोडदार व्यङ्ग्य वाचन भयो ।
लोकनाथ सरको रचना यस्तो थियो :
१. कुरा एउटा गर्छन् यहाँ काम अर्को गर्छन्
सिन्को केही नभाच्नेले ठूलै कुरा गर्छन्
हात्तीका झैं दाँत रैछन् चपाउने र खाने
अवसरवादी हुँदा रैछन् जता पनि जाने !
2. देशको लागि केही छैन् तिनलाई आफ्नै चिन्ता
जनता झुक्याई खाने दिन सकिए अब यिनका
सचेत बनौं तपाई हामी सबलाई सचेत बनाउँ
कालोलाई कालो नै हो सेतोलाई सेतो भनौं !
मैले मोवाइलमा आफ्नो रचना खोज्दै जाँदा मातातिर्थ औशीका दिन फेसवुकमा पोस्ट गरेको रचनामा गएर म रोकिएँ । त्यही वाचन गरेँ । आमाको स्मृतिमा त्यो कविता थियो ।आमा बुवा भगवान् हुन् । वहाँहरुको सेवा गर्नपाउनु अहो भाग्य हो । भावुक देखिए साथीहरु । अनि मैले तुरुन्त हँसाउने मुड बनाएँ । एउटा जोक सुनाएँ । मन्द मुस्कान छायो सबैको चेहरामा । फेरि प्रदिप सरले पनि आमा शिर्षकमा रचना गर्नुभएको सृजना पस्कनुभयो ।
अनि हाम्रो पिकनिकका सँयोजक लोकनाथ सरले अर्को धमाकेदार प्रस्तुति दिनुभयो । यसरी हामीले पिकनिकलाई अलिकति साहित्यमय बनाउने प्रयास पनि गरेउँ ।
अनि हाम्रो सृजनाको लहरीलाई विट मार्दै फेरि गीत संगीतमा कम्मर मर्काउने ,नाच्ने उफ्रनेमा रमाउन थाल्यौ । असिन पसिन होउञ्जेल नाच्यौ । गायौं । रमाइलो गफगाफ गरियो ।कोही कसैको केहि कुरा गरिएन । न नगरपालिकाको गरियो न न्यायिक समितिको । न जनप्रतिनिधिहरुको न कर्मचारीहरुको कुरा गरियो । गरियो त एकापसमा रमाउँदै,हाँस्दैनाच्दै मजा र मस्ती । साथीहरुको खुशी पनि शब्दमा वर्णन गर्न कठिन थियो ।
बर्षमा कम्तीमा एकपटक यस्तो जमघट तथा पिकनिक गर्नुपर्ने सल्लाह सहमति सहित ४ बजे स्न्याक्स खाजा शुरुभयो । खाजा पश्चात् हामी विदावारी भएर जाने तरखरमा लाग्दा पाउने पाँच बजिसक्यो । त्यो माहोलबाट टाढाा जान मन कसैलाई होइन् र थिएन पनि ।तर समय हाम्रो मुठ्ठीमा थिएन् । गन्तव्य तय गर्नु नै थियो । लोभको भकारी कोही थिएन् । मर्दा लानु कसैले केही थिएन् । त्यसैले त आज हामी मित्रतालाई अझ बेसी गाढा बनाउन यो पिकनिकमा आएका थियौं । स्थानीय साथीहरु प्रदिप सर,लोकनाथ सर र रामचन्द्र सरसंग विदाईका हात मिलाउँदै हामी गाडी चढेउँ । फेरी भेट्ने बाचा सहित ।
हामी बसमा यात्रा गर्नेहरु बसमै चढेर गाउँदै रमाउँदै गन्तव्य तर्फ फिर्ती सवार भयौ ।
१५०० रुपैया प्रतिव्यक्ती शुल्क तर हामीलाइ त्यो रकम १५० जस्तो मात्र लाग्यो भने त्यो मिठो जमघटले हामी सबैलाइ खुशी १५००० को भन्दा वढिको दिएको पाएको अनुभुती पायौ । प्रदिप सरले बिजय सर आजको बारेमा यसो लेख्नुस है भन्नुभयो । मैले भने तपाई हुँदाहुदै मैले लेख्ने दुस्साहस गर्दिन । मैले भने तपाई हुँदाहुदै मैले लेख्ने दुस्साहस गर्दिन । तपाइ लेख्नुस् राम्रै छ त लेखाई भन्नुभएपछि मात्रै मैले हुन्छ भनेँ । घरमा आइ लेख्न थाले केहि मेलो मेसो पाइन । ग्रुपमा फोटो र प्रतिक्रिया मात्र हेरिरहन मन लाग्ने । सबै खुशी सबै उत्साहित । मेसेञ्जर ग्रुप हेर्दाहेर्दै लोकनाथ सरले केहि तितामिठा पोख्नुभयो । हामी मेलमिलापकर्ताहरु उपर पालिकाको नजर राम्रो नभएको हो कि भन्ने हाम्रो बुझाइलाई बुझिदिने दायित्व त नगरपालिका कै हो । हाम्रो बुझाइ त यहि छ । कि बुझिन मैले बुझाइदेउ कसैले । हामी एक छौ एक रहन्छौ र बर्षैपिच्छे यस्तै खाले एक कार्यक्रम हाम्रै पहलमा गर्छौ रमाउँछौ । स्मृतिका पानामा अमिट रहनेछ। हामी मेलमिलापकर्ताहरुको रानीकोट पिकनिक ।









