
काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन् ।
उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्याउन श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिँदै सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।
परराष्ट्रमन्त्री खनालले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि श्रीलंका सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरेका थिए। उनले यो सहयोग दुई देशबीचको पुरानो मित्रता र पारस्परिक सहकार्यको प्रतिबिम्ब भएको बताएका थिए ।




