
सुमन सौरभ
जिज्ञासा
उ हातमा र रङ्ग ब्रुस लिएर आफूभन्दा ठूलो तर खालि क्यानभासमा अगाडि उभिएको थियो,मलाई देख्नेवित्तिकै हौसियो- “ल आइज,यो ब्रुस र रङ्ग समात्।”
मैले समातें ।
उसले भन्यो- “म यो क्यानभासमा टाँसिएर बस्छु र तेरो मस्तिष्कमा मेरो शब्दले चित्र कोर्दै जान्छु । मसहितको क्यानभासमा तँ त्यहीअनुरुप रङ्ग पोत्दैजा । रङ्ग सुक्दानसुक्दै एकै पटकमा सिध्याउनुपर्ने अला प्रिमा स्टाइलको तैलीय चित्र हो यो । ढिलो गर्नु हुँदैन्।”
मैले चुपचाप मानें।
उसले भएभरको लुगा खोलेर नाङ्गो भयो र पिठ्यूँ थाप्यो-“म हल्लिएँ भने चित्र सोचेको जस्तो हुँदैन् ।पहिले मेरो ढाडभरि लतरपतर ग्लु लगा । लगाइस् ?”
“लगाएँ।”
उ एक खुट्टाले भुइँमा टेकेर,दुबै हातले टाउकोमाथि नमस्ते गरेझैं हठयोगको मुद्रामा क्यानभासमा पिठ्रयुँतिरबाट लपक्क टाँसियो र निर्देशन दिंदैगयो ।म उसको निर्देशन बमोजिम उसहितको क्यानभासमा रङ्ग पोत्दैगएँ ।
“अब मेरो आधा शरीरभन्दा माथि साँझपखको आकास बना,बिचमा अस्ताउन लागेको सूर्य बना,छेउछेउमा हल्का बादल बना,बनाइस?”
“बनाएँ।”
“नाइटो मुन्तिरदेखि बगिरहेको पोखरी बना,पोखरीको वरिपरि साना ठूला रुखहरु बना, माटो र पानीमा पर्नेगरी रुखको हल्का छायाँ बना,पानीको छायाँ चलायमान लागोस्,मचाहिँ क्यामोल्पाजमा छु नि ?कि इम्बोसिङ् इफेक्टमा छु?”
“दुबैमा छस्।”
“हो अब आकासमा तीनवटा चरा उडेको बना,एउटा अगाडि,दुईवटा पछाडि । मेरो आँखाको प्रभाव आकासबाट कसैले हेरेजस्तो देखिन्छ नि ?”
“देखिन्छ।”
“परेली झिम्किँदा चित्रले एउटा चीसो अनुभूति दिन्छ नि?”
“दिन्छ।”
“ल अब यो चित्र मसँग हाफमोलमा किन् र लगेर आफ्नो सुत्नेखाटको खुट्टामुनि भित्तामा टाँस् ।”
झल्याँस्स निन्द्रा खुल्यो । सुत्ने खाटको खुट्टामूनि भित्तामा हुबहू त्यही चित्र थियो ।
जुरुक्क उठें ।
मलाई अब एकपटक चित्र कोट्याएर हेर्नुथियो ।









