
डा.श्यामसुन्दर राजवंशी
ज्योतिष शास्त्र ज्ञानको विशाल भण्डार हो भन्छन् भने यसमा वैज्ञानिक आधार पनि छ भन्दछन् । यसलाई सिद्धान्त,संहिता ,होरा गरी तीनभागमा विभाजन गरेको हुन्छ तापनि सामान्यतःसिद्धान्त र होरा गरी दुई भागमा मात्र लिने पनि गरिन्छ भन्छन् । तसर्थ यस अन्र्तगत अडकलवाजीलाई पनि विज्ञान भनेर कहीं पनि समेटिएको पाईंदैन । यदि अडकलवाजी गरेको कुरा पनि विज्ञान भनेर कसैले दावा गर्दै आउँछन् भने त्यो सरासर गलत नै हो भन्नु पर्दछ ।
ज्योतिष ज्ञानअनुसार ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुने कुरा आउँछ । यो होइन कसैले भनेको छैन । तर यसलाई बुझ्ने ढंगमा भने व्यक्ति पिच्छे फरक बुझाइ भइआएकोलाई भने अचम्म मान्नै पर्दछ । “पर्वसुधारका आधारहरु ”नामक पुस्तिकाको पृष्ठ १५ मा दिइएको कुरा यस्तो छ ।
…. अयनको सुरु र अन्त्यलाई नियालेर हेर्दा जुन बिन्दुबाट सुरुमा अयनारम्भ मानिएको थियो सो बिन्दुबाट सूर्यसंग पृथ्वीको घुमोटको कारणमा केही पर अर्थात् हालको हिसाबमा २४ पर सरिसकेको कुरा प्रमाणित भइसकेको छ ।
वास्तवमा यो कुरा अडकलवाजी मात्र हो । यदि प्रमाणित भइसकेको कुरा भए कसरी प्रमाणित भएको हो त्यो प्रमाणित भएको कुरा वाकाइदा वैज्ञानिक तवरले सिद्ध गरेको तथ्याङ्क तालिका नै सार्वजनिक भएर आएको हुनुपर्ने थियो त्यस्तो खालको पुष्टि अहिलेसम्म कसैले कतै अघि सारेको देखिएको पनि छैन ।
किनभने अयनारम्भ हुँदाको हिसावको आँकडा के हो ? हालको हिसावको आँकडा के हो ? र पुष्टि भएको हिसावको आँकडा के हो ? त्यस्तो हिसावको आँकडा केही नभइ २४ डिग्री परसरेको कुरा कहाँबाट आयो ? प्रमाणित भएको हिसावको फाँटवारी केही पनि अघिसार्न नसक्नु भनेको अडकलवाजी मात्र हो । यसमा न त वैज्ञानिकताको गन्ध छ न प्रामाणिकताको गन्ध नै छ ।
अडकलवाजीमा पनि आफुआफुमा बाझिएका नमुनाहरु
क) .अहिले भन्दा लगभग १५,१६ सय वर्ष अगाडि वराहमिहिरको समयमा सायन संक्रान्ति र निरयण संक्रान्ति एउटै भनेर पञ्चाङ्ग गणना गरिएको कुरा स्पष्ट छ र यो अकाट्य प्रमाणको रुपमा स्थापित छ । यही प्रमाणका आधारमा पनि चाडपर्व एक महिना वर तिर सार्नुपर्ने निश्चित छ । तर वराहमिहिरको पालाको जस्तो सायन र निरयण एउटै मानेर पञ्चाङ्ग गणना गर्न चाहिं अहिले मिल्दैन ।
(पर्वसुधारका आधारहरु,पृठ ५,६)
पं नयराज पन्तको लिच्छविसंवत्को निर्णयको पृ. १४६ । १४७ पल्टाएर हेर्ने हो भने वराहमिहिरको समय वि.सं ५६२ हो । यिनले सायन निरयण बारे पनि केही बोलेको छैन र अयनाँशको बारेमा पनि केही बोलेको छैन । अतः यिनको पालामा सायन निरयणको कुनै झमेला थिएन भनेर उल्लेख गरेका छन् ।
यसबाट पं नयराज पन्तको अडकल र पर्वसुधारको अडकल बीचको धारणा सोझै बाझिएको स्पष्ट देखिन्छ ।
ख).सायन संक्रान्ति
सूर्य माघेसंक्रान्तिदेखि साउनेसंक्रान्तिसम्म ६ महिना उत्तरतिरकोबाटो हिड्छन् अर्थात् उत्तरायण हुन्छ । साउने संक्रान्तिदेखि माघे संक्रान्तिसम्म ६ महिना दक्षिणकोे बाटो अंगाल्छन् अर्थात् दक्षिणायन हुन्छ । यस्तो सूर्यको बाटो मानिएको अयनलाई पूर्ण रुपले समर्थन गरेर मनाइने संक्रान्तिलाई सायन संक्रान्ति भनिन्छ ।
निरयण संक्रान्ति
अयनले पूर्ण रुपले समर्थन नगरेको चान्द्रमाससंग मात्र सम्बन्ध राख्ने संक्रान्तिलाई ज्योतिषीहरुद्वारा निरयण संक्रान्ति भन्ने गरेको बुझिन्छ ।
(पर्वसुधारका आधारहरु,पृष्ठ ५)
पं नयराज पन्तको लिच्छविसंवत्को निर्णयको पृ. १३७ पल्टाएर हेर्ने हो भने सायन र निरयण संक्रान्तिलाई यसरी परिभाषित गरेको छ ।
आकाशको घटनासंग प्रत्यक्ष मिलेको संक्रान्तिलाई सायन संक्रान्ति र ग्रन्थबाट गणना गरी ल्याइएका संक्रान्तिलाई निरयण संक्रान्ति भनी ज्योतिषीहरुले नाम राखेका छन् ।
यसबाट पं नयराज पन्तको अडकल र पर्वसुधारको अडकल बीचको धारणा ठ्याक्कै उल्टो रहेको प्रष्ट देखिन्छ ।
ग) अयनांश
पर्व सुधारका आधारहरु नामक पुस्तिकामा “अयनांश ”शव्द १८ ठाउँमा प्रयोग भइरहेको देखिन्छ तर यसको परिभाषा कतै पनि दिइएको छैन ।
हुनत अयनांशको परिभाषा लिच्छविसंवत्को निर्णयमा पनि दिइएको छैन । केवल अयनांशको चर्चा सर्व प्रथम वटेश्वरले वि.सं ९६१ मा गरेको भनेरसम्म उल्लेख छ । अयनांश भनेको के हुनुपर्दछ त भन्ने सन्दर्भमा सायन संक्रान्ति र निरयण संक्रान्तिको जो अन्तर छ, त्यसलाई अयनांशबाट भएको अन्तर भन्छन् भनेर मात्र दिइयो । यो त केवल अडकलवाजी मात्र भएको प्रष्ट देखियो । यदि १२ वटा सायन संक्रान्तिको डिग्री यो यो हो र १२ वटा निरयण संक्रान्तिको डिग्री यो यो हो यी दुइ वटाको भिन्नता निकालेर हेर्दा हरेकमा २४ डिग्री फरक परेको सिद्ध गरेर देखाउन सकेको हुनुप¥यो । लट्ठी गाडेर घामको छाया नापेर २४ डिग्री फरक परेको कुरा देखाउनु नितान्त हावादारी र अडकलवाजी सिवाय अरु केही होइन भन्ने प्रष्ट देखियो ।
पं नयराज पन्तको ६४० पृष्ठको लिच्छविसंवत्को निर्णयमा त अयनाँश के हो? यो निकाल्ने रीत के हो? र निकाल्दाको परिणाम यो आयो भनेर दिन सक्षम देखिएन भने जावो ५२ पृष्ठको पर्वसुधारका आधारहरु भन्ने पुस्तिकामा त्यो कुरा ल्याउन
खनसक्नु कुनै आश्चर्य मान्नु पर्ने होइन । जसले अयनांश भनेको के हो कसरी निस्कन्छ भन्ने कुराको छेउ टुप्पो थाहा छैन उसले १८ ठाउँमा त के हजार ठाउँमा अयनाँश उल्लेख गरे पनि त्यसबाट केही अर्थ लाग्दैन ।
घ) अधिकमास(मलमास)
कुनैपनि चान्द्रमासमा अर्थात् एउटा औंसी पछिको प्रतिपदाको सुरुको घडीदेखि एक महिना पछि आउने अर्को औंसीको अन्तिम घडीभित्र सूर्यको एक राशिबाट अर्को राशिमा संक्रमण अर्थात् निरयण संक्रान्ति भएन भने त्यसतो चान्द्रमासलाई मलमास भनिन्छ ।
(पर्वसुधारका आधारहरु,पृष्ठ ४)
मलमास नपर्ने वर्ष १२ महिनाको १ वर्ष हुन्छ भने मलमासमा परेको वर्ष १३ महिनाको १ वर्ष हुन्छ । तेह्रौंमास नै मलमास हो ।
(पर्वसुधारका आधारहरु,पृष्ठ ४)
धेरै टाढाको कुरा खोज्नु पर्ने होइन गतवर्ष २०८० सालको पञ्चाङ्ग मात्र पल्टाएर हेर्यौं भने पनि पुग्छ । त्यसमा २०८० श्रावण १ गते र २०८० भाद्र १ गतेको बीचमा सिंगो चान्द्रमास आएर बसेको छ । त्यो वर्ष श्रावणमा ३२ दिनको महिना परेको छ । श्रावण २ गते “अधिकमास अपूपदानारम्भ,मत्स्यनारायणमेला सुरु” भनेर दिइएको छ र श्रावणको ३१ गते “स्नानदानकोलागि औंसी,हलो बार्ने,अधिकमास अपूपदान समाप्ति” भनेर दिइएको छ । यो कुरा पात्रो पल्टाएर हेर्दा पनि थाहा हुने कुरा हो । त्यो सिंगो चान्द्रमासले न त श्रावण १ गते लाई छोएको छ न त भाद्र १ गतेलाई छोएको छ । यी श्रावण १ गते र भाद्र १ गते लाई सायनसंक्रान्ति भनुन् वा निरयणसंक्रान्ति भनुन् यथार्थ र अकाट्य कुरा भनेको त्यो चान्द्रमासले संक्रान्तिहरुलाई छुँदै छोएन । यसलाई तिथिको नजरले हेरियो भने श्रावण र भाद्र दुबैलाई श्रावण भनिएको देखिन्छ भने गतेको नजरले हेरियो भने श्रावण ३२ दिनको महिना र भाद्र ३१ को महिना देखिन्छ । त्यही भएकोले त्यो २०८० सालको वर्षको वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म ठ्याक्कै ३६५ दिन रहेको पनि प्रत्यक्ष देखिन्छ । यो कुरा पनि पात्रो पल्टाएर नै थाहापाउने कुरा हो ।
अधिकमास भएको वर्ष यो २०८० सालमा १३ महिना पनि छैन र ३९० दिनपनि छैन । अब पर्वसुधारले कुवा खोज्न दौडाए तिर दौड्ने कि आफ्नै अघिल्तिर रहेको ऐना हेर्ने हो विचार यसमा गर्नु परेको छ ।
ङ) वेदाङ्ग ज्योतिषको उपयोगिता सकिएको थाहा नहुनु
वेदाङ्ग ज्योतिषमा एक वर्षमा ३६६ दिन हुन्छन् भनी लेखिएको छ । वास्तवमा एक वर्षमा ३६५ दिन १५ घडी जति हुन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ१०६)
……..माघशुक्लप्रतिपद्देखि उठान भइ पाँचवर्षको अन्त्यमा पौषकृष्ण अमावाश्यामा समाप्त हुने पञ्चवर्षात्मक युगमा अढाइ अढाइ वर्षको फरक पारी आषाढ र पौषमा अधिमास पार्ने चलन वेदाङ्गज्योतिषअनुसार थियो भन्ने स्पष्ट छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ ३८)
यति गणितबाट ३८ सौरवर्षमा १३८७९ सावनदिन पर्छन् तथा ४७० चान्द्रमासमा पनि त्यति नै सावनदिन पर्छन् भन्ने स्पष्ट हुन्छ । यताबाट ३८ सौरवषर््ामा १४ वटा अधिमास मानि दियो भने सौरगणना र चान्द्रगणना ट्वाक्क मिल्न आउँछन् भन्ने देखिन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ ११३)
यही कुरा “पर्वसुधारका आधारहरु” नामक पुस्तिकामा पृष्ठ ५,९,४० मा तीन जना ज्योतिषविद्हरुले पनि सगौरव पूर्वक चर्चा गरिएको पाइन्छ ।
यी कुरा सबै वेदाङ्ग ज्योतिषमा चर्चा गरिएका कुरा हुन् । यो कुरा उहाँहरु मात्र होइन अरु धेरैलाई थाहा भइसकेका कुरा हुन् तर यो कुरा फेल खाइसकेको कुरा हो भनेर चाहिं कसैलाई पनि थाहा रहेनछ भन्ने कुरा यहाँ प्रत्यक्ष देखियो ।
वेदाङ्ग ज्योतिषमा एक वर्षमा ३६६ दिन हुने भने तापनि एक वर्षमा ३६५ दिन १५ घडी जति मात्र हुने भएकोले त्यसमा असहमति गरेबाट नै वेदाङ्ग ज्योतिष उपयोगी छैन भनेर स्वयं पं नयराज पन्तले आफ्नै पुस्तकमा उल्लेख गरिसकेकै कुरा हो । तैपनि वेदाङ्ग ज्योतिषको कुरा किन ज्योतिषविद्हरुले बारम्बार दोहर्याइ रहन्छ यो अचम्म हो ।
वेदाङ्ग ज्योतिषले अढाइअढाइ वर्षमा आषाढ र पौषमा गरी पाँच वर्षमा दुई वटा अधिमास पर्छ भनेर दिइएको कुरा स्वतः फेल खाइसकेको कुरा हो । त्यो पनि किन बारम्बार दोहर्याइ रहन्छ त्यो पनि अचम्म नै भन्नुपर्दछ ।
किनभने अंशुवर्माको पालाका भक्तपुर इनायचोको संवत् ३१ को अभिलेखमा पनि पौषमा अधिमास परेको र पाटन सुनधाराको संवत् ३४ को अभिलेखमा पनि पौषमा नै अधिमास परेको प्रत्यक्ष ऐना जत्तिकै छर्लङ्ग नै छ । यहाँ ४ वर्ष भित्रै दुई अधिमास परेको र त्यो पनि आषाढ र पौष नभइ दुबै पौष कै भए पछि वेदाङ्ग ज्योतिषले भने मुताविकको कुरा भएन । तब वेदाङ्ग ज्योतिष फेल भइसकेको शास्त्र भनेर प्रष्ट हुँदा हुँदै पनि फेरि बारम्बार यही नाम दिएर बहकाइ आउने किन ? त्यो अचम्म त छँदै छ ।मान्छेहरु बहकिने किन ?यो केवल अचम्म मात्र होइन घोर आपत्ति समेत हो भन्नु जरुरी छ ।
अर्को कुरो पाँच वर्षमा दुई वटा अधिमास पर्ने हकमा ३८ सौरवषर््ामा १५ वटा अधिमास पर्ने भएर एकवटा छोडेर १४ वटा मान्दा सौरगणना र चान्द्रगणना को दिन गणना बराबर हुनेदेखिएको हो । चारवर्षमै दुईवटा अधिमास परेपछि ३६ वर्षमा त १६ वटा अधिमास देखिने स्वतः भयो र ३८ वर्षमा १७ वटा अधिमास परे पछि एक वटा अधिमास छोड्दा पनि सौरगणना र चान्द्रगणना बराबर हुन्छ भनी सिद्ध गरेको खोइ ? के उहाँहरुलाई चारवर्ष मै दुईवटा अधिमास परेको थाहा छैन ?यदि थाहा छैन भने अहिलेसम्म कुन दुनियाँमा भुलेर बसेको हो स्वभावतः उहाँहरु तर्फ प्रश्न तेर्सिन्छ ।
च) बालगंगाधर तिलक बन्ने होडमा लाग्नेदेखि होसियार
वैदिककाल गणना र वेदाङ्गज्योतिषको बारेमाVaidik chronology and vedanga Jyotish नामक पुस्तक लेख्ने भारतीय प्रशिद्ध विद्वान बालगंगाधर तिलक थिए । उनलाई भारतमा लोकमान्य बालगंगाधर तिलक मान्दै आएको हो । उनले हिन्दु पञ्चाङ्गलाई वेदाङ्ग ज्योतिषअनुसारको बन्नुपर्दछ भनी जोड दिई २४ अंश सरेको कुरा उल्लेख गरी त्यसलाई मिलान गर्न धेरै प्रयास गरे ।
सोही अनुरुप सन् १९१४ मा बम्बइमा ,सन् १९१७ मा पुनामा र सन् १९१९ मा सौगलीमा ज्योतिषविदहरुको बृहत गोष्ठी अन्तरकृया समेत गरेका थिए तर समाधानको लागि कुनै उपाय निकाल्न सकेन । किन चाउरिस मरिच आफनै सूर्ताले भने झैं वेदाङ्ग ज्योतिषमा आफैमा दोष भएको विवादास्पद कुराहरु थियो ।
अहिले जत्तिपनि २४ दिन सरेको कुरा अकाट्य प्रमाण हो भन्दै आउनेहरु हुन् उनीहरुमा उही लोकमान्य बालगंगाधर तिलकको नाम भज्न मै होडबाजी चलीरहेको देखिएको छ । उनले लेखेको वेदाङ्ग ज्योतिष प्रयोजनहीन छ भन्ने कुरा चालपाउन सकेको छैन ।
शुरुमा पं नयराज पन्त पनि लिच्छविसंवत्को निर्णय गर्न वेदाङ्ग ज्योतिष नै अपनाउनु पर्दछ भन्दै आएका थिए । त्यो कुरा पूर्णिमा अंक ३४ पल्टाएर हेरे पनि थाहा हुन्छ भने पूर्णिमा अंक ३५ पल्टाएर हेरियो भने केतकरले बनाएको सौरार्य ब्राह्मपक्षीयतिथि गणित इतिहासको दृष्टिबाट ग्राहय हुन गाह्रो छ भनिएको पनि थाहा हुन्छ । लिच्छविसंवत्को निर्णयको पृष्ठ ९ देखि २७ सम्म पल्टाएर हेरियो भने उही केतकर कै सौरार्य ब्राह्मपक्षीय तिथि गणितलाई नै आधार बनाइएको पनि प्रत्यक्ष देख्न पाइन्छ । यो कुरा चाल नपाउनेहरु सबै पर्वसुधारले उठाएका कुरा जायज छ भन्दै एकसेएक बालगंगाधर तिलक बन्ने होडमा लाग्दै आएको छ । उनीहरुले के बिध्वंश गरि छोड्ने हो त्यो भने बुझ्न गाह्रो छ ।
छ) विक्रमसंवत् सुधार नगरेकोले २४ दिन सरेको भन्नु आफैमा गलत सिद्ध
बर्तमान अयनांशको फरक स्थितिलाई विगत २ हजार वर्षदेखि विक्रमसंवत्को पञ्चाङ्गमा सुधार नगरिएकोले नै अयन चलनसम्बन्धी प्रभाव २४ दिनसम्म जम्मा भइसकेको छ अर्थात माघ संक्रान्ति(उत्तरायण प्रारम्भबिन्दु) आजकल पौष ७ मा घट्ने गर्दछ ।…….अतः यदि विक्रमसंवत् पञ्चाङ्ग सुधार नगर्ने होभने यसको ऋतुगत औचित्य समाप्त हुन्छ र यसले स्वतः चाडपर्वहरुलाई असरपार्दछ,किनकि हाम्रा अधिकांश पर्वहरु ऋतुमा आधारित छन् ।
(पर्वसुधारका आधारहरु, पृष्ठ २०)
यो भनाइबाट विक्रमसंवत् मिल्दैन र अहिले मात्र नमिलेको होइन २ हजारवर्षदेखि नै नमिल्दै आएको भन्ने पनि आफै यदि विक्रमसंवतको पञ्चाङ्ग सुधार नगर्ने होभने यसको ऋतुगत औचित्य समाप्त हुन्छ र यसले स्वतः चाडपर्वहरुलाई असर पार्दछ भन्ने पनि आफै भएपछि त्यही विक्रमसंवत्लाई सुधार गर्नुपर्ने औचित्य त्यसै पनि समाप्त भइसकेकै हो । त्यसैले विक्रमसंवतलाई सुधार्ने होइन अविलम्ब छोडी दिए त भइहाल्छ । गधालाई जतिसुकै महंगो सावुनले नुहाए पनि गाई कहिल्यै बन्दैन भन्ने त थाहा हुनुपर्ने हो नि ।
ज)शिवरात्री माघमा पर्ने कि फागुनमा पर्ने
महाशिवरात्रि पर्व फागुनकृष्ण चतुर्दशीमा नै पर्दछ र भ्रम फैलाइए जस्तो माघमा पर्दैन ।
(पर्वसुधारका आधारहरु, पृष्ठ २५)
पर्वसुधारले उठाएका कुरा जायज छ भन्दै त्यसको पछि लाग्नेहरुले अरुले भन्दा एक महिना अघिनै रक्षाबन्धन बाँधेको, दशैं एक महिना अघि मनाएको, तिहार पनि एक महिना अगावै मनाएको देखीरहेकै हो । यसरी हरेक तिथिको पर्व एक महिना अगावै मनाए पछि महाशिवरात्रि पर्व पनि हामीले मनाउने दिनको ठीक एकमहिना अगाडि नै हुने त हो । जस्तै यसपालीको महाशिवरात्रि २०८१ फागुन१४ गते बुधबार परेको थियो । यो हामीले मनाउने शिवरात्री हो पर्वसुधारवालाहरुको एक महिना अगावै परे पछि माघको १४ तिर पर्ने स्वभाविक भयो । त्यसरी एकमहिना अगाडिको तिथिलाई उनीहरुले फागुनकृष्ण चतुर्दशी भन्यो भन्दैमा हाम्रो र उनीहरुको एउटै दिन त भएन । तैपनि एकमहिना अगाडिको तिथिलाई नै फागुनकृष्ण चतुर्दशी माने त भइहाल्यो भन्ने हो भने गधा पालेर गाई पालेको त कसैले भन्दैन । तैपनि गधालाई गाइको संज्ञा दिंदैमा गधा गाइ बन्ने पनि होइन । यहाँ हामीले बुझ्न जरुरी कुरा यही हो ।
निष्कर्ष
ज्योतिष विज्ञानको नाममा सबै अडकलै अडकलको जग माथि उभेर पर्वसुधारको आवाज बुलन्द पार्ने अनेकौं कोशिसहरु गर्दै आउने एक जमात आफनो दाउ हेरिरहेका छन् । वि.सं २०६६ सालको चैत्र महिना हटाई सोको ठाउँमा वि.सं २०६७ कै वैशाख गरेर लाने त्यो अभिष्ट सिद्ध हुन नपाएर ती जमात बिक्षीप्त अवस्थामा पुगेको छ । त्यही बिक्षीप्तपनको कारणले संस्कृति मन्त्रालयलाई आफनै निर्णय आफैले काट्ने मन्त्रालय भनेर गाली गर्ने गरेको छ भने उनीहरुको अभीष्ट सिद्ध हुन नदिने पञ्चाङ्ग निर्णायकसमितिलाई पनि भ्रम फैलाएको आरोप लगाएको छ । भारतमा वेदाङ्ग ज्योतिष अघि सार्ने आज भन्दा १०० वर्ष अगाडि बालगंगाधर तिलक त सफल भएनन् भने अहिलेका सूझबूझ नभएका ज्योतिष जमात भयो । विदेशी लेखकहरुले लेखेका पुस्तक पढ्ने तर नेपालमा रहेका प्रमाण तिरध्यान नदिनेहरु जति नै बालगंगाधर तिलकको अवतार धारण गर्न खोजेपनि त्यो अभिष्ट कहिल्यै सफल हुने वाला होइन ।









