
चर्चामा पुस्तक
कुइख्याङ
मगर खाम भाषाबाट शिर्षकृत कुइख्याङको नेपाली अर्थ हुन्छ कोसेली दिनु । यसमा रोल्पामाथि विभिन्न समयका एकाउन्न कविहरुका कविताहरु यस संग्रहभित्र अटेका छन् । कवितामा प्रगतिशील चेतनाको खोजी गरी त्यो चेतनालाई स्थापित गर्ने प्रयास यो संग्रह हो । रोल्पा जहिलेपनि चर्चामा रह्यो । पञ्चायती निरंकुशताकाल होस वा बहुदल जहिलेपनि परिवर्तनको पक्षधर रह्यो । पछि भएको जनयुद्धको त रोल्पा राजधानी जस्तै थियो । बलिदानीपूर्ण इतिहास छ रोल्पाको । यसैले यो गौरवशाली इतिहासलाई कविताको माध्यमबाट पनि प्रचार गर्ने कवितासंग्रहको उद्देश्य हुनुपर्छ ।
वर्गसंघर्षका कुरा,विभिन्न उत्पीडनका कथा रोल्पासँग जोडिएका छन् । यसमा कवि नजरको दृष्टि कसरी परेका छन् भन्ने वारेमा एकाउन्न जना कविहरुका कविताहरुले वर्णन गरेका छन् । दुईपुस्ताका कविहरुका कविताहरु यसमा कोसेलीको रुपमा आएका छन् । कविहरुले आ आफ्नै बिम्वात्मक शैलीमा लेखिएका कविताहरु पठनीय छन् ।
कुइख्याङलाई रोल्पा -कला साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५५५। रहेको छ ।
प्याउली
कविता,गीत र कथा सृजनामा लागेकी बालिका बान्तावाको उपन्यास प्याउली । व्यक्तिगत अनुभव र अनुभूतिलाई पर्गेलेर सृजनाकर्ममा तल्लिन छिन् । परदेशमा रहेर देश र भाषाको सेवामा लाग्नु उनको अनुकरणीय कार्य हो । यो पहिलो उपन्यास कृतिमा महिला पात्र मार्फत महिलाका पीडा,दुख र दर्दका कहानीहरु पस्किन सफल देखिन्छिन् बालिका । महिलालाई उनको सम्बन्धहरुमा मिलेका दुख र सास्ती अनि बेहोरिएका हैरानीको कहानी लाग्छ प्याउली । यसमा महिलाका विभिन्न सम्बन्धका आयामहरुलाई केलाइएको छ । यस्ता आयामहरुमा महिलाले खप्न बाध्य हुनुपरेका विछोडका पीडा,बेहोर्नुपरेका बुहार्तनका दुख,महिलाको कोमलतामाथि पुरुषले गरेका रजाई जस्ता महिलाका सुस्केराहरु उद्घाटित भएका छन् ।
तर महिला कमजोर मात्र हुन्नन् । महिला दुखी मात्र हुन्नन् । महिला कोमलताको पर्याय मात्र होइन् । महिला डरपोक र कायर मात्र हुँदैनन् । महिला आत्मनिर्भर,निडर,स्वाभिमानी पनि हुन्छन् भनेर महिला पात्रले गरेका जीवन संघर्षहरु उजागर गरिएको कृति हो यो ।
सरल भाषाशैली,सलल बग्ने वाक्य बनोटले सुस्वादु बनाएको छ उपन्यासलाई ।
दिनेश पौडेलको भाषा सम्पादनमा प्याउलीलाई कलरव,धरानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५००। रहेको छ ।
तल्लो पाटोमा तैरिँदा
हरि थापाको यात्रा वृतान्त हो यो । तर उनले यसलाई सयात्रा भनेका छन् । सयात्रा साहित्यमा स्थापित भने भैसकेको छैन् । तर उनको तर्क भने जायज देखिन्छ । पाठकलाई आफ्नो लेखनीसँगै यात्रा गरेजस्तो अनुभूति गर्नेगरी लेख्नु सयात्रा हो । यो लेखक थापाले प्रवद्र्धन गरेको कुरा हो ।
यस कृतिभित्र विभिन्न शिर्षकका सत्रवटा यात्राका वृतान्तहरु परेका छन् । अनुभव र अनुभूतिले भिजेर घुमेका स्थान र गरेका यात्रालाई जीवन्त ढंगले लेखकले वर्णन गरेका छन् । निजात्मकता,तथ्यात्मकता,स्थानीय स्थानहरुको प्रष्ट जानकारी यस कृतिले दिएको छ ।
वर्णनात्मक शैलीको निबन्धको एक प्रभेद जस्तो लाग्छ यो कृति । कलात्मक पनि छ । सरल भाषा छ । यात्राको कोरा वर्णन मात्र नभएर अनुभूति पनि छ । स्थानीयता पनि छ । कतै कतै सुन्दर बिम्वहरुको प्रयुक्तिले कृतिलाई मिठासपूर्ण बनाएको छ ।
तल्लो पाटोमा तैरिँदालाई स्वेदश प्रकाशनले प्रकाशित गरेको हो । यस कृतिको मूल्य रु.४००। रहेको छ ।








