
काठमाडौं । कविता केवल शब्दहरूको संयोजन मात्र होइन, भावना र चेतनाको स्पर्श पनि हो। यही भावनालाई आत्मसात् गर्दै वर्तमान कविता समूहले सुगम एकेडेमी, नयाँ बानेश्वरमा ‘प्रेमको आदिम गीत’ माथि विमर्श तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गर्यो।
कार्यक्रमका वक्ता डा. बालराम अधिकारी, रजनीमिला, र केशव सिग्देलले कविताको सौन्दर्य, अनुवादका चुनौती र प्रेम कविताको शिल्पबारे गहन विश्लेषण प्रस्तुत गरे।
विमर्शपछि कविता वाचन सत्र सुरु भयो। विभिन्न कालखण्डका अनुभवी तथा नयाँ पुस्ताका कविहरूले मञ्च सम्हाल्दै प्रेम, समाज, प्रकृति र अस्तित्वका विविध आयाम समेट्ने आफ्ना सशक्त कविताहरू वाचन गरे। प्रमोद स्नेही, भीष्म उप्रेती, बिमल भौकाजी, टङ्क उप्रेती, सुमन थापा ‘संगम’, सुमी लोहनी, शोभा शरभ, सुवास सिंह पराजुली, रूपसिंह भण्डारी, दिल कुमारी डंगोल लगायतका कविहरूले आफ्ना शब्दहरू मार्फत उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए।
कार्यक्रमको समापन गर्दै वर्तमान कविता समूहका सदस्य धीर कुमार श्रेष्ठले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले कविता केवल सौन्दर्यको साधन नभई शान्ति, समावेशिता र विविधतालाई उजागर गर्ने माध्यम भएको उल्लेख गरे। उपस्थित श्रोताहरूले कार्यक्रमलाई उत्साहपूर्वक ग्रहण गरे, जसले नेपाली कविताको विविधता र सशक्ततालाई अझ मजबुत बनाएको अनुभूति दिलायो।





