
मुक्तकहरु
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
१)
दु:ख पर्दा लिईएको सहयोग त्यो नभुल्नु
अपरिचित मानिससँग कहिल्यै नखुल्नु
अहमताले मैमत्त भै दायाँबायाँ कतै नहेरी
बिद्धवानसामु घमण्डले कहिल्यै नफुल्नु।
२)
भेटिएर छुटिंदा भक्कानो भो मुटु
छियाछिया भएर अचानो भो मुटु
भेटिनु र छुट्टिनु सँसारकै रित रैछ
आँसु झार्दै हिडेपछि सानो भो मुटु ।
३)
छिमेकीले सिमाना मिचेर मिचिदैंन्
देशको स्वाभिमान कहिले सिद्धिदैंन्
लड्नपर्छ माटोको लागि माया गर्नेले
दुईचार तारा झरेर आकाश रित्तिदैंन्।
४)
ठुला बडाहरुको ठुलै नै हुन्छ लगानी
धनी र गरिब बीच फरक छ कहानी
जीवन चक्र हो घुम्दैफिर्दै आउँने गर्छ
नदेखाउ भयो पोखाएर आफ्नो जवानी!
५)
कहिले यता फेर्नुपर्छ कहिले उता फेर्नुपर्छ
रहर हैन् हजुर छ ज्यादै बाध्यता फेर्नुपर्छ
सँधै तेरोमेरो भनेर चुनावमा झगडा नगरौं
साँच्चै देशमा परिवर्तन ल्याउन नेता फेर्नुपर्छ!








