
श्रावक विनयमा भोजनका सम्बन्धमा “न थुपकतो ओमछित्वा पिण्डपात भुज्जितव्यो ” भन्ने उपदेशबाट बुद्धकालीन स्तूपको केही सामान्य दिग्दर्शन प्राप्त हुन्छ भने पहिलो शताब्दीको ग्रन्थ मानिने दिव्यावदान कालसम्म पुग्दा चैत्य निर्माण गर्न वेदीहरू, वेदी चढ्ने खुड्किला, गर्भगृह (अण्ड), यष्टि, हर्मिका र बर्षाथालीको पनि आवश्यक हुन्छ भन्ने कुरा ज्ञात हुन्छ । त्यति बेला सम्म विभिन्न शैली र आकार प्रकारका चैत्य एवं स्तूप नहुनु नैसर्गिक नै मान्नुपर्छ ।
तर वज्रमहायान दर्शनको विकासका साथसाथै चैत्यले नयाँ मोड लिन थालेको अनुभूति हुन्छ । एघारौं शताव्दीको बौद्ध आचार्य कुलदत्तले आफ्नो ग्रन्थ क्रिया संग्रह पंजिका (पृष्ठ २५६) मा चार प्रकारका चैत्यहरू निर्माण गर्ने वर्णन दिएकाछन् । ती हुन- १) धान्याकृति २) पात्राकृति, ३) खगाण्डाकृति, ४) कलशाकृति
धान्याकृति चैत्यः बत्तीस महापुरुष लक्षण विशुद्धि अनुरूप बत्तीस मात्रिका प्रमाणको वेदीकाको विस्तार, वेदीको उँचाइ द्वादश प्रतीत्यसमुत्पाद विशुद्धि अनुरूप बान्ह मात्रिका प्रमाणको अग्लो हुनु पर्छ, वेदीका चाहि गोल, चारकुने बाऱ्हकुने वा बीश कोणको पनि बनाउनु हुन्छ । अनि त्यस वेदी माथिको जंघावेदीको उँचाई षड अनुस्मृति विशुद्धि अनुरूप छ मात्रिका प्रमाणको हुनुपर्छ र गोलाकार हुनुपर्छ । त्यस माथिको कुम्भ (गर्भगृह) धर्मकाय विशुद्धि अनुरूप भनी बुझ्नु आवश्यक छ । षडअभिज्ञाविशुद्धि अनुरूप कुंभ (गर्भगृह) को वर्तुलसूत्र (व्यास) ६ मात्रिका प्रमाणको हुनुपर्छ । त्यस गर्भगृहमाथि तीनयानको विशुद्धि अनुरूप तीन मात्रिका प्रमाणको हर्मिकाको उंचाइ र हर्मिकाको चौडाइ चतु: आर्यसत्य विशुद्धि अनुरूप ४ मात्रिकाको हुनुपर्छ । यो हर्मिका चारै दिशामा एक, एक वटा हुनु आवश्यक छ । केही ठूलो सानो भए पनि हुन्छ । एक मात्रिकाको दुई भाग बराबर हर्मिका र एक भाग बराबरको कण्ठिका र कण्ठिकावलय बनाउनु पर्छ । अरु फूल बुट्टाहरू यथा शोभा बनाउनु ।
हर्मिकाको नौ भागको एक भाग यष्टिको मूल बनाउनु । त्यो यष्टि चर्तुव्रम्ह विहार विशुद्धि अनुरूप चारपाटे नै हुनुपर्छ । बाइस चित्तोत्पाद विशुद्धिअनुरूप बाइस मात्रिका प्रमाण लामो यष्टि राख्नुपर्छ । हर्मिकाहरूको बीच बीचमा अद्वितीय तथता विशुद्धि अनुरूप एक मात्रिका प्रमाणको लोकपालहरू राख्नुपर्छ ।
आर्य अष्टाङ्गमार्ग विशुद्धि अनुरूप आठ मात्रिका प्रमाणको छत्रावली स्थिति भाग हुनुपर्छ । त्यो छत्रावली त्रयोदश भूमि विशुद्धि अनुरूप राखिन्छ र त्यसमाथि दुई मात्रिका प्रमाणका वर्षाथाली राखिन्छ, त्यसमाथि संवृत्ति र परमार्थसत्य विशुद्धि अनुसार आधा मात्रिका प्रमाण ग्रीवाको उचाइ हुन्छ । त्यसमाथि अनुत्तर महाकरुणा विशुद्धि अनुरूप उष्णीष राखिन्छ ।
पात्राकृति चैत्यः यस चैत्यमा दशवल र अष्टादश आवेणिक बुद्धधर्म विशुद्धि अनुरूप २८ मात्रिका प्रमाणको अधोवेदीको विस्तार हुन्छ । पंचबल विशुद्धि अनुरूप पंच मात्रिका बराबर जंघावेदीको उँचाई हुन्छ । सप्तबोध्यङ्गको हिसाबले सात मात्रिकाको कुम्भ (गर्भगृह) को उंचाइ हुन्छ । अरू पूर्ववत् गर्नू ।
खगाण्डाकृति चैत्यः यस चैत्यमा दशज्ञान, द्वादश वशिता, चतुर्वैशारद्य बिशुद्धि अनुरूप २६ मात्रिका प्रमाणको अधोवेदीको विस्तार हुनुपर्छ । चतु: आस्रव उद्घाटन विशुद्धि अनुरूप चार मात्रिका प्रमाणको जंघावेदीको उँचाइ अष्ट विमोक्ष विशुद्धि अनुरूप आठ मात्रिका प्रमाणको कुम्भ (गर्भगृह) को उंचाइ बनाउनु । अरू यहाँ पनि पूर्ववत् गर्नू ।
कलशाकृति चैत्यः यस चैत्यमा द्वादश पारमिता र द्वादश धारणी विशुद्वि अनुरूप २४ मात्रिका प्रमाणको अधोवेदीको विस्तार गर्नू त्रिविमोक्ष विशुद्धिले ३ मात्रिका प्रमाणको जंघावेदी र नवाङ्ग प्रविचय विशुद्धि अनुरूप ९ मात्रिका प्रमाणको कुम्भ (गर्भगृह) को उंचाइ गर्नु अरू पहिला जस्तै गर्नू ।
अब समस्त चारै प्रकारका चैत्यहरूमा रहेका विभिन्न वस्तुहरूको विशुद्धि बताइन्छ । सोऱ्ह कलाको विशुद्धि अनुरूप १६ मात्रिका प्रमाणको घेरामाथि चन्द्रमण्डल बनाउनु त्यसमाथि यष्टि ठड्याउनु पञ्चमहाभूतमाथि पृथिवीरूपी कुंभ (गर्भगृह) दानको प्रतीक हो । यसको नेमि (घेरा) दश शीलका प्रतीक हो ।
अधोवेदीकाको विस्तार भित्तिवेदिकाको आठ अंशका हिसाबले राख्नुपर्छ । चतुर्यवंशको विशुद्धि अनुरूप जननी (जनाई) सुहाएअनुसार राख्नुपर्छ । वेदीको चारै दिशामा चारमुख (द्वार) चतुआर्य सत्य विशुद्धि अनुरूप र चारतोरणहरू चार ध्यानको विशुद्धि अनुरूप तथा चार प्रतिमागृहहरू (खोपाहरू) धर्म, आमिप, भय, मैत्री दानका विशुद्धि अनुरूप र चतुष्कोणहरू चतुर्वैशारद्यको विशुद्धि अनुरूप, अधरावेदी चाहीं चतु ऋद्धिपाद विशुद्धि अनुरूप, द्विवेदी चारसम्यक प्रहाणका विशुद्धि अनुरूप, जंघावेदी श्रद्धादि पंच इन्द्रिय विशुदि अनुरूप र श्रद्धादीपंचवल विशुद्धिअनुरूप कंठकं, अनित्यादि धर्ममुख विशुद्ध अनुरूप मुखचतस्र र फूल बुट्टा राख्नू । अनासव प्रथम ध्यानज प्रश्रधि सम्वोध्यङ्ग विशुद्धि अनुरूप कण्ठक, द्वितीय तृतीय ध्यान भूमिज प्रीतिसम्बोध्यंग विशुद्धि अनुरूप कण्ठिकावलय, अनागम्य चतुर्थध्यानादि भूमिज उपेक्षा, उपेक्षा सम्बोध्यंग विशुद्धि अनुरूप हर्मिका । स्मृति, धर्मप्रविचय, वीर्यसमाधि, संबोध्यंग विशुद्ध अनुरूप चार लोकपाल, आस्फाणकधर्म विशुद्धि अनुरूप बर्षाथाली, चतुर्मारभग्न विशुद्धि अनुरूप ग्रीवा, शून्यता, करुणा विशुद्धिअनुरूप दर्पणमा चन्द्र र सूर्य राखिन्छ । गाथाद्वय सर्वविषय विशुद्धिले दुईवटा घण्टा, सर्वाकार ज्ञान विशुद्धिले छत्र; अलोभात्मिक चेतोविमुक्ति विशुद्धिले ध्वजा र वहां भगवान् नित्य आदि यशो विशुद्धिले पताका राखिन्छ । कोणावली, मध्यावली कोणमध्यावली गरी तीन प्रकारका छत्रहरू छन् । ती मध्ये आफ्नू इच्छाअनुसार गर्नू । कूर्मशिलामाथि पूर्वोक्त क्रमले रत्नादि राखेर त्यसमाथि सुवर्णादिको पाताले यष्टिका मूल (जरा)लाई मोडेर राख्नू । भुंकारेण शुक्लअष्टार चक्रं त्यसमाथि आकारज विश्वदल पद्म र त्यसमाथि ॐ कारेण चन्द्रमण्डल त्यसमाथि आकार ज परमार्थ धी: (बुद्धि) स्वभावको यष्टिकालाई विभावना गर्नू । ज्ञानसत्वलाई स्वहृद् वीज किरणले ल्याई त्यसमा अन्तर्भाव गरी, स्वहृद् वीजको किरणबाट ल्याइएका तथागतादिलाई कलश – जलले अभिषेचन गरी पूजा गर्नु; वैरोचन धारणी पढ्नू २५
आचार्य कुलदत्तले जस्तै आचार्य जगत दर्पणले पनि आफ्नो ग्रन्थ क्रियासमुच्चयमा चैत्य लक्षण र चैत्यका आकारप्रकारका विषयमा यसरी उल्लेख गरेको छ चैत्यं तु कुम्भ कलश धान्यराशी लताख्य भेदाद्यथासंख्यम्
-२५. आचार्य कुलदत्त- क्रिया संग्रह पंजिका पू. २५६, रिप्रोड्यूस बाइ शारदा रानी, न्यूदिल्ली
ठकाराकृति चुडिका सगाण्ड तिन सनि । अर्थात् कुम्भ चैत्य ‘ठ’ कार जस्तो गोल, कलश चैत्य चुडिका जस्तो, धान्यशारी चैत्य चराको अण्डा जस्तो अण्डाकार र ताब्य चैत्य तिन जस्तो आकारको हुन्छ ।
तर आचार्य कुलदत्तले जस्तो जगत दर्पण आचार्यले भिन्ना भिन्नै चैत्यको नाप भिन्ना भिन्नै दिनु भएको छैन । फेरि कलश र धान्यशारी चैत्य दुइटै ग्रन्थमा उल्लेख भए पनि क्रियासमुच्चयमा पात्राकृति चैत्यको उल्लेख गरेको छैन । स्वयंभूमहाचैत्य यही पात्राकृति आकारमा बनाइएको छ भन्ने बौद्ध विद्वानहरूको विश्वास रहिआए अनुरूप पात्राकृति चैत्य बनाउने प्रचलन पछिका चैत्य निर्माताहरूले अपनाएनन् कि भन्ने जिज्ञासा उठ्नु स्वभाविक छ । वृहत स्वयंभूपुराणमा पनि चैत्य लक्षणका सन्दर्भमा “पात्राकृति लक्षणेन युक्तेन मया कृतम्” २६ भन्ने उल्लेख गरेको पाइन्छ ।
समस्त बौद्धहरूको आस्था एवं श्रद्धाका तीर्थस्थल स्वयम्भू स्तूप नेपालको सर्वोत्कृष्ट सुन्दर एवं मनोल्हादक स्तूपहरू मध्ये एक हो । यो हाम्रो मौलिक कला एवं संस्कृतिको सुरम्य धरोहर हो । यस स्तूपको निर्माण कार्यमा विपश्वी, शिखीदेखि लिएर धेरै भविष्यज्ञाता, अन्तरयामी बुद्ध बोधिसत्वहरूको प्रत्यक्ष एवं अप्रत्यक्ष सहभागिता रहिआएको छ भन्ने जनधारणा छ । यो नेपाल खाल्डो परापूर्वकालमा एउटा विशाल कालीहूदको रूपमा अवस्थित थिए । सात चौडाइ सातकोस लम्बाइ भएको यो हृद तलाउमा शिखी तथागतले रोपेर, बीऊ हालेर गएको कमलको बियाँबाट सहस्र दल कमल फुलेर त्यसमाथि अद्भूत ज्योतिरूप तेजपूंज स्वयंम्भूको उत्पति भएका थिए । यही स्वयम्भू ज्योतिरूपलाई दिगो सुरक्षा दिने हेतुले बोधिसत्व मञ्जुश्री भगवान् मञ्जुदेव आचार्यको रूपलिई आफ्नो दुई श्रीमतीहरू मोक्षदा र वरदादेवीलाई पनि केशिनी र उपकेशिनी देवीको रूपमा महाचीनबाट साथै ल्याई महादेवीहरूलाई क्रमश: फूल्चोक र जामाचोमा बसाई आफू चन्द्रहास खड्ग लिई कालीहूदको पानी सुकाउन कोदुवाल, चोभार, गोकर्ण र आर्यघाट आदिमा गई पानी निकाल्न सजिलो हुने ठाउँमा खड्ग प्रहार गरी छेदन गरी पानी जाने बाटो बनाई यो भव्य नेपाल मण्डलको निर्माण गरे । तदनन्तर एउटा विशाल प्रस्तरले छोपी स्वयम्भू ज्योतिरूपलाई
२६. हरिदत्त शास्त्री – वृहत स्वयम्भू पुराण पृ. ४१६
दुष्टहरूको हातबाट बचाउन एउटा साधारण चैत्य बनाई धर्माकर भन्ने आफ्नो शिष्यलाई यस नेपाल खाल्डोको राजा बनाई आफूहरू आकाशमा उडेर झलल बलेर खरानी जस्तो भएर अन्तर्धान भए । हाल मंजुश्री भगवान्को चैत्य भएको ठाउमा केशिनी उपकेशिनी सहित भगवान् मंजुश्रीले उल्काजस्तै आकाशमा जलेर भष्म भई देखाएको स्थानको सम्झनामा मञ्जुश्री चैत्य निर्माण गरिएको हो । सो चैत्यलाई अद्यापि पट चैत्य भनि आदर भाव गरिन्छ ।
अनि त्यसपछि गौड नरेश श्री प्रचण्डदेव स्वयम्भू दर्शन गर्ने उद्देश्यले आफ्ना धर्मपत्नी सहित नेपालमण्डलमा आए । स्वयम्भू चैत्य दर्शन गरी अति हर्षित भई यहाँबाट नफर्कने दृढ निश्चय गरी क्रमशः शान्तिकर आचार्यको नामले प्रसिद्ध भई वज्राचार्याभिषेकलिई स्वयम्भूको निर्माणमा आफूलाई समर्पण गरे । वहाँले पनि मञ्जुदेवले जस्तै यो मन्दिरलाई मजबुत रूपमा निर्माण गरिएन भने दुष्टहरूबाट बचाउन सकिदैन भनी पात्र आकृतिको चैत्य निर्माण गर्न थालेका हुन् भन्ने कुरा स्वयम्भू पुराणमा उल्लेख छ ।
यसरी स्वयम्भू स्तूप खडा गर्दा सर्वप्रथम कुन विधि विधानपूर्वक निर्माण गरियो भन्ने कुरा निम्नलिखित वृहद् स्वयंम्भू पुराणको ४१८ पृष्ठमा उल्लेखित यी निम्न पंक्तिबाट स्पष्ट हुन्छ ।
सदब्रम्हादिभिदेवैश्च यष्टिकारोपणं कृतम् ।
चन्द्रसूर्यतारादिभिस्तदुपरि गलं कृतम् ॥
नेत्रयुग्मा (भि) दि सुवर्ण तिलकं संदधाति च ।
तस्योपरि हलिपट्टाश्चैव चतुर्महाराजै कृतं मुदा ॥
स्वस्वगणै परिवृत्य विश्वकम्मैइयं संस्कृतम् ।
प्रथमं चक्रं त्रयत्रिंशै देवै सगणैरपि ॥
जाम्बुनदादि सुवर्णै: विश्वकर्माभिः संस्कृतम् ।
द्वितीय चक्रंयामेशः यामगणैः परिवृतः ॥
तथैव संस्कृतं तत्र सर्वमन्तत(प) प्रशोभितम् ॥
तृतीयं चक्रं तुपितेश स्तुषितैश्च देवगणैः ॥
सम्प्रकुर्वन्ति चक्रं च महाप्रमाणकमपि ।
चतुर्थ निर्माणरति इशैश्चक्रम् सुसंस्कृतम्
सर्वे निर्माणरतिभि: सुशोभितञ्चकारितम् ।
पश्चिम परनिर्मित वशवर्तीभिं संस्कृतम् ॥
सर्वे वशवर्तीभिश्च सार्धं इत्थं कृतमिति ।
षष्ठम ब्रम्हपार्षदाः स्वभुवनगणैः सहैश्च ॥
चक्रञ्च विविधं नूनं तस्मिञ्चैत्य मुदामपिच ।
सप्तमं ब्रह्मकायिकै कायिकगणैश्च परिवृतः ॥
विचित्रं कृतं चक्रञ्च मुदा चैत्य गलमपि ।
अष्टौ ब्रह्मपुरोहितः देवैश्चापि संस्कृतम् ॥
विविध विचित्रेणापि अत्यर्थञ्चशोभितम् ।
एकादशप्रमाणेशो प्रमाण सगणैरपि ॥
नूतनं कृतम्चक्रञ्च सुशोभितसमन्ततः ।
द्वादशञ्चाभाश्वरेण स्वक्षेत्रगणै सह ॥
चक्रं सुवर्णरचितं भिशे(न) शोभितम् ।
त्रयोदश चक्रावली सुदर्शनेश्वरेण च ॥
उपर्युक्त यी तीनै ग्रन्थरत्न क्रिया संग्रह र क्रिया समुच्चयमा स्वयंभूपुराणअनुसार पनि वेदी, जंघावेदीपछि विम्व (गर्भगृह) को मोटाई हेरी विम्वको मध्यभागमा यष्टि (इन्द्र कील, यसी) ठड्याउनुका साथै छत्र अनुसारको वर्षाथालक पनि यष्टिको टुप्पामाथि राख्नु पर्ने देखिन्छ । अनि वर्षाथालक (आमलशारक) माथि सबभन्दा टुप्पोमा मणि वा पदमकर्णिका राख्नुपर्ने कुरा व्यक्त गरेको छ ।
त्यस्तै विष्णुधर्मोत्तर पुराणमा पनि स्तूप जस्तै निर्माण हुने डुक (अस्थि राखी बनाइएको स्तूप) को सन्दर्भमा पनि हाम्रो बौद्ध धर्मको स्तूप र चैत्यमा जस्तै तीन तह वेदी उठाइ चारै दिशामा खुड्किलाहरू राखी माथिल्लो वेदीमा लिङ्ग आकारको गर्भगृह भद्रपीठ बनाइन्छ र यसको मध्यभागमा चारपाटे इन्द्रयष्टिपनि ठड्याइएको हुन्छ । जुन इन्द्रयष्टिमा बौद्धपनि राखिएका हुन्छन् र यष्टिको टुप्पोमास्तूपमा जस्तैतह तह तेन्ह भुवनआमलशारक (वर्षाथालक) समेत गर्दाचौध भुवन बन्छ र सबभन्दा दुप्पामा चन्द्रसूर्य राखिन्छ भनेर बयान गरिएको छ । वैष्णव मार्गिका यो एकको वर्णन एघारौं शताब्दीको काश्मीरमा उपलब्ध भएको धातुको बौद्ध स्तूपसँग ठ्याम्मै मिलेको देखिन्छ (चित्र नं. ३५) ।
.पहिलो शताब्दीको बौद्ध ग्रन्थ मानिने दिव्यावदानमा२७ पनि एउटा महाजनले स्तूप बनाएको वर्णन पाइन्छ । सो स्तूपमा चारै दिशामा खुड्किला बनाउने वर्णन छ । त्यसपछि तह तह तीन वटा वेदी बनाई सबभन्दा माथिल्लो वेदीमा अण्डाकार गर्भगृह बनाउने वर्णन दिएको छ । त्यो गर्भगृहमाथि यष्टि पसाउन हुने तरिकाले हर्मिका पनि बनाइएको थियो । तदनन्तर बहुमूल्य पूजा रत्नहरूले भरिएको वर्षाथाली पनि उक्त यसको टुप्पो माथि राखी विधिवत गरेर यष्टि ठड्याएको वर्णन पनि दिएको छ ।
वस्तुत: दशौं, एघारौं शताब्दीतिर ब्राह्मण तथा बौद्ध दुबै निकायमा अस्थि धातु राखी स्तूप, एडुक, चैत्य बनाउने होड पूरा जोड तोडकासाथ अघि बढेको कुरा क्रियासंग्रहपंजिका, विष्णुधर्मोत्तरपुराण, क्रियासमुच्चय, स्वयम्भूपुराण जस्ता ग्रन्थहरूबाट प्रमाणित हुन आउँछ । चिनिया यात्री ह्वेनसांगको ६६० A.D. तिरको यात्रावर्णनले पनि यही तथ्य प्रमाणित हुन्छ ।
यसरी उपर्युक्त पाँचवटा ग्रन्थमा चैत्य, स्तूप निर्माण गर्ने प्रविधि यद्यपि हुवहु एकरूप र समान नै देखिन आउँछ तर पनि निम्नलिखित कुराहरूमा भने विवेचना गर्ने प्रशस्त आधार रहेको छ ।
यी उपर्युक्त पाँचै ग्रन्थ स्वयंभूपुराण, पहिलो शताब्दीको बौद्ध ग्रन्थ दिव्यावदान, एघारौं शताब्दीको क्रियासंग्रह, बाहौं शताब्दीको क्रिया समुच्चय र विष्णुधर्मोत्तर पुराणमा वर्णित स्तूप, चैत्य एवं एडुक लक्षण र निर्माण- विधिहरूलाई तुलनात्मक ढंगले केलाएर हेर्ने हो भने समस्त नेपाली बौद्धहरूको अति श्रद्धेय एवं वन्द्य ग्रन्थरत्न स्वयम्भू पुराणमा वेदी, गर्भगृह, गल (हर्मिका) नेत्रयुगल र सुदृष्टि तिलक राख्ने वर्णन पाइन्छ । त्यसपछि हलिपट (हलंपौ) र गर्भगृहको मध्य भागमा यष्टि (य:सी) ठड्याउने, यसिमा त्रयोदश भुवन रुपी छत्रहरू र छत्र अनुरूप बर्षाथालक (आमल सारक) राख्ने विधि वर्णन गरिएता
२७. दिव्यावदान- पृ. १५१
पनि यस्तो प्रश्न चिन्ह जस्तो देखिने कनिका () अर्थात् आग्लो खोल्नेत्यस्तै विष्णुधर्मोत्तर पुराण तथा क्रियासमुच्चयमा चाँहि हर्मिका, यष्टि, युगल र हलपी राख्ने वर्णन छैन । स्वयम्भू पुराणमा जस्तो त्रयोदश भुवनको (चकावली), वर्षाचालक, मणि, पद्मकर्णिका राख्ने वर्णन भए पनि नेत्र- निर्माण गरिदिने सद्ब्रह्मादि त्रायत्रिंश देवगणहरू त्रयोदश भुवनको कुन कुन तहमा सपरिवार निवास गर्छन् भन्ने कुराको पनि उल्लेख गरेको पाइँदैन ।
स्वयम्भू पुराणबाट उद्धृत माथि उल्लिखित श्लोकहरूका अनुसार स्वयम्भू स्तूपको निर्माण गर्न ब्रह्मादि देवताहरूले यष्टि (य : सी) ठड्याउने काम गरे, चन्द्र सूर्य ताराहरूले गल (चैत्यको घाँटी अर्थात हर्मिका) बनाइदिए, अनि त्यसमाथि नेत्र युगल र सुवर्ण तिलक पनि लगाइ दिए । तदनन्तर हर्मिकामाथि – चतुर्महाराजहरूले चारै दिशामा हलिपट्ट (हलंपौ) राखी सजाइ दिए । त्यसपछि आ-आफ्नो गणहरूसँग मिलेर विश्वकर्माले स्तूप ( गर्भगृह) बनाइदिए । अनि यसी माथि क्रमश: प्रथम चक्रावली (भुवन) त्रायत्रिंश देवगणहरूले सुन चाँदी जस्तो बहुमूल्य धातुद्वारा विश्वकर्मालाई बनाउन दिए । द्वितीय चक्रावली यामेश गणले, तृतीय चक्रावली तुषितेष देवगणले, चतुर्थचक्रावली निर्माणरति देवगणले, पंचम चक्रावली परनिर्मित वशवर्ती देवगणले, षष्ठ चक्रावली ब्रह्मपार्षद देवगणले, सप्तम चक्रावली ब्रम्हकायिक देवगणले, अष्ट चक्रावली ब्रम्हपुरोहित देवगणले, नवम चक्रावली महाब्रम्हाले, दशम चक्रावली परित्ताभ देवगणले, एघारौ चक्रावली अप्रमाणेश देवगणले, द्वादश चक्रावली आभाश्वर देवगणले र त्रयोदश चक्रावली (भुवन) चाहीं सुदर्शनेश्वरले सुनै सुनले निर्माण गरिदिए भन्ने वर्णन पाइन्छ ।
तर क्रियासमुच्चयले चक्रावली र भुवन भन्ने शब्दप्रयोग गरेको पाइँदैन । केवल छत्र शब्दको प्रयोग गरेको देखिन्छ । यी छत्रहरू वज्रधर र सम्यक् सम्बुद्धको धातु गर्भ चैत्यमा एक, तीन, पाँच वा त्रयोदश छत्र राख्ने उल्लेख गरेको छ भने प्रत्येक बुद्ध र श्रावकको धातुगर्भ चैत्यमा क्रमशः नौ र सात छत्र राख्ने विधि उल्लेख गरेको पाइन्छ । आचार्य जगतदर्पणले आफ्नो क्रिया समुच्चयमा भुवनको सट्टा केवल छत्र शब्द र हर्मिकाको सट्टा वर्मिका शब्दको प्रयोग गरेका छन् । यो विचारणीय मान्नुपर्छ ।
स्वयंभू पुराणमा वैरोचन तथागत बाहेक अरू चार तथागतहरू र चार आर्यताराहरू क्रमश: राख्ने वर्णन पाइए पनि क्रियासमुच्चयमा वैरोचन प्रधानगरी पंचबुद्ध स्थापना गर्ने उल्लेख गरेको छ तर ताराहरू स्थापना गर्ने कुराउल्लेख गरेको छैन ।
क्रियासंग्रहमा पंचबुद्ध राख्ने कुरा उल्लेख नगरे पनि प्रतिमागृह स्थापना गर्ने विधि र यी चारै प्रतिमागृहको विशुद्धि धर्म, आमिष, अभय, मैत्री यी चार दानका प्रतीक हुन् भनी वर्णन गरेको छ । प्रतिमागृह (खोपा) संबन्धि यी विशुद्धिले लिच्छवि कालीन र अशोक कालीन चैत्य भनिने खोपै खोपायुक्त चैत्यको विशुद्धि अर्थ्याउन सजिलो नहोला भन्न सकिन्न । देशी तथा धेरै पश्चिमेली विद्वानहरू जसले यी खोपाहरू के – का प्रतीक हुन् भनी अर्थ्याउन प्रयास गरे उनिहरूको लागि यो अर्थ महत्वपूर्ण हुनसक्छ ।
आचार्य कुलदत्तले आफ्नो क्रिया संग्रह पंजिकामा धर्मधातु चैत्य निर्माण गर्ने विधि वर्णन गर्दा त्रयोदश भुवनको उल्लेख गरेपनि क्रियासमुच्चयमा जस्तै नेत्रयुगल, यस्तो १ खव: क्वें (प्रश्न चिन्ह जस्तो वस्तु) र सुदृष्टि तिलक राख्ने कुरा वर्ण गरेको पाइँदैन । अतः स्वयम्भू पुराणमा वर्णित नेत्रयुगल र तिलकको प्रयोग स्वयम्भू पुराणकै देन हो कि भन्ने अनुमान गर्नु उपयुक्त देखिन्छ ।
तर आश्चर्यको कुरा एघारौं शताव्दीको शाक्यसिहको चैत्य मानिने काश्मिरमा भेटाइएको धातुबाट निर्मित दुइवटा गर्भगृहयुक्त शाक्य सिंहको चैत्यमा (चित्र नं. ३५) हर्मिका (गल) को सट्टा एकापतिको गर्भगृह (अण्ड, विम्व) मा एउटा सानो नेत्र कुँदेको पाइन्छ भने अर्को पटिको गर्भगृहमा मेघ (बादल) को आकृति कुंदेको देखिन्छ । यो नेत्र सम्बन्धी कुरा केका द्योतक हुन् कहिले देखि शुरु भयो अन्वेषणीय विषय बनेका छन् ।
हिन्दूहरूका ग्रन्थ विष्णुधर्मोत्तर पुराणमा भने वेदी, गर्भगृह (अण्डा), यष्टि, वर्षा थालकका कुरा उल्लेख भएपनि नेत्रयुगल, प्रश्नचिन्ह र सुदृष्टि तिलकको वर्णन पाइँदैन । त्यस्तै प्रथम शताब्दीको बौद्ध ग्रन्थ दिव्यावदानमा वेदी, गर्भगृह (अण्ड), हर्मिका, यूपयष्टि र वर्षा थालक राख्ने वर्णन भए पनि छत्र एवं त्रयोदश भुवनको वर्णन पाइँदैन । क्रियासंग्रहको धर्मधातु स्तूप बनाउने विधिमा जस्तै दिव्यावदानमा पनि पंचबुद्ध स्थापना गर्ने वर्णन पाइँदैन ।
तर दिव्यावदानमा जन्म, संबोधि, धर्मचक्र प्रवर्तन र परिनिर्वाणका प्रतीक स-सानो निमित्त चैत्यहरू प्रमुख स्तूपको चारै दिशामा राख्ने उल्लेख छ । यो प्रचलनलाई दिव्यावदानको विशेषताको रूपपण लिन सकिन्छ ।२८
२८. दिव्यावदान- पृ. ५१६



