
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार (साउन ९) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको टिप्पणी गरेका हुन् ।
श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको बताए । नेपालले भारतको भूमि मिचेको भनेर संसद्मा दिइएको अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले समर्थन गरेका र त्यसलाई पुष्टि गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।
नेपाली राजनीतिको इतिहासमा यसअघि कहिल्यै यस्तो प्रकृतिको राष्ट्रहितविपरीत र समाजलाई विभाजित गर्ने कार्य नभएको उनको भनाइ छ ।
उनले वर्तमान सरकार संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य र अर्थतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाए । संविधानको मूल मर्म र लोकतन्त्रको रक्षालाई केन्द्रमा राखेर मात्र संशोधन प्रक्रिया अघि बढाइनुपर्नेमा उनले जोड दिए । लोकतन्त्रको हत्या गर्ने गरी ल्याइने संशोधनका विरुद्धमा उभिनुपर्ने उनले बताए ।
शैक्षिक र प्राज्ञिक संस्थालाई दलीयकरणबाट मुक्त गर्ने बहानामा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै उनले विरोध जनाए ।
सरकारले एकातिर दलीयकरणमुक्त भन्ने तर अर्कोतर्फ आफ्ना पक्षका व्यक्तिहरूलाई महत्त्वपूर्ण संवैधानिक र न्यायिक निकायमा नियुक्ति दिने दोहोरो चरित्र देखाएको उनको आरोप छ ।
सुकुम्वासी समस्याका सन्दर्भमा उनले सरकारको कार्यशैली अमानवीय भएको बताए । डोजर र सुरक्षाकर्मीको प्रयोग गरी सुकुम्वासीलाई रातारात उठाइएको, होल्डिङ सेन्टरमा आधारभूत सुविधाबाट वञ्चित र उनीहरूलाई अपमानजनक व्यवहार गरिएको भन्दै उनले सरकारको आलोचना गरे ।
श्रमजीवी र उत्पीडित वर्गमाथि अन्याय हुँदा कम्युनिस्ट पार्टी र तिनका भ्रातृसंगठनहरूले सशक्त प्रतिरोध गर्न नसक्नुमा वैचारिक र सांस्कृतिक स्खलन मुख्य कारण रहेको उनले बताए ।
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि आइलागेको संकट टार्न कम्युनिस्टहरूले आफूलाई सुधार गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।



